लुम्बिनी प्रदेश सांसद विमलाकुमारी खत्री वलीले पूर्वमुख्यमन्त्री शंकर पोखरेल सहित ४ जना विरुद्ध दिएको जाहेरी बुटवलबाट दाङ पठाइएको छ।
आफूलाई अपहरण तथा बन्धक बनाएको भन्दै विमलाले शंकर पोखरेल सहित ४ जना विरुद्ध इलाका प्रहरी कार्यालय बुटवलमा अपहरण तथा शरीर बन्धक सम्बन्धी किटानी जाहेरी दिएकी थिइन्।
उक्त जाहेरी दाङ पठाइएको इलाका प्रहरी कार्यालय बुटवलका डिएसपी मदन कुँवरले जानकारी दिए।
‘हामीले यहाँबाट आज पठाइसक्यौ। हामीले पठाएका छौं। उता प्रक्रिया सुरु होला,’ उनले भने, 'घट्ना जहाँ भयो त्यही दर्ता हुने भन्ने कानूनी आधारका कारण हामीले पठाएका हौं।’
जिल्ला प्रहरी कार्यालय दाङले भने बुटवलबाट पठाएको जाहेरीबारे बताउन आनाकानी गरेको छ। दाङका प्रहरी प्रमुख एसपी सुरेन्द्रप्रसाद काफ्लेले उजुरी नआइपुगेको बताए।
‘उता दिएको त यहाँ आइपुगेको छैन। आएपछि मात्र थाह होला। नआइकन त मैले के भन्नु खै,’ उनले भने।
लुम्बिनी प्रदेश सभामा माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीमगरले ३ दिनअघि सांसद विमलाले इलाका प्रहरी कार्यालयमा गएर जाहेरी दिएको र उजुरी दर्ता भएको भर्पाई पनि लिएको बताए।
‘सुरुमा जिल्लाको एसपीसँग कुरा गरेका थियौं। एसपीले बुटवलको डिएसपीलाई बुझाउनुस् भनेकाले डिएसपीलाई बुझाएर भरपाई पनि लिएका हौं,’ उनले भने ‘डिएसपीले दाङमा पठाउँछौं भनेर भनेर हामीलाई भन्नुभएको थियो। दाङबाट हामीलाई कुनै जानकारी आएको छैन।’
घर्तीले आफूहरुले दिएको जाहेरीअनुसार कारवाही प्रक्रिया अघि बढ्नुपर्ने बताए। उनले जाहेरी बुझाइसकेपछि बुटवलको इलाका प्रहरी कार्यालयले जिम्मेवारी लिनुपर्ने उल्लेख गरे।
पोखरेल मुख्यमन्त्री रहँदा आफूलाई दाङबाट ल्याएर साउन १५ गतेदेखि ५ दिनसम्म बन्धक बनाएकोले अपहरण तथा शरीर बन्धकसम्बन्धी कानुनअनुसार कारबाहीको हुनुपर्ने जाहेरीमा उल्लेख छ।
जाहेरीमा उनले तत्कालीन मुख्यमन्त्री शंकर पोखरेल, एमाले प्रमुख सचेतक भूमिश्वर ढकाल, पोखरेलको सचिवालयका तिरण गौतम र एमाले दाङका नेता मानबहादुर रावतलाई हदैसम्मको कारबाहीको माग गरेकी छन्।
Shares
प्रतिक्रिया