तस्करीको करिब ३६ तोला सुन बाँडीचुँडी लिएको आरोपमा इन्स्पेक्टरसहित १६ जना प्रहरीमाथि छानबिन सुरु भएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सीमा प्रहरीचौकी टिमुरेका इन्चार्ज रहेका इन्सपेक्टर खेम नेपालसहित १६ जनालाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयलाई बुधबार पत्राचार गरेको खबर आजको नयाँ पत्रिका दैनिकमा सुवास भट्टले लेखेका छन्।
प्रहरीको प्रारम्भिक छानबिनमा सुन लुकाएको पुष्टि भएपछि ती प्रहरीमाथि अख्तियारले छानबिन अघि बढाएको हो।
ती प्रहरी बहाल रहँदा आफ्नो विरुद्धको प्रमाण लोप वा नाश गर्न सक्ने वा अनुसन्धानमा बाधा पुर्याउने आधारमा उनीहरूलाई निलम्बन गर्न प्रहरी प्रधान कार्यालयमा पत्राचार गरिएको आयोगले जनाएको छ।
निलम्बनपछि उनीहरूलाई हिरासतमै लिएर अनुसन्धान अघि बढाउने आयोगको तयारी छ।
अख्तियारले प्रहरी निरीक्षक खेमप्रसाद नेपाल, प्रहरी नायब निरीक्षक भोजबहादुर सेन वली, प्रहरी सहायक निरीक्षक रामशरण कुमाल, प्रहरी हवल्दारहरू रामशरण रिमाल, पुरुषोत्तम खत्री, रामकाजी लामा र गोपीबहादुर तामाङलाई निलम्बन गर्न अख्तियारले पत्राचार गरेको हो।
प्रहरी जवानहरू शिवनारायण चौधरी, युवराज खरेल, भविलाल रुम्बा लामा, रामचन्द्र विक, रीता चौधरी, मनोज आले, छेक्यु डोल्मा मोक्तान, ताराबहादुर प्रजा र प्रहरी कार्यालय सहयोगी हरिबहादुर श्रेष्ठलाई पनि निलम्बन गर्न आयोगले पत्राचार गरेको छ।
उनीहरू सबैलाई केही दिनअघि नै जिम्मेवारीबाट हटाएर दंगा नियन्त्रण गण हेटौँडामा राखिएको छ । प्रहरी कार्यालयबाहिर जान नपाउने गरी उनीहरूलाई गणभित्र राखिएको हो।
सीमा प्रहरी कार्यालयमा ३७ जना प्रहरीको दरबन्दी रहेकोमा तस्करीको सुन बरामद भएको दिन ड्युटीमा रहेका सबै प्रहरी मिलेर लिएका हुन् । सो चौकीमा हाल थप प्रहरी पठाइएको छ।
गत ११ पुसमा केरुङबाट नेपाल आउँदै गरेका सवारी जाँचका क्रममा ना। ६ ख ४९३२ नम्बरको कन्टेनरमाथि प्रहरीले खानतलासी गर्यो।
त्यसक्रममा प्रहरीले चालक फुर्वा तामाङको साथबाट चार सय २२ ग्राम सुन बरामद गर्यो । जुन सुनको बजारमूल्य हाल करिब २८ लाख रुपैयाँ पर्छ ।
तर, बरामद गरिएको सुन कानुनी प्रक्रियाका लागि राजस्व अनुसन्धान विभागमा पठाउनुपर्नेमा ती प्रहरीले आपसमा बाँडफाँट गरी लिएका थिए । चालकलसहित विभागमा बुझाउनुपर्नेमा तामाङलाई छाडिएको थियो।
प्रतिक्रिया