ad ad

विचार


जब हामी नेतालाई ‘प्रभु’ बनाउँछौं...

जब हामी नेतालाई ‘प्रभु’ बनाउँछौं...

नेत्र आचार्य
फागुन १७, २०७६ शनिबार ९:२७,

‘मेरो कविता तिम्रो आँखामा पर्‍यो?
कतै च्वास्स छोयो?
के छुन्थ्यो,
कविता सारी भए पो हुन्थ्यो।’

संवेदनामा ठेला परेपछि मानिसलाई साहित्य, संगीत र कलाले छुँदैन, संवेदना शून्य भएपछि मानिसको सौन्दर्य चेतना गुम हुन्छ, संवेदना समाप्त भएपछि मानिस जडवत् हुन्छ, यन्त्रवत् हुन्छ। मुलुकका शासकहरू यन्त्रवत् भएका छन्, चिन्तकहरू यन्त्रवत् भएका छन्, लोकतन्त्र ल्याउने लोक यन्त्रवत् भएको छ। मूल शासक स्वयं भ्रष्ट छ तर त्योभन्दा ठूलो बिडम्बना, मानिसहरू उसैसामु फिराद गरिरहेका छन्।

कबीरले उलटबाँसी नामको कृतिमा विस्मय प्रकट गर्दै भनेका छन्– ‘बाली जोगाउन बार हालेको, आश्चर्य, त्यही बारले बाली खाइदियो!’

करिब छ सय वर्ष पहिलाको मानव समाज देखेर कबीर बोलेका थिए, त्यो बेला समाजमा जुन बेथिति थियो त्यही आज पनि छ। बेथिति झनै चर्किएको छ, विकल्प खोजिएको छैन। यो आलेखमा रक्षक नै भक्षक बन्न पुग्ने समाज व्यवस्था रूपान्तरण गर्न कस्ता विकल्प हुन सक्छन् चर्चा गरिएको छ। नेपाली समाजमा दास मानसिकता, पराई संस्कृति र विलासी प्रवृत्ति हावी भएको छ। अन्धभक्ति, अन्धवेग र अन्धानुकरण यी दुर्गुणले हाम्रो समाज प्यारालाइज्ड हुँदै गएको छ। यो स्थितिबाट माथि उठेर सौन्दर्य चेतना विकसित गर्न कसरी सम्भव छ भन्ने पहिल्याउने चेष्टा पनि यो आलेखमा हुनेछ।

जर्मन दार्शनिक फ्रेडरिक नित्सेले भनेका छन्, कोही शक्तिशाली किन हुन्छ भने अरूले उसलाई शक्तिशाली मानिदिन्छन्। कुनै शासक त्यति नै शक्तिशाली हुन्छ जति बाँकी सबैले उसलाई भाउ दिन्छन्। कुनै शासक त्यति नै भ्रष्ट हुन्छ जति परिमाणमा उसले शक्ति उपभोग गर्न पाउँछ। ‘शक्तिले भ्रष्ट बनाउँछ, पूर्ण शक्तिले पूर्ण भ्रष्ट बनाउँछ’ भन्ने अभिव्यक्ति आहान भइसकेको छ।

दलको नेता हुँदैमा वा सत्तामा पुग्दैमा कोही भगवान् भइहाल्दैन। ऊ पनि बाँकी मानिसजस्तै अहोरात्र आहार, निद्रा, भय र मैथुनमा अनुरक्त हुन्छ। उसका कमजोरी र सबलता यथावत् हुन्छन्। तर बिडम्बना के भने, कोही व्यक्ति दलको अगुवा भयो वा सत्ताको चाबी हात पार्‍यो भने मानिसहरू धूप र अगरबत्ती बालेर उसको वरिपरि प्रदक्षिणा गर्न थालिहाल्छन्, उसको घर–आवास नेरफेर फेरी लगाउन थालिहाल्छन्। फरक–फरक नामका सयौं रेडियो, टेलिभिजन र पत्रपत्रिकामा नेता वा शासकको महिमामण्डन र देवत्त्वकरण गरेको देखिनु मानिसहरूमा निहित घोर दास मानसिकताको द्योतक हो। कसैलाई यत्रो महिमा र महत्त्व दिनुको कुल अर्थ के हो भने व्यक्तिलाई आफ्नो इयत्ता, गरिमा र मूल्यबोध छैन। आफूलाई कीरो–भुसुनो सम्झन्छ र शासकलाई मालिक–प्रभु स्वीकार गर्छ। मानौं, ख्वमित् शासककै दया, कृपा र अनुकम्पा बाहेक जीविका जुटाउने, जीवन गुजर–बसर गर्ने कुनै गुञ्‍जायस छैन, कुनै विकल्प बाँकी छैन।

विकल्पहरू मनग्गे देखिने थिए यदि मानिस टक्क अडिएर सोच्ने फुर्सद पाउँथ्यो भने। मानिसहरू हर्दम केही न केही कुराको पछि दौड लगाइरहेका हुँदा स्थिर भएर सोच्ने फुर्सद कसैलाई उपलब्ध हुँदैन। अरूले ओगटेको स्थान, वस्तु र समय हत्याउन हरेक मानिस दौड लगाइरहेको छ। यो अन्धवेग नथामिएसम्म मानिसले जीवनको निपट सौन्दर्य मिस गरिरहने छ, गुमाइरहने छ। मनोचिकित्सा विधामा एउटा विहेवियर डिसअर्डरको चर्चा भइरहन्छ – स्लिपवाकिङ। यो गाढा निद्रामा निदाएको बेलामा जुरुक्क उठेर निद्रामै हिंड्ने बिमारी हो। मनोविज्ञानले भन्छ यो कसैकसैलाई हुने व्यवहार विकार हो।

तर यही कुरालाई अध्यात्मले हेर्ने दृष्टि बिल्कुलै भिन्न छ। अध्यात्मले के भन्छ भने हामी अधिकांशले जुन अवस्थालाई जाग्रत अवस्था भन्छौं त्यो पनि निद्रा नै हो। किनभने होश हामीलाई जाग्रत अवस्थामा पनि हुँदैन। होश हुन्थ्यो भने हामी रोग लाग्ने गरी खाँदैनथ्यौं, कुलत या खराब आदत छाडिदिन्थ्यौं, पैसालाई भन्दा सम्बन्धलाई महत्त्व दिन्थ्यौं, ठूलाको चाकरी र सानालाई हेप्ने गर्दैनथ्यौं, म भन्न छोडेर हामी भन्न थाल्थ्यौं, प्रदूषणमा भन्दा स्वच्छ ठाउँमा बस्न रुचाउँथ्यौं, वातावरणलाई जोगाउँथ्यौं, सबैको सहअस्तित्त्वमा विश्वास गर्थ्यौं।

हाम्रो मनमा राग, द्वेष, लोभ, मोह, मद र मात्सर्य कुन परिमाणमा होला? हामीले आफ्नो मनमा प्रेम, स्नेह, ममता, बन्धुत्त्व, करूणा र कल्याणको भावना विकसित गर्न कहिल्यै चेष्टा गर्‍यौं त? अज्ञानी, तामसीहरूले केही बुझेनन् र अन्धवेग अनुसरण गरे, तर बुझक्कडहरूको चालामाला पनि उस्तै उदेक लाग्दो छ। कवि भर्तृहरिले भनेका थिए ः

बोद्धारो मत्सरग्रस्ताः प्रभवः स्मयदूषिताः
अबोधोपहताश्चान्ये जीर्णमङ्गे सुभाषितम्।।

अर्थात्, समाजले ठूलो आशा गर्ने विद्वान्‌हरू स्वयं ईर्ष्या र द्वेष ग्रस्त छन्, शासकहरू अभिमान र घमण्डले भरिएका छन्, अज्ञानीहरू त अज्ञानी भइहाले, सभ्यताले जेजति विद्याको भण्डार गरेको थियो त्यो समेत क्षय हुँदै जाँदो छ। यो सबै किन भइरहेको छ भने हामी सबै स्लिपवाकिङ गरिरहेका छौं। हामीलाई जागरण चाहिएको छ, होश चाहिएको छ, हामीले आँखा खोल्नु परेको छ, हाम्रो वरिपरिका व्यक्ति, वस्तु र विचारलाई जस्ताको तस्तै देख्‍ने कला विकसित गर्नु परेको छ।

पश्चिमा जगत्‌मा ‘टाइम इज मनी, स्पीड इज प्रोग्रेस’ अर्थात् ‘समय नै पैसा हो, गति नै प्रगति हो’ भन्ने संस्कृति विकसित भएको पाइन्छ। यो तिनीहरूको जीवनशैली हो र यसैमा तिनीहरू खुशी हुन सक्छन्। पश्चिमाहरूले समय व्यवस्थापन गर्न सिके, प्रविधिको विकास गरे र अथाह सम्पन्नता उपभोग गरिरहेका छन्। तर पूर्वीय जगत्‌मा ‘टाइमलेसनेस’ अर्थात् समयशून्यताको अनुभूतिलाई आदर्श जीवनको स्रोत मानिन्थ्यो। हामीले आफ्नो संस्कृति बिर्सेर अरूको संस्कृति अन्धानुकरण गरिरहेका छौं। यस्तो अन्धानुकरणले हामीलाई घरका न घाटका बनाएको छ।

Kailash22
कैलाश पर्वत

प्रकृति जस्तो छ संस्कृति पनि उस्तै हुँदा जीवनमा सौहार्दता र सामञ्जस्यता हुन्छ। हामी बाहिरी चमकधमकमा भन्दा आन्तरिक वैभवमा रमाउने जाति हौं। हाम्रो चित्त प्रभास्वर छ अर्थात् स्वयंप्रकाशवान् छ। हामी चिदानन्द अर्थात् सचेत हुँदा, शुद्ध चैतन्यको अनुभूति गर्दा आनन्दविभोर हुन सक्छौं। हामीले खुशी या आनन्द खोज्न कहीं जानुपर्दैन, आफू को हौं बुझे पुग्छ। न्यानोपन हामी भित्रै छ, योगाभ्यासद्वारा हमीले शरीरमा भएको ताप सक्रिय बनाउँछौं। योगका प्रवर्तक शिव हिउँ जमिरहने कैलाश पर्वतमा बस्थे र योगाभ्यासबाट शरीरको तापमान कायम राख्थे।

जुन दिन हामीलाई आफ्नो संस्कृति र सम्पदाको मूल्यबोध हुनेछ, जुन दिन हामी आफ्नै मौलिकतामा रमाउन थाल्छौं त्यही दिन हामीले अन्धानुकरणको व्यर्थता बोध गर्नेछौं, त्यही दिन हामीले अन्धभक्ति परित्याग गरिदिनेछौं।

मिडियाले नेताको भाषण नै मुख्य खबर हो भन्ने धङधङी छोडेर विकास, आविष्कार, उद्यमशीलता, सृजनात्मकता, प्रकृतिप्रेम र सौन्दर्यप्रेमलाई प्रमुखता दिन थाल्दा विस्तारै आम मानिसहरूको सोच्ने शैली परिवर्तन हुनेछ। चियापसल र जमघटहरूमा धर्म, कला र विज्ञानको चर्चा हुने हो भने नेताको घर–आवासको फेरी लगाउने उपक्रम न्यून हुनेछ। भौतिक सम्पन्नताका लागि प्रविधिलाई उपयोग गर्दा आफ्ना मूल्य र मान्यतालाई, मौलिकतालाई निखार दिने गरी गर्न सकिन्छ। राजनीतिक खबर र मनोरञ्जनको विषयमात्र बनिरहेको मिडियालाई ज्ञानगुन सिक्ने माध्यमको रूपमा उपयोग गर्न सकिन्छ।

यो वा त्यो व्यक्ति र वादप्रति अन्धभक्ति जताइरहनु आवश्यक हुँदैन यदि व्यक्तिलाई आफ्नो क्षमता र कर्ममा विश्वास हुन्छ भने। आफ्ना अनन्त सम्भावनाप्रति सचेत व्यक्ति स्वतः स्वाभिमानी हुन्छ। आफ्नो अस्तित्त्व, आफू हुनुको बोध हुनासाथ भोगविलास र ऐशआरामका निम्ति चलिरहेको अन्धवेग रोकिन्छ। किनभने आत्मबोध हुँदा व्यक्ति होशमा आउँछ र त्यतिबेला पहिलो पटक जीवन र जगत्‌को दिव्यता देखिन्छ। आफ्नोपनको र मौलिकताको महत्त्व बोध हुँदाको क्षणमा अन्धानुकरण समाप्त हुन्छ।

अन्धभक्ति, अन्धवेग र अन्धानुकरणबाट मुक्त मानिस संवेदनशील हुन थाल्छ। तव मानिसले साहित्य, संगीत र कलामा जीवनको अर्थ फेला पार्न थाल्छ। शान्ति, प्रेम र करुणा जीवनलाई पलपल ऊर्जा दिने स्रोत हुन् भन्ने हेक्का हुन थाल्छ। जगत् अर्थोक केही नभएर आफ्नै वृहत्तर स्वरूप हो भन्ने महसुस हुन थाल्छ। त्यसबेला धूलोका कण र घाँसका पातमा समेत जीवनको नृत्य देखिन्छ। यसप्रकार मानिसको चेतना वृहत्तर अस्तित्त्वसँग जोडिन्छ।

यो बोधसँगै हाम्रा आँखा खुल्छन्, हामीले कवितामा सौन्दर्य देख्‍न थाल्छौं। हामीले अहिले, यहीं जीवनको अन्द्भुत आनन्द अनुभूति गर्न सक्छौं, विलासको महलमा बस्‍न जाने दिन कुर्नुपर्दैन। हाम्रा आँखामा कवि क्षेत्रप्रताप अधिकारीको कविता किन पर्दैन भने आँखा छन् हाम्रा देख्छ अरू नै, गाउँ छ हाम्रो बस्छ अरू नै, जीवन छ हाम्रो बाँच्छ अरू नै। त्यो दिन कहिले आउँछ जुन दिन हाम्रा आँखा हाम्रा हुन्छन्, हाम्रो गाउँ हाम्रो हुन्छ, हाम्रो जीवन हाम्रो हुन्छ?

(नेत्र आचार्य धर्म-संस्कृति विषयका अध्येता हुन्)

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .