ad ad

अन्तर्वार्ता


लकडाउन अटेर गरे कर्फ्यु लाग्न सक्छ : डीआईजी शाही (अन्तर्वार्ता)

लकडाउन अटेर गरे कर्फ्यु लाग्न सक्छ : डीआईजी शाही (अन्तर्वार्ता)

उजिर कार्की
बैशाख २३, २०७७ मंगलबार १२:९,

सरकारले लकडाउन सुरु गरेको ४२ दिन पूरा भएको छ। कोरोना संक्रमित देखिएसँगै वैशाख ११ गतेदेखि सरकारले लकडाउन गरेको थियो। हालसम्म कोरोना संक्रमितको संख्या ८२ पुगेको छ।

तर, पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै जाँदा लकडाउनलाई कुन रुपमा लैजाने भन्ने विषयमा बहस भइरहेको छ। संक्रमणको जोखिम हेरेर कतै कडा र कतै खुकुलो गर्ने तयारी सरकारको छ। लकडाउन कस्तो बनाउने भन्ने बुधबारसम्ममा निर्णय हुने बताइएको छ।

४२ लामो लकडाउनलाई सुरक्षाको जिम्मा लिएको नेपाल प्रहरीले कसरी कार्यान्वयन गरिरहेको छ त? प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायब महानिरीक्षक डीआईजी निरज शाहीसँग नेपालखबरले गरेकाे कुराकानीः

लकडाउन सुरु भएको ४२ दिन भयो, कार्यान्वयन कस्तो भइरहेको छ?
लकडाउनमा नेपाल प्रहरीलाई सिमाना र सडकको जिम्मा दिइएको थियो। यसमा हामी आफ्नो क्षमताले भ्याएसम्म सेवा दिइरहेका छौं। लकडाउनका बेला एक लाख जना जतिलाई नियन्त्रणमा लिएर छाडिएको छ। अन्य देशको तुलनामा संक्रमित संख्या नबढ्नुको कारण पनि लकडाउन कार्यन्वयन प्रभावकारी भएरै हो।

सुरुसुरुमा मान्छेले बुझेनन्। हामीलाई पनि गाह्रो भयो। बीचमा आएर लकडाउनलाई प्रभावकारी भएको थियो। अहिले फेरि अनावश्यक रुपमा निस्किन थालेका छन्। अहिले थप कडा पारिएको छ।

कतै लकडाउन खुकुलो छ। कतै सिल गरिएको छ, कतै कर्फ्यु लगाइएको छ। यस्तो फरक किन?
समग्रमा एक ठाउँबाट अर्को ठाउँमा आवतजावत बन्द गरिएको छ। लकडाउन कार्यन्वयन गर्दै गर्दा त्यहाँको अवस्था पनि मध्यनजर गर्नुपर्ने हुन्छ। केही जिल्लामा संक्रमितको संख्या अलि बढी देखियो। यस्तो ठाउँमा स्थानीय प्रशासन, स्वास्थ्यकर्मीर स्थानीय तहले निर्णय गर्न सक्छन्। जस्तै कर्णालीमा बोर्डर सिल गरिएको छ। नेपालगन्जमा स्थानीय प्रशासनले कर्फ्यु नै लगाएको छ।

लकडाउन मात्रै लगाउँदा स्थानीयले टेरेनन् भने स्थानीय प्रशासनले बल प्रयोग गर्नु पर्ने हुन्छ। यस्तो अवस्थामा स्थानीय प्रशासनले नै कर्फ्यु लगाउन सक्छ। कतिपय ठाउँमा एक जना पनि संक्रमित नदेखिएकाले आवतजावतमा मात्रै कडाइ गरिएको छ। अवस्थाअनुसारको कार्यन्वयन गरिएको छ।

यस्तो फरक–फरक व्यवस्था लागू गर्न कति चुनौती छ?
पहिलो कुरा, संक्रमण हुन नदिनलाई आफैंले सावधानी अपनाउनु महत्वपूर्ण हुन्छ। नागरिक आफैंले बुझ्नु पर्छ, आफू संक्रमित भए सबैभन्दा पहिले आफ्नो नजिकको मान्छेलाई पनि संक्रमित बनाइन्छ। यसको परिणाम नराम्रो हुन्छ। त्यसैले अनावश्यक रुपमा हिँडडुल गरिदिने र संक्रमण बढ्न सहयोग हुने खालका गतिविधि गरिदिनु भएन। नागरिकले यति बुझिदिए हामीलाई लकडाउन पालना गराउनमा ठूलो चुनौती हुँदैन।

अब जोखिमका क्षेत्र वर्गीकरण गर्ने कुरा छ। हाम्रो उदेश्य नै संक्रमण नफैलियोस् भन्ने हो। यो निर्णय गर्नुपहिले स्वास्थ्य विज्ञहरुले पनि देशको अवस्था कस्तो छ र संक्रमण फैलिन नदिन के गर्नुपर्छ भन्ने बिचार गर्नु हुने नै छ। त्यही अनुसार अबको लकडाउन व्यवस्था हुन्छ।

सरकारले उद्योग, व्यवसायहरु पनि खुल्ला गर्ने तयारी गरिरहेको चर्चा छ। त्यो अवस्थामा व्यवस्थापन गर्न सक्नुहुन्छ?
हाम्रो अवस्थालाई मध्यनजर गरेर मात्रै निर्णय हुन्छ। त्यो अवस्था मूल्यांकन गरेर दिइएको जिम्मेवारी हामी पूरा गर्छौं।

उद्योग व्यवसाय खोल्दा प्रहरीलाई समस्या पर्दैन?
अनावश्यक मान्छे हिँड्न सक्छन्, एउटा त्यही चुनौती हो। कतिपय देशहरुले यो मोडलमा पनि काम गरिसकेका छन्। यहाँ पनि जुन उद्योगले खोल्छ त्यो उद्योगले नै आफ्नोमा संक्रमण नहुने व्यवस्था गर्नुपर्छ। आफ्ना कर्मचारी, मजदुरलाई सिमित घेराभित्र राखेर त्यहाँ व्यवस्थापन गर्नुपर्छ।

भारतसँगको सीमाबाट प्रहरीलाई छल्दै हजारौँ मान्छे आइरहेका छन्। रोक्न किन सकिएन?
हामीले त्यसरी आउनेलाई पनि नियन्त्रणमा लिइरहेका छौं। एक लाख जति नियन्त्रणमा लिएको संख्या उनीहरुसहित नै हो। कतिपयलाई त्यसरी नियन्त्रणमा लिएर क्वारन्टिनमा पनि राखिएको छ। हाम्रो बोर्डरमा परम्परागत रुपमा जुन व्यवस्था थियो, त्यसको पनि प्रभाव परेको छ। कतिपय ठाउँमा समुदायको पनि ठूलो सहयोग छ। उहाँहरुको मद्दतमा पनि यस्ता गतिविधिहरु रोक्न सकिएको छ। कुनै छुट्पुट घटना भएका छन्।

सीमामा थप प्रहरी पठाउने कुरा के भइरहेको छ?
हाम्रोमा निर्णय आइसकेको छैन। नेपाल प्रहरीका डेढ सय जति चेकपोस्ट थप गरिएको छ। यसका लागि हामीले आन्तरिक जनशक्तिबाटै व्यवस्थापन गरिरहेका छौं।

लकडाउन लम्बिँदै जाँदा आपूर्तिमा समस्या होला, कसरी व्यवस्थापन गर्नुहुन्छ?
अहिले पनि हामीले अत्यावश्यक आपूर्ति, निर्माणका काम निर्बाध रुपमा चल्न दिइरहेका छौं। यसका लागि अहिले पनि व्यवस्थापन भइरहेको छ। लकडाउन लम्बिए पनि यो काम निरन्तर हुन्छ।

लकडाउन बढ्दै जाँदा अपराध बढ्दै जाला, त्यसलाई रोक्ने योजना के छ?
अहिलेसम्म लकडाउनमा अपराध आधाभन्दा कम भएको छ। त्यसमा पनि घरेलु हिंसाका मात्रै धेरै छन्। केही चोरी छन्, ठूला घटना भएका छैनन्।

तर पनि हाम्रो शान्ति सुरक्षामा खटिएका टोलीहरुले घटना घट्न सक्ने अवस्था समीक्षा गरेर त्यो अनुसारको योजना बनाउँछन्। थप सुरक्षा योजना बनाउने काम भइरहेको छ।

यदि कतै त्यस्ता घटना घटिरहेको देख्नु भएको छ भने हामीलाई खबर गरेर सहयोग गरिदिनुहुन अनुरोध पनि गर्छौं। विशेषगरी अहिले कार्यालयमा उजुरी कम आइरहेकाले ती जनशक्तीलाई पनि शान्ति सुरक्षा र लकडाउनको काममा फिल्डमा खटाइरहेका छौं।

लकडाउनका कारण पर्न सक्ने प्रभाव समीक्षा गरेर आआफ्नो क्षेत्रमा योजना बनाउन पनि भनेका छौं। लकडाउनपछि आउन सक्ने चुनौती फरक हुन सक्छन्। धेरै समय लकडाउनमा बस्दा मान्छेको सोचमा परिवर्तन हुन सक्छ।

२६ गतेपछि लकडाउन कसरी अगाडि बढ्छ?
सुरक्षा निकायले सुझाव दिने हो। निर्णय उच्चस्तरीय समितिले गर्ने भएकाले कसरी निर्णय भएर आउँछ अहिले नै भन्न सक्ने अवस्था भएन। अवस्थाको विश्लेषण भएरै निर्णय हुने भएकाले हामीले त्यसलाई कार्यान्वयन गर्छौं।

 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .