नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) विभाजनपश्चात् प्रदेश २ को प्रदेश सभाको अंकगणित फेरिएको छ।
सत्तारूढ जसपा फुटेपछि पनि ३८ प्रदेश सांसदसहित ऊ ठूलै दलको हैसियतमा छ। यसअघि सभामुखबाहेक जसपाका ५४ प्रदेश सांसद थिए। विभाजित महन्थ ठाकुर पक्षले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) गठन गरेपछि जसपाका १६ सांसद यता आबद्ध भएका हुन्। योसँगै लोसपा प्रदेश सभामा तेस्रो दल बनेको छ।
यस्तै दोस्रो स्थानमा रहेको प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने पाँचौ दलमा झरेको छ। यसअघि २१ सांसदसहित दोस्रो ठूलो दल रहेको एमालेका १३ प्रदेश सांसदले विभाजित दल एकीकृत समाजवादी रोजेका हुन्। योसँगै ८ सांसद मात्र बाँकी रहेर एमाले पाँचौं दलको हैसियतमा झरेको हो। उता एकीकृत समाजवादी भने १३ सांसदसहित चौथो पार्टी बनेको छ।
सत्ता घटक माओवादी केन्द्रका पनि प्रदेश नम्बर २ को प्रदेश सभामा ८ सांसद मात्र छन्। यसैकारण एमाले र माओवादी केन्द्रको हैसियत बराबर बनेको छ।
यसअघि नेकपा माओवादी केन्द्रका ११ जना सांसद थिए। तर प्रतिनिधि सभा विघटन र नेकपा भंगपश्चात् एमालेको ओलि पक्षमा लागेको भन्दै माओवादी केन्द्रले आफ्ना ४ सांसदलाई कारबाही गरी सांसद पदबाट हटाएको हो। प्रत्यक्ष निर्वाचित सांसद रामचन्द्र मण्डल, कुन्दन कुशवाहा, ज्वाला साह र मोहम्मद समिर सांसद पदबाट बर्खास्त भएका हुन्। जसमध्ये समानुपातिक सांसद समिरको स्थानमा भने माओवादी केन्द्रले पशमीना कादरीलाई सांसद बनाइसकेको छ।
यस्तै प्रदेश सभामा यसअघि १९ सांसदसहित तेस्रो दलको हैसियतमा रहेको नेपाली कांग्रेस भने अहिले दोस्रो ठूलो दल बनेको छ। कांग्रेस सत्ता घटक दल हो।
एक समानुपातिक सांसद रहेको नेपाल संघीय समाजवादी सबभन्दा सानो छैठौं दलको हैसियतमा छ।
२०७४ को चुनावबाट यस प्रदेश सभामा १०७ सांसद बनेका थिए। त्यतिबेला तत्कालीन संघीय समाजवादी पार्टी ३० सांसदसहित पहिलो, राष्ट्रिय जनता पार्टी नेपाल ९राजपा० २५ सांसदसहित दोस्रो, २१ सांसदहित एमाले तेस्रो, १८ सांसदसहित कांग्रेस चौथो, ११ सांसदसहित माओवादी केन्द्र पाँचौ र एक सांसद रहेको नेपाल संघीय समाजवादी छैठौं पार्टीका रूमा थिए।
पछि एमाले र माओवादी केन्द्रबीच एकता गरी बनेको नेकपा पहिलो दल बनेको थियो। तर यसपछि फोरम र राजपा मिलेर बनेको जसपा पहिलो दल बनेको थियो भने माओवादी केन्द्र दोस्रो नम्बरमा झरेको थियो।
कांग्रेस तेस्रो र संघीय समाजवादी चौथो दलकै हैसियतमा थिए। माओावदी केन्द्रले तीन जना प्रत्यक्ष निर्वाचित सांसदको पद खारेज गराएपछि प्रदेश सभामा सांसदको संख्या १०४ मात्र भएको हो।
Shares
प्रतिक्रिया