नेकपा एमालेका असन्तुष्ट नेता माधवकुमार नेपालले आफूनिकट केन्द्रीय सदस्य र सांसदहरुसँगको बैठक डाकेका छन्।
सिंहदरबारमा अहिले नेपाल पक्षीय नेताहरु बैठकमा जुटेका हुन्। साउन ३ मा प्रधानमन्त्री शेरबहादुर देउवालाई विश्वासको मत दिएको नेपाल पक्ष नयाँ पार्टी खोल्ने योजनामा छ।
नेपाल पक्षको नयाँ पार्टी खोल्ने योजनालाई सहजीकरण गर्न भन्दै देउवा सरकारले आजै दल विभाजनसम्बन्धी कानुनमा खुकुलो प्रावधान राखेर अध्यादेश ल्याउँदैछ।
अध्यादेशका लागि अहिले मन्त्रिपरिषद् बैठक पनि बसिरहेको छ। यस्तो अवस्थामा सम्भावित रणनीति तय गर्नका लागि नेपालले आफू पक्षीयहरुसँगको बैठक राखेका हुन्।
नेपाल पक्षमा नयाँ पार्टी खोल्ने र एमालेमै मिल्ने विषयमा विवाद मिलिसकेको छैन। नयाँ पार्टी खोल्न दल र केन्द्रीय कमिटी दुवैमा ४० प्रतिशत पुर्याउन नसकेपछि नेपाल पक्षलाई सहज बनाइदिन देउवाले अध्यादेश ल्याउँदैछन्।
उक्त अध्यादेशमा दल वा केन्द्रीय कमिटीमध्ये एकमा २५ प्रतिशत संख्या पुर्याउने मिल्ने प्रावधान राख्ने तयारी मन्त्रिपरिषद्ले गर्दैछ।
देउवा सरकारले पार्टी फुटाउने गरी अध्यादेश ल्याउन लागेपछि एमाले स्थायी कमिटी बैठक अहिले ललितपुरको च्यासलमा बसिरहेको छ।
एमालेले आजै दिउँसो ३ बजेका लागि संसदीय दलको बैठक पनि डाकेको छ। एमालेले सोमबारै राति विज्ञप्ति निकालेर सरकारले एमाले फुटाउने षड्यन्त्र गरेको जनाइसकेको छ।
Shares
प्रतिक्रिया