ad ad

छापा खबर


नेकपालाई जनादेश नपचेकै हो?

नेकपालाई जनादेश नपचेकै हो?

नेपालखबर
मंसिर २३, २०७७ मंगलबार १:५२,

हरेक राजनीतिक परिवर्तनपछि नेपाली जनताले स्थिरता र विकासको चाहना राख्दै आएका छन्। तर सरकार र सत्तारुढ दलबीचको समन्वय अभाव तथा आन्तरिक कलहले राजनीतिक स्थायित्व, आर्थिक विकास र समृद्धिको चाहना २००७ सालदेखि नै अधुरो छ।

निर्वाचनअघि आर्थिक विकासका ठूलाठूला कुरा गर्ने तर जनमत पाएपछि आन्तरिक किचलोमा रुमलिने नेपालका दलको परम्परा नै बनिसकेको खबर आजको नागरिक दैनिकमा बालकृष्ण अधिकारीले लेखेका छन्।

सरकारमा रहेकाले आफ्नै दलको निर्देशन नमानेर आफूखुसी अघि बढ्दा जनताले पाँच वर्षसम्म सरकार सञ्चालनका लागि दिएको जनादेशसमेत खण्डित हुने गरेको छ। निर्वाचनमा बाँडेका सपना र आश्वासन कहिल्यै व्यवहारमा परिवर्तन हुन सकेका छैनन्। जसले गर्दा जनताका लागि विकास र समृद्धिका कुरा ‘आकाशको फल आँखा तरी मर्’ जस्तै बन्न पुगेको छ।

दलीय विवादले पटकपटकका आन्दोलनमार्फत भएका राजनीतिक परिवर्तन तुहिनुका साथै मुलुक अस्थिरताको भूमरीमा फस्दै आएको छ। सरकार र पार्टीबीचको समन्वय अभावलाई छोप्न दल र तिनका नेताले अमुक संस्थालाई कारक करार गर्दै आएका छन् तर पनि जनताले स्थिर सरकार र आर्थिक विकासको उत्कट चाहनासहित पटकपटक अभिमत प्रकट गर्दै आएका छन्।

त्यसैको चाहनाअनुसार आम जनताले २०७४ सालमा भएको आम निर्वाचनमा तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र (हाल नेपाल कम्युनिस्ट पार्टी नेकपा) लाई संघीय संसद्मा झन्डै दुईतिहाइ बहुमत प्रदान गरेका थिए। सातमध्ये छ प्रदेशमा एकल सरकार बनाएको नेकपालाई बहुसंख्यक स्थानीय सरकार सञ्चालनको जिम्मेवारी पनि जनताले दिएकै हुन्।

स्थिर सरकारसहित तीव्र आर्थिक विकासको नारा बनाएर निर्वाचनमा गएको तत्कालीन एमाले–माओवादी गठबन्धनका तर्फबाट केपी ओली नेतृत्वमा सरकार बन्यो। ओली सरकारले न जनचाहनाअनुसार मुलुकको आर्थिक विकासको बाटो देखाउन सक्यो न सत्तासीन नेकपाभित्र नै एकता देखियो। बरु अध्यक्ष एवं प्रधानमन्त्री ओली एकलौटी अघि बढ्न खोज्दा अहिले पार्टी एकता र सरकार दुवै संकटमा परेका छन्।

चरम आन्तरिक विवादले आर्थिक विकास र स्थिरताको जनअपेक्षा पूरा हुने कुरै भएन। त्यसमाथि कोरोना भाइरसको संक्रमणबाट जनता आक्रान्त बन्दासमेत राज्य गैरजिम्मेवार रूपमा प्रस्तुत हुँदा दल र सरकारप्रति जनविश्वास कमजोर बनेको छ। यसकै फाइदा उठाएर राजसंस्थाको पक्षमा प्रदर्शन हुन थालेको छ। सत्तारुढ नेकपाभित्रको आन्तरिक विवादले पछिल्लो राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धि नै गुम्ने त होइन भन्ने आशंका पनि जन्मेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .