नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले गरेको पटक पटकको प्रतिगमनलाई परास्त गर्दै आफूहरु यहाँसम्म आइपुगेको बताएका छन्।
शनिबार बबरमहलमा भएको अखिल फोर्सको राष्ट्रिय भेलालाई सम्बोधन क्रममा कसैको पनि प्रतिगामी कदमविरुद्ध आफू डटेर लडिरहने पनि बताएका छन्।
समाजमा राम्रा र नराम्रा दुवै कुरा रहेको बताउँदै नेता नेपालले अखिल फोर्सले नराम्रो बाटो नसमात्ने पनि विश्वास लिए। 'समाजमा असाध्य राम्रा र नराम्रा दुवै उदाहरण छन्। समाजमा कुकर्मी पनि छन्', उनले भने, 'देशघाती काम गर्ने गरेका छन्। जनताको पीडा र बेदनामा नुन चुक हाल्न गरेका छन्।'
नेता नेपालले आफूहरुको लडाइँ कुनै व्यक्तिसँग नभइ गलत प्रवृत्तिसँग भएको पनि टिप्पणी गरे। 'हाम्रो लडाइँ कोही व्यक्तिविरुद्ध होइन। हामीले गलत प्रवृत्तिको विरोध गरौँ भनेका हौँ', उनले भने, 'हामीले कसैप्रति पूर्वाग्रह पालेर हिँडेका छैनौँ, पूर्वाग्रह पनि बोकेका छैनौँ।'
उनले पूर्व प्रधानमन्त्री एवम् एमाले अध्यक्ष केपी शर्मा ओलीतिर लक्षित गर्दै फेरि प्रधानमन्त्री बन्ने सपना नदेख्न पनि आग्रह गरे। 'हामीले प्रतिगमनलाई परास्त गरेका छौँ। तर फेरि फर्किएर प्रधानमन्त्री बन्न जालझेल नगरियोस्', उनले ओलीतिर लक्षित गर्दै भने, 'प्रतिगामी सोच बोकेर फेरि कोही कसैले टाउको नउठाओस्।'
Shares
प्रतिक्रिया