ad ad

अन्तर्वार्ता


अब एकताको आधार बन्यो, ओली–प्रचण्ड दुवै डेन्जर जोनमा छैनन्ः रायमाझी (अन्तर्वार्ता)

अब एकताको आधार बन्यो, ओली–प्रचण्ड दुवै डेन्जर जोनमा छैनन्ः रायमाझी (अन्तर्वार्ता)

सागर न्यौपाने
साउन १४, २०७७ बुधबार १६:३९,

टोपबहादुर रायमाझी नेकपाका स्थायी कमिटी सदस्य हुन्। पूर्वमाओवादी खेमाका उनी मंगलबार कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा सहभागी भएनन्। कतिपयले रायमाझी ओली पक्षमा लागेको बताइरहेका छन्। यही विषयमा उनीसँग गरिएको कुराकानीः

बालुवाटारमा बसेको स्थायी कमिटीको बैठकमा तपाईं किन सहभागी हुनुभएन?
बैठक राख्ने पहिले नै निर्णय भएको थियो। हामी बैठकमा जाँदै गर्दा एक्कासि हेडक्वार्टर– पहिला हामीलाई जहाँबाट बैठकको सूचना आउँथ्यो, त्यहाँबाट बैठक स्थगित गरिएको सूचना आयो। त्यसपछि हामी बालुवाटर नै नपुगी फर्केर आफ्नो काममा लाग्यौं। फेरि खुमलटारबाट फोन आयो, ‘बैठक सञ्चालन हुने भयो’ भनेर। अनि हामीले ‘हेडक्वार्टरबाट त स्थगित भयो भनेका छन् नि’ भन्दा ‘बैठक हुन्छ’ भने।

फेरि बालुवाटरलाई फोन गरियो। अनि बालुवाटारले ‘कहाँ हुने बैठक, स्थगित हो’ भन्यो। बालुवाटारले त्यो बैठक स्थगित गर्न खोजेको तर, खुमलटारले चलाउने तयारी रहेछ।

अनि खुमलटारले बैठक राख्यो। त्यसमा २९ जना भेला भए। कोही गए, कोही गएनन्। पूर्व माओवादी कित्ताका साथीहरु म, मणि थापा, रामबहादुर थापा र लेखराज भट्ट चारजना गइएनछ। पूर्वएमालेको ओली कित्ताका नेताहरु गएनछन्। अरु सबै गएछन्।

खुमलटारले त प्रष्ट बैठक हुन्छ भनेर बोलाउँदा पनि तपाईंहरु किन नजानुभएको त?
एकथरी आउने अर्काेथरी नआउने बैठक भएपछि केही निष्कर्ष हुने देखिएन, अनि गइएन।

उहाँहरुले आउनुस् त भन्नुभएको हो। तर, कोही नआउने भएपछि त्यहाँ केही निर्णय हुने त होइन होला भन्ने लाग्यो। संयुक्त बैठक हुँदा पनि कोही छुटेका त हुन्छन्। एकथरी मान्छे मात्रै सहभागी बैठकको के भ्यालु हुन्छ र भन्ने पनि लाग्यो। त्यहाँ कुनै निर्णय गर्ने अवस्था पनि थिएन।

अनि बैठक कसरी अगाडि बढ्यो भनेर सूचना त आयो होला नि तपाईंहरुलाई?
बैठकमा २९ जना जम्मा भए। त्यसपछि प्रचण्डजी र झलनाथजी ओलीकहाँ जानुभएछ। प्रचण्डले ओलीलाई प्रश्न गर्नुभएछ– ‘बैठक किन स्थगित गर्नुभयो?’

त्यसपछि ओलीले जवाफ दिनुभएछ– यो सात दिन बैठक किन स्थगित भयो तपाईंले बुझ्नुभएको छ? दुईजना अध्यक्ष मिलेर सहमति गरेर एजेन्डा बनाउने, सचिवालयमा भएको निर्णयलाई प्रष्ट पार्ने र त्यसलाई सचिवालय बैठकबाट निर्णय गराएर स्थायी कमिटीमा लाने भनेर हो।

तर, त्यतातिर तपाईं लाग्नुभएन, तपाईंले खुमलटारमा पटकपटक गुटका भेला गर्नुभयो। दिएको जिम्मेवारी पूरा नगरीकन, सल्लाह नगरी बैठकमा किन जाने? हाम्रो काम नै पूरा भएको छैन। त्यसकारण बैठक स्थगित गरेको हो। अनि तपाईंले खुमलटारमा गुटबन्दी गरेर बसेको बैठकका निर्णयहरु पालना गर्न जाने म? हामीले लिएका जिम्मेवारी पूरा नगर्ने, सचिवालयको निर्णय पालना नगर्ने अनि खुमलटारमा गुटको निर्णय कार्यान्वयन गर्न जाने म? त्यही भएर म जान्नँ। 

प्रचण्ड कमरेड तपाईं पार्टीको नीतिअनुसार चल्ने कि गुटबन्दी गरेर खुमलटारको नीति चलाउँदै जाने?जाने भए निर्णय गर्नुस् म फेस गर्छु। दुईवटा कुरा किन गर्नुहुन्छ? कि सहमति गर्नुस् नत्र म अर्काेतिर जान्छु भन्नुस्।

त्यसपछि प्रचण्ड र झलनाथ फर्केर आएर बैठक गर्नुभएछ। उहाँले ओलीको भनाइ राखेर यस्तो भयो अब के गर्ने हो भनेर सोध्नुभएछ। बैठकमा वामदेवले ६ बुँदा पेस गर्नुभएछ। भीम रावल ‘नेताहरुको पद बाँडफाँटको लागि हाम्रो टाउको गन्ने कुरामा मेरो सहमति छैन, म त विचार र विधिबाट पार्टी चल्नुपर्छ भन्ने हो, नेताहरुको पदको लागि लड्ने मान्छे होइन’ भनेर उठेर हिँड्नुभएछ।

त्यसपछि जनार्दनजीले ‘महाधिवेशनबाहेक अर्काे विकल्प छैन, महाधिवेशनमा छिट्टै जाऊँ’ भन्नुभएछ। हरिबोलजीले ‘नेताहरुको भन्दा जनताको स्तर माथि भयो, जनतालाई पार्टी र नेताहरुले नेतृत्व गर्न सक्नुभएन’ भन्नुभएछ। पम्फाले पनि पार्टी एकताको विषयमा आफ्ना धारणा राख्नुभएछ। त्यहाँ जतिले बोल्नुभयो सबैले पार्टी एकतालाई जोगाउनु पर्छ मात्र भन्नुभयो।

त्यहाँ कसैले पनि प्रचण्डलाई पार्टी अध्यक्ष र प्रधानमन्त्री बनाउनुपर्छ भनेनछन्। माधव नेपाल र झलनाथ खनाल त बोल्दै बोल्नुभएनछ।

अन्तिममा पार्टीको अर्काे बैठक बसाल्न अध्यक्ष प्रचण्डले अर्का अध्यक्ष ओलीसँग सल्लाह गर्ने र बैठकको मिति तोक्ने निर्णय गरेर उहाँहरु उठ्नुभएछ। त्यस्तो बैठकमा हामी गए के, नगए के? नबुझ्ने मान्छे गए, पूर्वअनुमान गर्ने गएनन्।

तर, नेकपाको अन्तरिम विधानविपरीत ओलीले एकलौटी रुपमा पार्टीको बैठक रोक्न मिल्छ त?
मैले त भनिसकेँ, एकलौटी रुपमा बैठक स्थगित गर्न पनि मिल्दैन राख्न पनि मिल्दैन। यो छुट छैन। बैठक स्थगित गरेर एजेन्डा नबनाउने छुट छ? हैसियत गुमाइसके नेताहरुले।

पार्टीमा विभाजन आउने अवस्थामा तपाईंहरु के गर्नुहुन्छ?
पार्टी त उहिल्यै विभाजन भइसक्थ्यो। म नै पार्टीलाई विभाजनबाट रोक्नुपर्छ, नेताहरुले एकतालाई असर पर्ने कुनै गतिविधि गर्न हुँदैन भनेर लागिरहेको छु। नेताहरुले सहमति गरेर निकास दिनुपर्छ, त्यसका लागि सुझाव दिन तयार छु भनेर बीचमा उभिएपछि बल्ल दुई अध्यक्ष वार्तामा बस्नुभएको हो। नत्र त वहाँहरु वारपार गर्न लाग्नुभएको थियो। हाम्रै कारणले हो यहाँसम्म अड्याएर ल्याएको। अहिले मैले बोकेको विचार जो छ, त्यो त वामदेवले बोक्न थाल्नुभयो। भीम रावल जस्ता कडा नेताले पनि बोक्नुभयो। पार्टी एकतालाई मजबुत बनाउने कुरामा सबै एकैठाउँमा आइपुग्नुभयो। अब अन्तर्विरोधको हल गर्ने विषयतिर अघि बढिरहेको छ। म न ओलीको न प्रचण्डको र न माधव नेपालकै पछि लागेर हिँडेको छु। कसैको वरिपरि नबसी मैले यो हिम्मत गरेको दुनियाँले देखेको छ।

पछिल्लो चरण तपाई प्रचण्डसँग अलि असन्तुष्ट हुनुभएको हो?
त्यस्तो छैन। प्रचण्डले बोलाएको बेलामा पनि जान्छु, ओलीले बोलाए पनि जान्छु। माधव नेपालले बोलाएपनि गइएको छ। उहाँहरुले के के गर्नुभएको छ, सबै कुरा थाहा छैन। भेला छलफलमा बोलाए जान्छु, नबोलाए जाने कुरै भएन। मलाई बोलाइदिए हुन्थ्यो, मलाई महत्व दिए हुन्थ्यो भनेर केही गुनासो छैन। मैले आफ्नो भूमिका निर्वाह गरेको छु। एकताको पक्षमा छु। कुनै आग्रह पूर्वाग्रह, यसो गर्दिए हुन्थ्यो भन्ने व्यक्ति म होइन।

हिजोको बैठकपछि नेकपा विभाजनतिर गयो भन्ने चर्चा छ, यस्तो अवस्थामा ओली र प्रचण्डमध्ये को ‘डेन्जर जोन’ मा छन्?
मैले उल्टो सोचिरहेको छु। अब पार्टी एकताको लागि आधार बन्यो। हिजोको बैठकले सबैका विचार, सोच बाहिर सतहमा आए एकताबद्ध हुनलाई त्यसले ठूलो मद्दत गर्छजस्तो लाग्छ। निकास निकाल्न हिजोको गतिविधि धेरै फलदायी हुन्छ। अहिले कोही डेन्जर जोनमा छैनन्।

तर, तपाईंको भनाइमा हिजोको बैठकपछि प्रचण्ड झन् कमजोर भए भन्ने हो?
मैले त किन भन्नु र! त्यो आफ्नो आफ्नो विश्लेषण हो। यो कमजोर भए, त्यो कमजोर भए भन्ने विषयमा म जान चाहन्नँ।

मुख्य कुरा के भने हिजोको बैठकले एउटा आधार तयार गरेको छ। पार्टी एकता जोगाउन, अन्तरविरोधको निकास निकाल्नलाई त्यसले राम्रो आधार बनायो। त्यहाँ विभिन्न प्रवृत्ति र विचार अगाडि आए। कोही बैठकमा गएर बोलेर आयो, कोही नगएर आयो। त्यहाँ गएर नेता किन बोलेनन्? झलनाथ र माधवजी बोल्नुभएन? धेरै कुरा छन नि!

एक पक्षले बैठक राख्ने र अर्कोले स्थगित गर्ने विवादसम्म पार्टी कसरी आइपुग्यो?
मुख्य कारण त पार्टी एकतालाई आत्मसात गर्ने, एकता गर्दा जे सहमति गर्‍यौं, त्यसलाई पालना गर्ने र आफ्ना विचार राजनीतिक कार्यक्रमको स्तर बढाउने, राष्ट्र, जनता र विचारप्रति, योजना र कार्यक्रमप्रति विकास र समृद्धिप्रति केन्द्रित नहुने तर पदलाई मुख्य मानेको कारण यस्तो भएको हो। पद थोरै छन्, आकांक्षी नेता धेरै भए।

प्रधानमन्त्री ओली वामदेव गौतम निवास भैँसेपाटी गए, यसले नेकपाभित्र फेरि केही पाक्दैछ भन्ने देखिँदैन र?
ओलीजी वामदेवजीकोमा गएर डिनर गर्ने, प्रचण्डजी गएर माधव नेपालकोमा वा माधव नेपाल प्रचण्डजीकोमा गएर डिनर गर्ने कुराले केही अर्थ राख्दैन।

मुख्य कुरा विचारमा, सिद्धान्त, नीति र कार्यक्रममा के गर्छन् भन्ने कुरा हो। अलि अगाडि वामदेवजीकैमा प्रचण्डजी, नेपालजी, झलनाथ, नारायणकाजी गएर चियापान गर्नुभएको थियो। अहिले ओलीजी गएर गर्नुभयो।

हिजोको बैठकमा नगएको भनेर तपाईंहरुसँग त ओली पक्षधर खुब खुसी होलान् नि?
त्यस्तो केही छैन। हामीलाई कसैले बधाई दिऊन् भनेर नगएको होइन। कोही रिसाउलान् भनेर नगएको पनि होइन। ओलीले पटक पटक भेट्नुभयो। प्रचण्ड नेपालसँग पटकपटक भेट्यौं। हामी स्वतन्त्र छौैँ। कसले कसरी सोचिरहेका छन्, भन्ने बुझन् जान्न हामी ओपन छौं। पार्टीभित्र यत्रो बहस चलिरहेको बेला यो सोच्नु अन्यथा होइन। हामीले केही योगदान गर्न सक्छौं कि भनेर छलफल चाहिँ गरिरहेका छौं। कोसँग नजिक या टाढाभन्दा पनि कसको विचार के हो त, कसले मिलाउन खोजिरहेको छ, हामीसित कसको विचार मिल्छ भनेर सबैले गरिरहेका हुन्छौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .