प्रदेश १ का तीन ठूला दल नेकपा एमाले, माओवादी केन्द्र र नेपाली कांग्रेस प्रदेश १ को नाम कोशी प्रदेश राख्न एक मत देखिएका छन्।
एमाले, कांग्रेस र माओवादी केन्द्रले आ–आफ्नो दलको बैठक राखेर प्रदेश १ को नाम कोशी प्रदेशमा भोट हाल्ने निर्णय गरेका हुन्।
यो सँगै प्रदेशको नाम कोशी प्रदेश राख्नेमा तीन दल एक ठाउँमा भएका हुन्।
यो सँगै प्रदेशको नाम कोशी रहने सम्भावना बढेको छ। यसअघि प्रदेशसभा सचिवसमक्ष एमाले र कांग्रेसले संयुक्त रुपमा कोशी प्रस्ताव दर्ता गराएका थिए। प्रदेश १ मा एमालेको नेतृत्वमा माओवादी केन्द्र पनि सामेल छ भने कांग्रेस प्रमुख प्रतिपक्ष रहेको छ।
कोशी नामका लागि एमालेका रामकुमार राना प्रस्तावक छन्। उक्त प्रस्तावको एमालेकै निरन राई र कांग्रेसका सांसद भूमि राजवंशीले समर्थन गरेका छन्।
प्रदेशको नामाकरणको टुंगो लगाउन प्रदेशसभाको दुई तिहाई मत आवश्यक पर्ने संवैधानिक व्यवस्था छ। प्रदेश १ मा ९३ जना सदस्य छन्। नामकरणको टुंगो लगाउन ६३ जना सांसद चाहिन्छ। प्रदेश १ प्रदेशसभामा एमालेका ४०, कांग्रेसका २९, माओवादीका १३, राप्रपाका ६, नेकपा एकीकृत समाजवादीका ४ र जसपाको १ जना सांसद छन्। सत्तापक्ष र विपक्ष दलहरु नामका बारेमा एक मत देखिएपछि सहज रुपमा दुई तिहाई मत पुग्न सक्ने सम्भावना छ।
यसैबीच प्रदेशसभाले प्रदेशको नामाकरण आजै गर्ने तयारी गरेपछि प्रदेशसभा आसपासको क्षेत्रमा धर्ना, जुलुस तथा प्रदर्शनलाई निषेध गरिएको छ।
जिल्ला प्रशासन कार्यालय मोरङका प्रमुख जिल्ला अधिकारी तीर्थराज भट्टराईले निषेधाज्ञा सम्बन्धी सूचना जारी गरी सो क्षेत्र आसपास निषेधाज्ञा जारी गरेको जनाएका छन्।
स्थानीय प्रशासनले सुरक्षा स्थितिलाई मध्यनजर गरी प्रदेश सभा भवन रहेको विराटनगरस्थित देवकोटा चोकदेखि कोशी अस्पताल चोकसम्म, जिल्ला प्रशासन कार्यालय वरपर, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मुख्यमन्त्रीको निवास वरपर दिउँसो ३ बजेदेखि अर्को आदेश नभएसम्म कुनै किसिमका सभा, जुलस, भेला, र्याली, धर्ना जस्ता कार्यहरु गर्न स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ (३) (क) बमोजिम निषेध गरिएको छ।
आदेश उल्लंघन गरी उल्लेखित कार्यहरु गरेको पाइएमा प्रचलित कानून बमोजिम कारबाही गरिने स्थानीय प्रशासनमा जनाईएको छ।
प्रतिक्रिया