लालबाबु राउत नेतृत्वको प्रदेश २ सरकारले भ्रष्टाचारमा डुबेको भन्दै डा. सिके राउत नेतृत्वको जनमत पार्टीले प्रदर्शन गरेको छ।
जनमत पार्टीका नेता कार्यकर्ताले सोमबार मुख्यमन्त्री कार्यालय अगाडि नाराबाजी गरेका हुन्।
प्रदर्शनका क्रममा उनीहरुले 'भ्रष्टाचारी पार्टी मधेश छोड्, भ्रष्टाचारी होशियार, भ्रष्टाचारीलाई कारबाही गर, भ्रष्ट सरकार राजीनामा दे, मधेशी जनता के भन्छ? भ्रष्टाचारीलाई जेल दे भन्छ, भ्रष्टाचारी मुख्यमन्त्री राजीनामा दे’ जस्ता नारा लगाएका थिए।
नाराबाजी गर्दै उनीहरू मुख्यमन्त्री कार्यालय भित्र प्रवेश गर्न खोजेपछि प्रहरीले रोकेका थिए। उनीहरुले आधा घण्टासम्म मुख्यमन्त्री कार्यालय अगाडि प्रदेश सरकार विरुद्ध प्रदर्शन गरेका थिए।
प्रदेश सरकारले गरेको अनियमितताकै कारण अख्तियारले छापा मारेको भन्दै जनमतका नेताहरुले भ्रष्टाचारीलाई कारवाही गर्नुपर्ने माग गरेका छन्।
उनीहरूले जनकपुरधाम उपमहानगरपालिका र खानेपानी कार्यालयमा समेत तालाबन्दी गरेका छन्।
बाटो बनाउने नाममा खाल्डो खनेर छोडिदिएका कारण नगरको विभिन्न ठाउँमा पैदल हिँड्न समस्या भएपनि उपमहानगरपालिकाले ध्यान नदिएको उनीहरुको भनाई छ।
जनमत कार्यकर्ताहरूले उपमहानगरपालिकाका मेयर लालकिशोर साह र प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्षमा ताला लगाएका हुन्। ताला लगाउने क्रममा उनीहरुले न्यायिक समितिको कार्यकक्षमा तोडफोड पनि गरेका छन्।
यस्तै, जथाभावी रोड खनेर त्यसै राखिदिएको भन्दै रमानन्द चोकस्थित नेपाल खानेपानी संस्थानको कार्यालयमा पनि उनीहरुले ताला लगाएका छन्।
यी पनि :
अख्तियार विरुद्ध जसपाको प्रदर्शन जारी
मुख्यमन्त्री कार्यालयमा छापा मारेको विरोधमा जसपाले आजदेखि आन्दोलन गर्दै
प्रदेश २ : मुख्यमन्त्रीको कार्यालयमा छापा मारेर फर्कियो अख्तियारको टोली
अख्तियारले मुख्यमन्त्री कार्यालयमा छापा मार्नु आपत्तिजनक : मुख्यमन्त्री राउत
Shares
प्रतिक्रिया