ad ad

छापा खबर


न दुलाहा आए न जन्ती, बानेश्वरको पार्टी प्यालेसमा दुलही पक्ष पर्खेेको पर्ख्यै

न दुलाहा आए न जन्ती, बानेश्वरको पार्टी प्यालेसमा दुलही पक्ष पर्खेेको पर्ख्यै

नेपालखबर
फागुन १५, २०७६ बिहिबार ०:४७,

बानेश्वरस्थित एक पार्टी प्यालेसमा मंगलबार विवाहको भोज थियो। करिब ७ सय जनाका लागि खानपानको व्यवस्था थियो।

मूलथलो पूर्वी पहाडी जिल्लाबाट केटीको परिवारले जन्तीलाई खुवाउन भनेर चारवटा खसी नै काठमाडौं ल्याएको थियो। काठमाडौँमा रहेका आफ्ना जिल्लावासी र चिनेजानेका सबैलाई केटीको परिवारले निम्त्याएको थियो।

बिहान १० बजेदेखि आउनेजाने निम्तालुको लर्काै चलिरहँदा १२ बजे आउने भनेका जन्ती आइपुगेनन्। केटी पक्ष फोन डायल गर्न थाले।

आफूलाई इन्जिनियर बताउने वर आश्रेय बस्नेतले फोनमा आत्तिएको स्वरमा पारेर आफ्ना माइला बुवा अचानक बितेकाले आउन ढिला भएको बताउँदै भने, ‘यताको तारतम्य मिलाएर जन्ती हिँड्छ।’ सिनामंगल घर र आफूलाई डाक्टरको छोरा बताउने उनी दिन ढल्किँदा पनि जन्ती लिएर नआएपछि केटी पक्षमा हल्लीखल्ली मच्चियो।

जन्ती आउने आसमा सिंगो दिन बिताएपछि केटी पक्ष सशंकित भयो। आफन्तले महानगरीय प्रहरी वृत्त बानेश्वरमा खबर गरे। वृत्तका डीएसपी दुर्गा रेग्मीसहितको टोली पार्टी प्यालेसमा पुगेर सबै जानकारी लियो। डीएसपी रेग्मीले भने, ‘केटी पक्षका सबैको अनुहार मलिन थियो। उनीहरूको कुरा सुनेर म चकित परें।’

१५ दिनअघि काठमाडौंकै एक भव्य होटलमा भएको टीकाटालोपछि सोमबार बिहेको मिति टुंगो गरिएको थियो। राति अबेरसम्म पनि जन्ती आएनन्, केटा पक्षका कोही आफन्त उपस्थित नभएपछि केटी पक्ष घर फर्कियो।

 केटीका आफन्तका अनुसार बिहेको कुरा छिन्ने टीकाटालोमा पनि बस्नेत चारजना साथीमात्रै लिएर आएका थिए। ती आफन्तका अनुसार इन्गेजमेन्टमा चार तोला सुनका विभिन्न गहना केटा पक्षलाई दिइएको थियो।

केटाले आफ्नो भनेको घर पनि हेर्न गएका केटी पक्षले उनका डाक्टर पितालाई भने भेट्न पाएका थिएनन्। ‘बुवा धेरै व्यस्त हुनुहुन्छ’ भन्दै उनले हजुरआमा भनेर एक वृद्धा चिनाएका थिए। कुराकानी राम्रै भएपछि विवाह अगावै केटी पक्षले पाँच लाखजतिको फर्निचर पनि दाइजो भन्दै दिएको थियो।

उनको भनिएको घरमा पुग्दा थाहा भयो, उनी त्यहाँ डेरा लिएर बसेका रहेछन्। ‘हामी पुग्दा ढोकामा ताला थियो,’ डीएसपी रेग्मीले भने, ‘केटी पक्षलाई हजुरआमा भनेर चिनाइएकी मान्छे पनि फेला परिनन्।’

विवाहको निम्तो कार्डका लागि केटाले दिएका बाबु र आमाको नाम पनि फर्जी भएको खुल्यो। केटाको वास्तविक नाम साहिल बस्नेत रहेको प्रहरीले पत्ता लगायो। यो खबर आजको कान्तिपुरमा छापिएको छ।

केटाको कोठामा न नयाँ फर्निचर थिए, न त महँगा वस्तु । केटी पक्षले दिएको फोटो र विवरण प्रहरीले आफ्ना युनिटहरूमा पठायो।

काठमाडौंबाट पठाइएको फोटोमा रहेका बस्नेतलाई प्रहरीले बुधबार पोखरा विमानस्थलबाट प्रहरीले देख्यो। रोक्यो। चेकजाँच गर्दा उनको साथबाट चार हजार अमेरिकी डलर बरामद भयो। विदेशी मुद्राको स्रोत नखुलेपछि उनलाई काठमाडौंको साटो थप अनुसन्धानका लागि राजस्व विभागको बुटवल कार्यालय पठाएको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .