धनुषामा जनता समाजवादी पार्टी (जसपा)का दुई पालिका उपप्रमुखसहित ८२ जना जनप्रतिनिधिले लोकतान्त्रिक समाजवादी पार्टी रोजेका छन्। जनकपुरधाम उपमहानगरपालिका उप्रमुख रिता झा र हंशपुर नगरपालिका उपप्रमुख रेनु झा लोसपामा सनाखत गरेका हुन्।
शुक्रबारसम्म जसपाका ८२ जना स्थानीय तहका जनप्रतिनिधिले सनाखत गरेको निर्वाचन कार्यालय जनकपुरकी प्रमुख पुष्पा झाले जानकारी दिइन्।
सनाखत गर्नेमा जनकपुरधाम उपमहानगरपालिकामा पूर्वराजपा नेपालबाट निर्वाचित भएका अधिकांश वडाध्यक्ष र अन्य पालिकाहरुका जसपाका वडाध्यक्ष तथा वडा सदस्यहरु रहेको जसपाका प्रदेश सांसद प्रमेश्वर साहले बताए।
उनका अनुसार हंशपुर नगरपालिकाका नगरप्रमुख रामज्ञान मण्डलसहितका जनप्रतिनिधि सनाखत गर्न बाँकी रहेका छन्। २२ गतेसम्म बाँकी सबैले सनाखत गरिसक्ने उनको भनाइ छ।
धनुषाका १८ स्थानीय तह मध्ये पूर्वसंघीय समाजवादी फोरमबाट धनुषाको गणेशमान चारनाथ नगरपालिकामा प्रमुख, लक्ष्मीनिया गाउँपालिकामा प्रमुख निर्वाचित भएका थिए। राजपा नेपालबाट जनकपुरधाम उपमहानगरपालिका र हंशपुर नगरपालिकामा प्रमुख तथा उपप्रमुख निर्वाचित भएका थिए।
पूर्वराजपाबाट निर्वाचित जनकपुरधाम उपमहानगरपालिका प्रमुख लालकिशोर साह भने जसपामै रहने निधो गरिसकेका छन्। जसपाबाट निर्वाचित सबै प्रमुख र उपप्रमुख भने जसपामै रहने बताएका छन्।
एमालेका २१ जनप्रतिनिधि समाजवादीमा
यस्तै, नेकपा एमालेका २१ जना जनप्रतिनिधिले शुक्रबारसम्म एकीकृत समाजवादी पार्टी रोजेका छन्। निर्वाचन प्रमुख झाले शुक्रबारसम्म २१ जना एमालेका जनप्रतिनिधि एकीकृत समाजवादीमा सनाखत गरेको जानकारी दिइन्।
सनाखत गर्नेमा ३ जना वडा अध्यक्षसहित २१ जना रहेको एकीकृत समाजवादीका प्रदेश सांसद सत्रुधन महतोले बताए। आइतबारसम्मा ८० भन्दा बढी एमालेबाट निर्वाचित जनप्रतिनिधिले एकीकृत समाजवादीमा सनाखत गर्ने उनको भनाइ छ।
धनुषामा मिथिला नगरपालिका, मिथिला बिहारी नगरपालिका, बटेश्वर गाउँपालिका र मुखियापट्टी मुसहरनिया गाउँपालिकामा एमालेका प्रमुख तथा उपप्रमुख छन्। जसमध्ये बटेश्वर गाउँपालिकाकी उपप्रमुख प्रमिला महतो मात्र एकीकृत समाजवादीमा सनाखत गर्ने सम्भावना छ।
निर्वाचन आयोगले एमालेबाट एकीकृत समाजावादीमा र जसपाबाट लोसपा रोज्न चाहने प्रदेश सांसदसहित स्थानीय तहका जनप्रतिनिधिलाई २२ गतेसम्म सनाखत गर्ने समयावधि तोकेको छ।
Shares
प्रतिक्रिया