नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नै पार्टीका केन्द्रीय सदस्य रामचन्द्र झा माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) मा जान चाहेको संकेत गरेका छन्।
शनिबार जनकपुरमा नेकपा माओवादी केन्द्र प्रदेश कमिटीको प्रशिक्षण कार्यक्रमको सम्बोधन गर्दै प्रचण्डले केन्द्रीय झा नेकपा समाजवादीमा जान चाहेको संकेत गरेको प्रशिक्षणमा सहभागी एक नेताले जानकारी दिए।
प्रशिक्षणमा यस क्षेत्रका केन्द्रीय र प्रदेशस्तरीय नेताको सहभागिता हुँदा झा भने अनुपस्थित थिए। प्रचण्डले सम्बोधनलाई उद्धृत गर्दै एक नेताले भने, 'पार्टीमा उचित स्थान नपाएको नेता झाले गुनासो गर्दै हुनुहुन्छ। एकीकृत समाजवादीमा जाने उहाँको चाहना छ। मैले यहीँ बस्नुस्, भोलि एकीकृत समाजवादीसँग मिलेर एकै ठाउँमा रहन्छौं भनेको छु।'
यद्यपि सार्वजनिक कार्यक्रममा आफ्नै पार्टीका केन्द्रीय तथा प्रतिष्ठित नेताको विषयमा अध्यक्षले नै यस्तो चर्चा गर्नु दु:खद रहेको भन्दै केही सहभागिहरुले असन्तुष्टि जनाएका छन्।
यता केन्द्रीय सदस्य रामचन्द्र झाले अध्यक्ष प्रचण्डबाट आफू माओवादी छाडेर एकीकृत समाजवादीमा जाने चर्चामा कुनै सत्यता नरहेको स्पष्ट पारे।
एकजना कार्यकर्ताकै आमा बितेर अन्त्येष्टि कार्यक्रममा बालाबाखरमा सहभागी भएका कारण प्रशिक्षणमा सहभागी हुन नसकेको उनको भनाइ छ।
'मैले अहिले माओवादी छाडेर कुनै पार्टीमा जाने निर्णय लिएको छैन। प्रचण्डजीलाई हामीले रामचन्द्र झालाई उचित सम्मान दिन सकेनौँ भन्ने लागेको होला', नेता झाले नेपालखबरसँग भने, 'हुन त माधव नेपालजीसँग पनि मेरो सम्बन्ध राम्रै छ। भोलि एलाइन्स गरेर दुवै पार्टी अगाडी बढ्ने कुरा भइरहेको छ। हुन्छ अहिले भन्न सकिन्न।'
आठ वर्षअघि नेकपा एमालेका स्थायी समिति सदस्य रहेका बेला नेता झा दोश्रो संविधानसभा चुनावको मुखमा तत्कालीन एकीकृत नेकपा माओवादीमा प्रवेश गरेका थिए।
पछिल्लो समय डा. बाबुराम भट्टराई एकीकृत माओवादीबाट विभाजन भएर नयाँ शक्ति दल दर्ता गर्दा नेता झा त्यतातिरै लागेका थिए। तर उनी पुनः माओवादी केन्द्रमा फर्किएका थिए।
Shares
प्रतिक्रिया