नेकपा एमालेकी लुम्बिनी प्रदेशसभा सदस्य रमा घर्ती मगरले माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टी रोजेकी छन्।
पाल्पाकी समानुपातिकतर्फकी सांसद घर्तीले दाङस्थित प्रदेश कार्यालय पुगेर माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टीको पक्षमा सनाखत गरेकी हुन्।
प्रदेश निर्वाचन अधिकारी मीनराज भट्टराईको रोहवरमा घर्तीले नेकपा एकीकृत समाजवादीतर्फ हस्ताक्षर गरी सनाखत गरेकी हुन्।
लुम्बिनी प्रदेश सभाका एमालेका ३८ प्रदेशसभा सदस्यमध्ये घर्तीले मात्रै मंगलबार एकीकृत समाजवादीको पक्षमा सनाखत गरेकी हुन्। उनले अरु केही सांसद पनि नयाँ पार्टीमा आउने दाबी गरिन्।
घर्तीले एकीकृत समाजवादी रोजेसँगै प्रदेश सभामा दलको संख्या ६ पुगेको छ। एमाले विभाजन गरेर माधव नेपालले नयाँ पार्टी दर्ता गरेका थिए।
नयाँ पार्टीमा प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई भदौ २२ गतेसम्म दल रोज्न पाउने व्यवस्था निर्वाचन आयोगले मिलाएको छ।
Shares
प्रतिक्रिया