ad ad

राजनीति


एमाले अधिवेशनले रुपन्देहीमा घनश्याम भुसाल झन् कमजोर

एमाले अधिवेशनले रुपन्देहीमा घनश्याम भुसाल झन् कमजोर

फाइल तस्बिर


सुदीप भण्डारी
कात्तिक ११, २०७८ बिहिबार १२:५१, रुपन्देही

प्रमुख प्रतिपक्षी नेकपा एमालेले रुपन्देहीका १५ पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको छ। 

केही विवाद भएपछि सिद्धार्थनगर नगरपालिकामा मात्रै मतदानबाट नयाँ नेतृत्वको छिनोफानो गरिएको ५।

सिद्धार्थनगरमा एमाले उपमहासचिव विष्णु पौडेल र घनश्याम भुसाल पक्षीय उमेदवारहरू प्यानल बनाएर चुनावी मैदानमा आएका थिए। 

मतदानमा कुल २ सय ३३ मत खसेको थियो। जसमा पौडेल पक्षका चक्रबहादुर थापा १ सय ६१ मतसहित विजयी भए। 

भुसाल पक्षका थानेश्वर पौडेल १ सय ४ मतको फराकिलो अन्तरले पराजित हुन पुगे। उनले केबल ५७ मत मात्रै ल्याए।

उपाध्यक्ष र सचिवमा पनि विष्णु पौडेल पक्षकै अर्जुनकुमार गिरि र नारायण प्रसाद भण्डारी विजयी भएका छन्। 

सिद्धार्थनगर रुपन्देही क्षेत्र नम्बर २ मा पर्दछ। यो एमाले उपमहासचिव भुसालको चुनावी क्षेत्र पनि हो। 

तर भुसालनिकट नेताहरु उनकै निर्वाचन क्षेत्रमा फराकिलो अन्तरले पराजित भएका छन्।

तिलोत्तमा नगरपालिका घनश्याम भुसालको गृहनगर हो। यो नगरपालिकाका केही क्षेत्र उनको निर्वाचन क्षेत्रमा पनि पर्दछ। 

यहाँ पनि भुसाल पक्षका उमेदवार एमालेको नेतृत्वमा अटाउन सकेनन्। 

यहाँ मंगलबार अधिवेशन सुरु भएको थियो। तर पौडेल र भुसाल दुवै पक्षीय उमेदवार पछि नहटेपछि सहमतिको प्रयासका लागि बुधबार दिनभर पहल भएको थियो। 

नगर अधिवेशनबाट पौडेल पक्षका तामनाथ पाण्डे अध्यक्षमा चयन भए। तानातानबीच भुसाल पक्षीय सुरेन्द्र श्री नेतृत्वमा आउन सकेनन्। 

उनलाई जिल्ला कमिटीमा समेट्ने गरि सहमति भएको एमाले रुपन्देहीका एक नेताले बताएका छन्। 

अध्यक्षमै दाबी गरिरहेका नेत्र बनलाई उपाध्यक्ष र मीनप्रसाद पोखरेललाई नगर सचिव बनाइएको छ। दुवै जना अध्यक्ष केपी ओली पक्षका हुन्। 

रुपन्देहीका अन्य पालिकामा सर्वसम्मत नेतृत्व चयन भएको छ। पालिकाको नेतृत्व तहमा उपमहासचिव पौडेल अर्थात ओली पक्षकै आएका छन्। 

भुसाल पक्षका थोरै मात्र कार्यसमितिमा समेटिएका छन्। गत पुस ५ गते तत्कालीन प्रधानमन्त्री केपी ओलीले प्रतिनिधिसभा विघटन गरेपछि सत्तारुढ नेकपामा आन्तरिक विवाद चुलिएको थियो।

सर्वोच्च अदालतको फैसलाबाट दुई-दुई पटक प्रतिनिधिसभा पुन:स्थापना भयो। 

२०७५ जेठ ३ मा बनेको सत्तारुढ नेकपा फागुन २३ मा खारेजीमा परेपछि एमाले र माओवादी केन्द्र ब्यूँतिए। 

नेकपा खारेजीमा परेर एमाले पुन:स्थापित भएको अवस्थामा भुसालले माधव नेपाललाई निरन्तर साथ दिएका थिए। 

तर रुपन्देहीका भुसाल पक्षीय धेरै नेता कार्यकर्ताले ओलीलाई नै साथ दिँदै आएका थिए। अहिले उनीहरुलाई पौडेलले संरक्षण दिएका छन्। 

नेपालले एमाले विभाजन गरेपछि भुसाल पक्षीय केही कार्यकर्ता एकीकृत समाजवादीमा गए। जसका कारण एमालेमै रहे पनि घनश्याम भुसालसँग रुपन्देहीमा थोरै मात्रै कार्यकर्ता बचेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .