ad ad

छापा खबर


हिमपातले १ को मृत्यु, १२ जना चार दिनदेखि ओडारमा थुनिए

हिमपातले १ को मृत्यु, १२ जना चार दिनदेखि ओडारमा थुनिए

नेपालखबर
मंसिर २९, २०७६ आइतबार २३:४९,

जडीबुटी संकलन गर्न जुम्लाका शेरा फूलबारी पाटन गएका एक जनाको मृत्यु भएको छ भने १२ जना पाटनमै अड्किएका छन् ।

पाटनबाट सेतक चिनी लिएर फर्कंदै गर्दा तिला गाउँपालिका–९ ढिपुगाउँका एक खच्चर गोठालाको मृत्यु भएको र सोही गाउँका अन्य १२ जना चार दिनदेखि ओडारमा बसिरहेको प्रहरीले जनाएको छ।

यो खबर आजको कान्तिपुर दैनिकमा जुम्लाबाट एलपी देवकोटाले लेखेका छन्।

 सेतक चिनी, भुल्ते, धूपी र पदमचाललगायतका जडीबुटी संकलन गर्न बिहीबार पाटन गएका उनीहरू आइतबार साँझसम्म नफर्किएपछि वडाध्यक्ष शेरबहादुर बोहराले फोनमार्फत प्रहरीलाई जानकारी गराएका हुन्।

बोहराका अनुसार ढिपुगाउँका बिनबहादुर बोहराको मृत्यु भएको छ भने धनबहादुर बोहरा, छविराज बोहरा, जंग रावत, सुमबहादुर बोहरा, नरवीर बोहरा, तुलु बोहरा, ननिलाल रावत, सूर्य रावत, कल्पना बोहरा, लाउरी बोहरा, रेश्मा बोहरा र मनमाया बोहरा पाटनमा अड्किएका छन्।

‘तिलाको नेटामा चिसोले कठ्यांग्रिएर बिनबहादुरको मृत्यु भएको खबर आएको छ,’ जुम्लाका डीएसपी लालबहादुर धामीले भने, ‘बाटोमै मृत्यु भएको वडाध्यक्ष बोहराले हामीलाई खबर गरेका छन् ।’ अत्यधिक हिमपात र चिसोका कारण अड्किएकाहरूको उद्धारका लागि त्यसतर्फ जान सकिएको छैन।

उनीहरूको उद्धारका लागि स्थानीय प्रशासनले गृह मन्त्रालयमा आइतबार साँझ हेलिकप्टर पठाइदिन पत्राचार गरिसकेको सहायक प्रमुख जिल्ला अधिकारी देवेन्द्र श्रेष्ठले बताए।

‘उद्धारका लागि पहल गरिदिन स्थानीय प्रशासनलाई आग्रह गरेपछि हामीले पनि हेलिकप्टरका लागि गृहमा खबर पठाएका छौं,’ उनले भने, ‘हेलिकप्टर आयो भने सोमबार उद्धार गर्न सकिन्छ, अन्यथा उक्त पाटनमा जान सक्ने अवस्था छैन।’

गाउँमा झन्डै दुई फिटसम्म हिउँ परेको र पाटनमा त्योभन्दा धेरै हुन सक्ने भन्दै उनीहरूले तत्काल उद्धार गरिदिन सरकारसँग माग गरेका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .