अफगातिस्तानको विद्रोही समूह तालिबान र अमेरिकाबीच महत्वपूर्ण शान्ति सम्झौतामा हस्ताक्षर हुन लागेको हो।
यस सम्झौताले अमेरिका र तालिबानबीच जारी १८ वर्षे लामो युद्ध अन्त्य हुने अनुमान गरिएको छ।
एकहप्ता अगाडि अमेरिकी विदेशमन्त्री माइक पोम्पियोले अमेरिका र तालिबानले शान्ति सम्झौतामा हस्ताक्षर हुने बताएका थिए।
एपीका अनुसार शनिबारको सम्झौताले लामो समयदेखिको रक्तपात र युद्धमा जबरर्जस्त लगानीको अन्त्यको संकेत गर्नेछ। अमेरिकाले अफगान युद्धमा ७५० अर्ब अमेरिकी डलर समाप्त गरेको छ।
कतारको राजधानी दोहामा अमेरिकाका मुख्य कुटनीतिज्ञ र तालिबानका नेताहरुबीच शान्ति सम्झौतामा हस्ताक्षर हुनेछ।
यस सम्झौताअनुसार अमेरिकाले तालिबान र अफगान सरकारबीच शान्तिवार्ता तथा युद्ध अन्त्य गर्नमा भूमिका खेल्नुपर्नेछ। तालिबानले अफगानिस्तानमा अमेरिकी सेनाको उपस्थिती घटाउन पनि भनेको छ।
यस सम्झौताअनुसार अमेरिकाले तत्काल अफगानिस्तानबाट ८६०० अमेरिकी सेनालाई अमेरिका फिर्ता बोलाउनु पर्नेछ। त्यसपछि केही हप्तामै अर्को सहमति हुनेछ। त्यसपछि अमेरिकाले फेरि त्यहाँबाट १३ हजार अमेरिकी सेना फिर्ता लानेछ।
अमेरिका र तालिबानबीच हुन लागेको यस पहिलो चरणको सम्झौताले झन्डै २0 वर्षयता जारी गृहयुद्ध अन्त्य हुने संकेत दिएको विश्लेषण गरिएको छ।
हालै अफगानिस्तानमा राष्ट्रपतीय निर्वाचनको परिणाम सार्वजनिक भएको छ। यस विषय अमेरिका र तालिबानको सम्झौतामा समावेश छैन्।
सन् २००१ यता सुरु भएको अफगान गृहयुद्धमा अमेरिकाले तालिबानसँग लड्न अरबौं डलर खर्च गरिसकेको छ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सन् २०१६ मा चुनाबी प्रचार गरिरहँदा उनले अफगानिस्तानमा अमेरिकी युद्ध अन्त्य गर्ने प्रतिबद्धता जनाएका थिए।
सन् २०१८ को डिसेम्बर महिनामा तालिबानले अमेरिकासँग छलफल गरेर शान्तिको बाटो तय गर्ने अभिव्यक्ति दिएपछि भने वार्ताको ढोका खुलेको थियो।
त्यसबेला विद्रोही तालिबानले अफगान सरकारसँग कुनै औपचारिक छलफल गर्न भने इन्कार गर्यो। तालिबान अफगान सरकारलाई अमेरिकाको कठपुतली भएको आरोप लगाउँछ।
तालिबानसँगको सहमतिअनुसार गतवर्षको सेप्टेम्बरमा अमेरिकाले अफगानिस्तानबाट ५४ सय अमेरिकी सेना फिर्ता बोलाउने निर्णय गरेको थियो।
तर त्यसको केहीदिनमै तालिबानले एक अमेरिकी सेनाको हत्या गरेपछि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले तालिबानसँगको सम्झौता टुक्रिएको प्रतिक्रिया जनाएका थिए।
ट्रम्पले तालिबानले ठूलो गल्ती गरेको बताइरहँदा तालिबानले अमेरिकाले वार्तालाई बेवास्ता गरेर थुप्रै अमेरिकी सेनाको ज्यान गुमाउने चेतावनी दिएको थियो।
सन् २०११ यता कतारले पनि अफगानिस्तानमा शान्तिका लागि तालिबानका नेतासँग वार्ता गरिरहेको छ।
अफगानयुद्धको पृष्ठभूमि
सन् २००१ सेप्टेम्बर ११ मा जब अमेरिकामा आतंकवादी आक्रमण भयो त्यसको एक महिनापछि अमेरिकाले तालिबानविरुद्ध अफगानिस्तानमा आक्रमण थालेको थियो।
अमेरिकामा आक्रमण गर्ने ओसामा बिन लादेनलाई सुम्पन अस्वीकार गरेपछि अमेरिकाले आक्रमण थालेको थियो।
त्यसबेला तालिबान समूह अफगानिस्तानको सत्तामा थियो। अमेरिकासँग अन्तर्राष्ट्रिय सहयोगी राष्ट्रहरु लागेपछि तालिबान सत्ताबाट तत्काल हटाइएको थियो।
त्यसयता तालिबानले विद्रोहीको रुपमा अफगान सरकारलाई निस्क्रिय बनाउने हिसाबले आक्रमण गर्दै आएको छ।
सन् २०१४ मा अन्तर्राष्ट्रिय गठबन्धनको तालिबानविरुद्ध आक्रमण अभियान समाप्त भएको थियो। तर अमेरिकाले अफगान सरकारलाई साथ दिँदै तालिबानविरुद्ध आक्रमण गरिरह्यो।
यद्यपी तालिबानले आफ्नो पकडलाई थप मजबुत बनाउँदै आएको छ। बीबीसीका अनुसार तालिबानले सन् २०१८ मा अफगातिस्नातको ७० प्रतिशत स्थानमा सक्रिय रुपमा गतिविधि सन्चालन गरिरहेका थिए।
अफगान युद्धमा अन्तर्राष्ट्रिय गठबन्धनका ३५ सय सेनाको मृत्यु भएको छ। तीमध्ये २३ सय अमेरिकी सेना हुन्।
यस युद्धमा अफगानका सर्वसाधारण, अफगान सेना र तालिबान लडाकु कति मरे भनेर यकिन तथ्यांक छैन। सन् २०१९ मा संयुक्त राष्ट्रसंघले अफगान युद्धमा ३२ हजार सर्वसाधारणको ज्यान गएको बताएको थियो।
ब्राउन युनिभर्सिटीको अनुसन्धानअनुसार अफगान युद्धमा ५८ हजार सुरक्षाकर्मी मारिँदा ४२ हजार तालिबान लडाकु मारिएका छन्। एजेन्सी
Shares
प्रतिक्रिया