ad ad

राजनीति


वामदेवलाई उपाध्यक्ष बनाउन नेकपा स्थायी समिति बस्दै

वामदेवलाई उपाध्यक्ष बनाउन नेकपा स्थायी समिति बस्दै

मणि दाहाल
कात्तिक १५, २०७६ शुक्रबार १५:२६,

वामदेव गौतमलाई वैधानिक रुपमा उपाध्यक्ष बनाउन नेपाल कम्युनिष्ट पार्टीको स्थायी समिति बैठक बस्ने भएको छ।

नेकपा सचिवालयका एक जना सदस्यका अनुसार आगामी साता स्थायी समितिको बैठक राखेर विधान संशोधन गरी गौतमलाई उपाध्यक्ष बनाउने अन्तिम तयारी भएको छ।

साउन ३१ गते बसेको सचिवालय बैठकले सर्वसम्मतीबाट गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको थियो। त्यसयता स्थायी समिति बैठकको प्रतिक्षा भइरहेको थियो।

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली निकट ती सदस्यका अनुसार अर्को शनिबारभित्र बस्ने स्थायी समिति बैठकले विधान संशोधन गरी सचिवालयको त्यो निर्णय अनुमोदन गर्नेछ।

‘पार्टीमा उपाध्यक्ष पद थप्ने लगायत स्थायी समितिको बैठकमा अरु एजेण्डा पनि आउने छन्, अर्को शनिबारभित्र बैठक बस्ने छ’, ती सदस्यले भने।

महासचिव विष्णु पौडेलले नेपालखबरसँग स्थायी समिति बस्ने तयारी रहेको पुष्टी गरे।

‘स्थायी समिति बैठक चाँडै बस्न आवश्यक छ तर, मिति भने निश्चित भैसकेको छैन’, महासचिव पौडेलले नेपालखबरसँग भने, ‘भोली (शनिबार) सचिवालय बैठक बस्दैछ।’

शनिबार बस्ने सचिवालय बैठकले उप निर्वाचनका लागि नेकपाका उम्मेदवारहरू तोक्ने निर्णय गर्नेछ भने स्थायी समिति बैठकको मिति पनि तोक्ने संभावना रहेको छ।

सचिवालयले उपाध्यक्ष बनाउने प्रस्ताव पारित गरेको करिब साढे दुई महिनासम्म पनि स्थायी समितिबाट वैधानिक व्यवस्था नगरिएको भन्दै पछिल्ला दिनहरूमा गौतमले असन्तुष्टी जनाउन थालेका थिए। यही क्रममा उनले पार्टीको सम्पूर्ण शक्तिले सहयोग नगर्ने भन्दै कास्की २ बाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार नबन्ने घोषणा पनि गरेका थिए।

प्रधानमन्त्री ओली उपचारका लागि दोस्रो पटक सिंगापुर जानुअघि गरिएको सचिवालयको निर्णय बीचमा दशैं–तिहार र चीनका राष्ट्रपति सी चिनफिङको भ्रमणका कारण पनि कार्यान्वयनमा आउन नसकेको मानिएको थियो। तर प्रधानमन्त्री ओली भदौ २० गते स्वदेश फर्केर केही सचिवालय बैठकको अध्यक्षता गरिसक्दा पनि उपाध्यक्ष पदको व्यवस्था गर्ने निर्णय कार्यान्वयन नहुँदा गौतम र उनका समर्थकबीच संशय बढेको थियो।

गौतमले अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, बरिष्ठ नेता माधवकुमार नेपाल लगायतसँग भेटेर असन्तुष्टी पोख्न सुरु गरेका थिए। प्रचण्ड, नेपाल र गौतमबीच भाइटिकाको दिन प्रचण्ड निवास खुमलटारमा भेटघाट भएको थियो। त्यसैगरी बुधबार पनि प्रचण्ड र गौतमबीच छुट्टै भेट भएको थियो।

गौतमलाई उपाध्यक्ष बनाउने बाटो खोल्न पार्टीको विधान संशोधन गरी सो पद सिर्जना गर्नु पर्ने हुन्छ। त्यस्तो प्रस्ताव स्थायी समितिको बैठकबाट पारित गर्नुपर्ने व्यवस्था छ। पार्टीको विधानमा तीन तीन महिनामा स्थायी समिति बैठक बस्नु पर्ने व्यवस्था भएपनि गत मंसिरयता अर्को बैठक बस्न सकेको छैन।

अहिले नौ सदस्यीय सचिवालय रहेको नेकपाका दुई अध्यक्ष र एक महासचिव पदको मात्र व्यवस्था गरिएको छ। उपाध्यक्ष थपिएपछि चार पदाधिकारी हुनेछन्।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .