ad ad

राजनीति


निकट सांसदसँग नेपालको ब्रिफिङ : ओलीसँग मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो

निकट सांसदसँग नेपालको ब्रिफिङ : ओलीसँग मिल्नु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो

नेपालखबर
असार १९, २०७८ शनिबार १६:५९,

एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले प्रधानमन्त्री एवं पार्टीका अध्यक्ष केपी शर्मा ओलीसँग एकता सम्भव नहुने बताएका छन्।

ललितपुरको बालकुमारीमा शनिबार बिहान आफूनिकट सांसदहरूसँग छलफल गर्दै उनले ओलीसँग एकता गर्नु भनेको आफ्नै मृत्यु स्वीकार गर्नुसरह भएको बताएका हुन्। यसैकारण यही अवस्थामा ओलीसँग कुनै हालतमा एकता सम्भव नरहेको उनले बताए। 

नेता नेपालले पछिल्लो समय कार्यदलले गरेका सहमतिबाट समेत ओली पछि हटेकाले आफूलाई उनीसँग कुरा गर्नसमेत मन नलागेको बताए।

‘ओलीजीले हामीलाई झुक्याइरहनुभएको छ, तैपनि हाम्रा साथीहरू उहाँ सहमतिमा आउनुहुन्छ कि भनेर पछि लाग्नुभएको छ,’ नेता नेपालले सांसदहरूसँग भने, ‘हस्ताक्षर फिर्ता लिने नलिने भन्ने कुरा पार्टीको एकतासँग सम्बन्धित कुरा हैन, यही अवस्थामा ओलीसित मिल्न जानु भनेको आफ्नै मृत्युपत्रमा हस्ताक्षर गर्नु हो।’

स्थायी कमिटी सदस्यबाहेक काठमाडौंमा उपलब्ध सांसदहरूसँग नेता नेपालले बिहान ९ बजेदेखि मध्याह्न १२ बजेसम्म छलफल गरेका हुन्। 

छलफलमा सहभागी सांसदहरूले पनि ओलीलाई यही अवस्थामा स्वीकारेर पार्टी एकता गर्न नसकिने बताएका छन्।

 ‘हामीले बरु अर्को सानो पार्टी खोले कुनै नै कुनै बेला फलाउन फुलाउन सकिएला,’ छलफलमा सहभागी सांसद विरोध खतिवडाले नेपालखबरसँग भने, ‘बारम्बार जालझेल गर्ने ओलीलाई अहिले स्वीकार्न सकिन्न, एकता गर्ने हो भने उहाँ सच्चिन जरुरी छ।’ 

सांसदहरूको छलफलपछि नेता नेपाललाई स्थायी कमिटी सदस्य घनश्याम भुसाल भेट्न पुगेका थिए।

भुसालले नेता नेपाल र प्रधानमन्त्री ओलीबीच टेलिफोन कुराकानी गराएका थिए। फोनवार्तामा नेता नेपालले शनिबारका लागि बोलाइएको एमाले केन्द्रीय कमिटी बैठक रोक्न आग्रह गरेका थिए। 

उनले एकता चाहेकै हो भने आफूहरूले अघि सारेको ६ बुँदे प्रस्तावका आधारमा सहमतिको खाका बनाउन नेता नेपालले ओलीलाई आग्रह गरेका थिए ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .