ad ad

विचार


प्रत्यारोपणपछि प्रधानमन्त्रीको मिर्गौला २० वर्ष जानसक्छ

प्रत्यारोपणपछि प्रधानमन्त्रीको मिर्गौला २० वर्ष जानसक्छ

डा. ऋषिकुमार काफ्ले
फागुन १९, २०७६ सोमबार ११:४३,

प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार दोस्रो पटक मिर्गौला प्रत्यारोपण हुँदैछ। ६९ वर्षीय प्रधानमन्त्री सोमबार नै त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा भर्ना भइसक्नुभएको छ। उहाँले १३ वर्षअघि भारतमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गर्नुभएको थियो।

पछिल्लो समय मिर्गौलाले राम्ररी काम गर्न नसकेपछि उहाँले बारम्बार डायलासिस गराउँदै आउनुभएको थियो। उहाँको स्वास्थ्यका बारेमा आम जनमानसमा चासो र चिन्ता देखिन्छ। 

प्रत्यारोपण भनेको मिर्गौला झिकेर अर्को जोडिदिने हो। यसलाई मिर्गौला साटासाट भनेर बुझ्दा हुन्छ। त्यसपछि डायलासिस गरिरहनु पर्दैन। मिर्गौलाले पहिलेकै अवस्थामा काम गर्छ।

प्रत्यारोपणमा मिर्गौला दिने मान्छे पूर्णतयाः स्वस्थ र नेपालको ऐन कानुन अनुसार आफ्नै नजिकको नाता पर्ने हुनुपर्छ।

उमेरको हकमा २० वर्षदेखि माथि र ६० वर्ष मुनिको हुनुपर्छ। दाताको दुईवटै मिर्गौला पूर्ण स्वस्थ भएको, कुनै रोग नलागेको र एउटा मिर्गौला दान गर्दा उसलाई कुनै नोक्सान नपर्ने, दान गरिएको मिर्गौला बिरामीलाई काम लाग्ने, एसेप्टेड हुनुपर्छ। यो सबै मिलेपछि प्रधानमन्त्रीको प्रत्यारोपण हुन लागेको हो।

PMTeaching3
दोस्रो पटक मिर्गौला प्रत्यारोपणमा जानुअघि पीतासँग शुभकामना ग्रहण गर्दै प्रधानमन्त्री ओली

प्रधानमन्त्री अत्यन्त सक्रिय हुनुहुन्छ। उहाँ बिरामी देखिनुहुन्न। सक्रिय व्यक्तिको प्रत्यारोपण सफल हुने सम्भावना ज्यादा हुन्छ। दोस्रो, उहाँको शरीरमा परीक्षण गर्दा कुनै पनि समस्या देखिँदैन। उहाँका मुटु, पेटलगायत सबै मुख्य अंगको क्रमैसँग जाँच गरिसकिएको छ। जसमा कुनै समस्या भेटिएको छैन। त्यसैले अब समस्या आउने सम्भावना ज्यादै कम हुन्छ। प्रत्यारोपण गर्दा आउन सक्ने समस्या न्यूनीकरण भइसकेका छन्।

मात्र एउटै चासोको विषय हो, दोस्रो पटक प्रत्यारोपण गर्दा समस्या आउला कि? तर, यसमा पनि ठूलो चिन्ता लिनुपर्ने आवश्यकता छैन। किनभने अपेन्डिसाइटिसको अप्रेसनपछि उहाँ एकदमै चाँडो निको हुनुभयो। अपर्झट आइपरेको अवस्थामा त उहाँ त्यति छिटै निको हुनुभयो भने अहिले त योजना बनाएर, सबै वातावरण मिलाएर, ठीक छ भनेपछि प्रत्यारोपण गरिन लागिएको छ।

यहाँ आश्वस्त हुनुपर्ने केही पक्षहरु छन्। पहिलो, उहाँको शरीर स्वस्थ छ। दोस्रो, उहाँले लामो समयदेखि इम्युनोसप्रेसिभ औषधि खाइरहनु भएको छ। तेस्रो, नेपालमा मिर्गौला प्रत्यारोपणमा सबैभन्दा बढी अनुभव हासिल गरेको शिक्षण अस्पतालको चिकित्सकीय टोली, जसले १२ वर्षदेखि यही काम गर्दै आएको छ, त्यसको रेखदेखमा उहाँको उपचार भइरहेको छ।

तसर्थ, प्रधानमन्त्रीको प्रत्यारोपण सफल हुन्छ भन्ने विश्वास लिन सकिन्छ।

कतिपयले उहाँको उमेरलाई लिएर पनि चिन्ता व्यक्त गरेको देखिन्छ। तर, ७० वर्ष नेपालमा पो धेरै हो। विदेशमा ९० वर्षसम्म पनि मिर्गौला प्रत्यारोपण गरिएका अनेकौँ उदाहरण छन्।

उमेरले त्यस्ता बिरामीलाई फरक पार्ने हो, जसको शरीरका अंगहरु राम्ररी काम गर्दैनन्। मुटु कमजोर भए, सर्जरी धान्न नसक्ने, दिइएको औषधि धान्न नसक्ने अवस्था भए, प्रत्यारोपण नगर्ने कि भन्नेतिर सोच जान्छ। तर, प्रधानमन्त्री त सबै कुरामा चुस्तदुरुस्त हुनुहुन्छ।

प्रधानमन्त्रीको हकमा हामीलाई चिन्ता लागेको एउटा मात्रै पक्ष भनेको उहाँले कति समय आराम पाउनुहुन्छ भन्ने नै हो। उहाँका लागि कम्तीमा एक महिना छुट्टी चाहिन्छ। सामान्यतः प्रत्यारोपणको सात दिनमा उहाँ घर फर्किनुहुन्छ। त्यसपछिको तीन सातामा उहाँ तगडा बन्न सक्नुहुन्छ। एक महिनामा काममा फर्किन उहाँलाई गाह्रो छैन। त्यति गर्ने क्षमता उहाँमा देखिन्छ। तर, बीचको समयमा उहाँलाई आराम चाहिन्छ। भर्ना गरेदेखि उहाँले आराम मात्रै गर्ने हो।

PMTeaching2

प्रत्यारोपण र डायलासिस उस्तै होइनन्। डाइलासिस भनेको सफा गर्ने हो। त्यो गरिसकेपछि सक्ने बिरामी दौडिन थाल्दा हुन्छ। तर, प्रत्यारोपणमा आराम अत्यन्त आवश्यक छ। समय आएपछि मात्रै सक्रिय हुने हो।

प्रत्यारोपण गरिएको मिर्गौलाले ठ्याक्कै यति वर्ष काम गर्छ भनेर ठोकुवा गर्न सकिन्न। पहिलोपटक प्रत्यारोपण गरिएको मिर्गौलाले केही व्यक्तिमा ३० वर्षसम्म पनि काम गरिरहेको हुन्छ। दोस्रो पटक प्रत्यारोपण गरिएको मिर्गौला पनि २० वर्षसम्म जानसक्छ। सालाखाला १० वर्ष त जान्छ नै। हामी २०/३० वर्षको कुरा गरौंला, तर सबै मानिस सय वर्ष बाँच्न सक्छ भन्ने छैन।

प्रधानमन्त्रीको उमेर ७० पुग्न लाग्यो। अब उहाँले सक्रिय रुपमा काम गर्ने भनेको मुस्किलले १० वर्ष हो। अहिलेको लागि पाँच वर्ष पनि ठूलो कुरा हो। त्यति त मिर्गौला टिक्छ।

राम्रो प्रत्यारोपण भयो भने मलाई लाग्छ, प्रधानमन्त्री ६ महिनामा पहिलेकै अवस्थामा आउन सक्नुहुन्छ। कहिलेकाहीँ सानो गडबडीले पनि ठूलो समस्या सिर्जना गर्न सक्छ। तर, शिक्षण अस्पतालको टोली यस्ता सबै चुनौती सामना गर्न सक्षम छ। त्यसैले प्रधानमन्त्रीको दोस्रो प्रत्यारोपण सफलतापूर्वक सम्पन्न हुनेछ।

गरिएका सबै परीक्षण ठीक भएर नै प्रधानमन्त्री तयार हुनुभएको हो, चिकित्सक तयार भएका हुन्। प्रधानमन्त्रीको स्वास्थ्यमा जोखिम उठ्ने भए अस्पतालको चिकित्सकीय टोलीले त्यो आँट गर्दैनथ्यो।

भोलि के हुन्छ, सबै थाहा नहुन सक्छ। जोखिम छैन भन्ने होइन। अहिले प्रत्यारोपण गर्दा आउने जोखिमलाई सामना गर्न सकिन्छ भनेर नै चिकित्सक तयार भएका हुन्। प्रधानमन्त्री पनि आश्वस्त भएरै तयार हुनुभएको हो। भोलि गएर सातको सट्टा दश दिन लाग्ला तर, उपचार त हुन्छ।

अझ महत्वपूर्ण पक्ष, प्रधानमन्त्रीले स्वदेशमै उपचार गर्ने जुन निर्णय लिनुभयो, त्यो अत्यन्त राम्रो छ। यसले चिकित्सकहरुलाई पनि देशभित्रै काम गर्ने वातावरण तयार गर्न भूमिका खेल्छ भन्ने अपेक्षा छ।

(वरिष्ठ मिर्गौला रोग विशेषज्ञ प्राध्यापक डाक्टर काफ्लेसँग गरिएको कुराकानीमा आधारित)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .