ad ad

अन्तर्वार्ता


रमेश लेखकसँग अन्तर्वार्ता : कांग्रेसमा एउटा सभापति हुँदा यो हालत छ, दुई जना भए के होला?

रमेश लेखकसँग अन्तर्वार्ता : कांग्रेसमा एउटा सभापति हुँदा यो हालत छ, दुई जना भए के होला?

सागर न्यौपाने
चैत ३, २०७६ सोमबार १२:४९,

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस महाधिवेशनतर्फ अग्रसर हुँदै गर्दा आन्तरिक विवादमा निकै फसेको छ। सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेलबीच पहिलेदेखि रहेको विवाद अहिले कृष्ण सिटौला, शशांक कोइराला, शेखर कोइरालासम्म विस्तार भएको छ। महाधिवेशनमा नेतृत्व हत्याउने होडमा रहेका यी प्रमुख नेताहरू आआफ्नो रणनीति बनाउने तर्खरमा छन्।

केन्द्रीय सदस्य रमेश लेखक अहिले कतिपय दुई पक्षीय बहुपक्षीय भेटघाटहरूमा सभापति देउवासँगै देखिन्छन्। पार्टीमा देउवाका एक जना विश्वास पात्र रमेश लेखक वरिष्ठ नेता रामचन्द्र पौडेल र अरु नेताहरूले सभापतिलाई हलचल हुन नदिएर बाँध्न खोजेको बताउँछन्। कांग्रेस नेता रमेश लेखकसँग विस्तृत वार्ताः

कांग्रेसभित्र आन्तरिक विवाद चुलिएको देखिन्छ, किन?
त्यस्तो ठूलो समस्या त होइन। तर, अहिले हाम्रा नेताहरुलाई अलिअलि महाधिवेशन लागेको हो। हामी १४ औँ महाधिवेशनको नजिक छौँ। आगामी फागुन ७ देखि १० गतेसम्म महाधिवेशन गर्ने मिति तय भइसकेको छ। यस्तो अवस्थामा समग्र पार्टी महाधिवेशनमा केन्द्रित भएर अघि बढिरहेको छ। समयमा महाधिवेशन गर्ने निर्णय गरेर हामी अगाडि बढिरहेका छौं। त्यही भएर अलि ज्यादा विवाद देखिएको हो। महाधिवेशन जति नजिक आउँछ, आरोप–प्रत्यारोप त्यति नै बढ्दै जान्छ। किनभने आन्तरिक प्रतिस्पर्धा बढेर गएको छ।

त्यसो भए, सभापतिले आफूखुसी विभाग प्रमुख तोकेकाले विवाद भएको होइन?
सभापतिले विभाग गठन गर्ने प्रक्रियामा कुरा गरिरहँदा उहाँले सहमतिकै आधारमा गर्न खोज्दा आजसम्म ढिला भयो। सभापतिले एकलौटी ढंगले गर्न चाहनुभएको होइन। उहाँले सहमतिकै आधारमा गठन गर्न चाहनुभयो। त्यसका लागि उहाँले वरिष्ठ नेता रामचन्द्र पौडेलसँग पटक पटक विभागमा रहने संयोजक र सदस्यहरुको नाम पनि माग्नुभएकै हो। तर, सहमति हुन सकेन। वरिष्ठ नेताले नाम नदिएपछि सभापतिले केही विभागको नाम तोक्नुभएको साँचो हो।

Ramesh_lekhak_4.jpg

तर, पौडेल समूहले त सभापतिले हस्तक्षेप गर्नुभयो भन्ने आरोप लगाएको छ नि?
त्यो त थाहा छैन। तर एउटा कुरा के निश्चित हो भने, सभापतिज्यूले पटक पटक उहाँहरुसँग संयोजकका लागि नाम दिनुस् भनेर माग्नुभएको हो। सभापतिले भनेको बेला वरिष्ठ नेताले नाम नदिनुभएको साँचो हो। पछिल्लो समयमा आएर विधानमा २८ वटा विभागको व्यवस्था थियो, ४८ वटा बनाउने केन्द्रीय कमिटीले निर्णय गर्‍यो। यसमा रामचन्द्र दाइको असहमति रह्यो। त्यो बेग्लै पाटो हो। ४८ बनाएको भएपनि त त्यसलाई समझदारी गरेर ३८ बनाउन सकिन्थ्यो। तर, पछिल्ला समयमा पौडेल दाइले विभाग नै गठन नगर्ने भन्ने खालको कुरा अगाडि सार्नुभयो। विभाग गठन नगर्ने कुरा सभापतिलाई उचित लागेन। र, त्यो उचित पनि होइन। सहमतिमै विभाग गठन गर्नु उचित हुन्थ्यो।

पौडेल दाइले विभाग गठन गर्दै नगर्ने भनेको हुनाले अलिकति समस्या पैदा भएको हो। विभागको संख्या २८ पनि बनाउन हुँदैन भनेर उहाँले भन्न थाल्नुभयो अनि त समस्या भइहाल्छ नि। यसरी गरौं भन्ने कुरा पो गर्नुपर्छ त। विभाग गठनको कुरा गर्दा यसरी बाँडेर गरौं, यति यति संख्यामा गरौं भन्दा राम्रो हुन्थ्यो।

यस्तो अवस्थामा सभापतिले विवाद समाधान गरेर पार्टीलाई एक ढिक्का बनाउने कि गुट मजबुत बनाउने त?
सभापतिले त्यस्तो गर्नुभएको छैन। किन छैन भने सभापतिज्यूले सहमतिको भरमग्दुर प्रयास गर्नुभएको हो। त्यसको उदाहरण पछिल्लो समयमा नेविसंघ गठन हो। त्यसको प्रारुपले प्रष्ट देखाउँछ। रामचन्द्र दाइ र सिटौलाजीले केन्द्रीय क्रियाशील सदस्यता छानबिनका लागि ७ सदस्यीय समिति बनाउने भन्नुभयो। त्यो पनि मानेर गएको हो। जुन धाराहरु निलम्बन भएका थिए, तिनीहरुलाई फुकुवा गर्ने काम पनि भएकै हो।

अब यसरी बुझौं, माघ ११ गते जे–जे निर्णयहरु भएका थिए, त्यो बैठकमा भएका सबै निर्णयलाई वरिष्ठ नेताले भनेअनुसार पुनर्विचार गरेर सहमति गरिएको हो।

नेविसंघ गठनका विषयमा सभापति अन्त्यन्त ज्यादा लचक भएर सहमति गरिएको हो। तर, उहाँले विभाग पनि सहमतिमै गठन गर्न चाहनुभएको हो। आमन्त्रित लगायतका थप केन्द्रीय सदस्यहरुको मनोनयन पनि सहमतिमै गर्न खोज्नुभएको हो। तर, रामचन्द्र दाइले कुनैपनि कुरामा सहभागिता नजनाउने, जस्तो विभाग नै नबनाउने भनिदिनुभयो। केन्द्रीय समितिमा मनोनयन नगर्ने भनिदिनुभयो। त्यो त सम्भव थिएन नि। त्यसैले अब विवादको कुनै अर्थ छैन। महाधिवेशनमा केन्द्रित भएर अघि बढ्नुपर्छ।

Ramesh_lekhak_6.jpg

तर, पार्टीमा भएका गुट त अहिले बनेका होइनन् नि।
नेपाली कांग्रेसभित्र समूहहरु छन्, त्यो लुकाउने छिपाउने कुरा होइन। मैले छैन भनेपनि देखिएकै छ। राजनीतिक दलमा समूह हुन्छ। समूहको बीचमा द्वन्द्व पनि हुन्छ। मूल विषय के हो भने द्वन्द्वको समाधान गर्ने वा विवादको अन्त्य गर्ने दिशामा पार्टीलाई लगियो कि लगिएन? त्यो पहल भयो कि भएन। सहमतिमा पार्टीलाई अगाडि बढाउने कुरामा सभापतिको यथेष्ट सहयोग रहेको छ।

पार्टीको सभापति मुख्य व्यक्ति हो, केन्द्रीय कमिटी नीति निर्माणको थलो हो। अनि बहुमतले भनेको कुरा केही पनि मान्दिनँ, सभापतिले भनेको कुरा केही पनि मान्दिनँ भन्यो भने अलि गाह्रो हुन्छ।

प्रमुख प्रतिपक्षी कांग्रेस अहिले राष्ट्रिय मुद्दाहरुमा अनुपस्थितजस्तो देखिन्छ। किन?
समसामयिक रुपमा पार्टीले गर्नुपर्ने निर्णय गरिराखेको छ। हो, निश्चित रुपले हाम्रा कमीकमजोरी छन् फेरि। नेपाली कांग्रेसले राष्ट्रिय राजनीतिमा जुन भूमिका निर्वाह गर्नुपर्थ्यो त्यो गर्न सकेका छैनौं।
त्यो नसक्नुको कारण भनेको हामी पार्टीको आन्तरिक राजनीतिको द्वन्द्वमा यति धेरै अल्झिएका, बल्झिएका छौं कि, त्यहाँबाट बाहिर निस्कनै कांग्रेसलाई गाह्रो भइरहेको छ। त्यसकारण हामीले राष्ट्रिय राजनीतिमा अपेक्षित काम गर्न सकेका छैनौं। हामीले आन्तरिक द्वन्द्वकै कारण जनताले अपेक्षा गरे अनुसार भूमिका खेल्न सकेनौं।

महाधिवेशनको तयारीमा अहिले त झन् आन्तरिक विवाद बढ्यो। धेरै नेताहरुले सभापतिसँग लड्न खोज्नुभएको छ। उहाँहरुले आ–आफ्नो एजेन्डा बोक्नुभएको छ। एउटाको एजेन्डा अर्काेसँग मिल्दैन। त्यसकारण विवाद बढेको देखिन्छ। त्यो स्वभाविक हो।

तपाईंहरुले प्रतिपक्षको भूमिका राम्ररी किन पूरा गर्न नसक्नुभएको?
महाधिवेशन भएपछि हाम्रो आन्तरिक विवाद समाधान हुन्छ। अनि अन्य कामबारेमा ध्यान दिन्छौं। महाधिवेशनपछि कांग्रेस अत्यन्त प्रभावशाली प्रतिपक्षको रुपमा प्रस्तुत हुन्छ।

पौडेल समूहको यस्तै असन्तुष्टि रह्यो भने महाधिवेशनलाई पनि त धक्का लाग्ला नि?
महाधिवेशनलाई कुनै ‘हेम्पर’ गर्दैन। मैले भनिहालेँ नि, वरिष्ठ नेताजीले पनि के मा अडान लिने विचार गर्नुपर्‍यो। पछिल्ला दिनमा रामचन्द्र दाइसँग सभापतिले गरेको छलफलमा म पनि बसेको छु। सभापतिले सहमति गर्न र मिलाएर लैजान खोज्नुभएको छ। कतिपय ठाउँमा हदैसम्म लचक भएर निर्णय गर्नुभएकै हो। तर, हलचलै हुन नदिएर बाँध्न खोज्नुभयो भने त गाह्रो हुन्छ नि त। हलचल गर्नै नदिनेगरी बाँध्ने कुरा गर्नुभएन। सभापतिले गर्न खोजेको कुरा गलत छ भने करेक्सन गरेर जानुपर्छ। पावर सेयरिङ गरेर जाने, मिलाएर जाने कुरामा सभापतिले सोच्नुपर्छ। होइन म गर्नै दिन्नँ भन्न मिल्दैन।

सभापतिले मिलाएर लैजान खोज्नुभएको हो। तर, उहाँहरुलाई कतिसम्म मिलायो भने हुने हो? उहाँहरुले सभापतिले गर्नै नसक्ने कुरा मात्रै अघि सारेको भए त कसरी हुन्छ? कामै गर्न नदिने प्रस्ताव गरिएको छ भने कसरी मान्न सकिन्छ? सभापतिले अभिभावकको भूमिका पूरा गर्दा अन्यले पनि त सोही अनुसारको काम गर्नुपर्ला नि। यो भनेर सभापतिको कमीकमजोरी छैन भन्न खोज्या होइन, उहाँका पनि कमजोरी छन् होला। तर, सभापतिलाई अभिभावक बन्न नदिएर आफैँ अभिभावक बन्न खोजेको भए? त्यहाँ त समाधान होइन झन् समस्या चर्किन्छ। पार्टी सभापतिसँग पावर सेयरिङ गर्ने कुरा गर्ने हो। तर, कामै गर्न नदिने होइन।

Ramesh_lekhak_2.jpg

कांग्रेस विवादबाट निस्कनै नसक्ने अवस्थामा पुगेको हो?
पार्टी महाधिवेशनमा अघि बढेको छ। सबै कुरा छोडेर महाधिवेशनमा सबै क्रियाशील बनौं। महाधिवेशनले सबै विषयको छिनोफानो गर्छ। त्यसले पार्टीको नीति बनाउँछ, कार्यक्रम बनाउँछ। अहिलेको विधानलाई स्वीकार गर्छ। अनि महाधिवेशनले नेतृत्व चयन गर्छ। त्यसोभए विवाद समाधान होला।

तपाईंले पावर सेयरिङको विषय उप्काउनुभयो। अन्य मुख्य पार्टीको शीर्ष नेतृत्वमा पनि एक जनाभन्दा बढी छन्। कांग्रेसमा पनि दुई सभापति वा अध्यक्ष बनाउनुपर्ने प्रस्ताव नेताहरुले गरेका छन्। आगामी महाधिवेशनले त्यस्तो व्यवस्था गर्ने सम्भावना छ?
एउटै सभापतिले त यस्तो हालत भएको छ, झन् दुई वटा भए भने त कस्तो हालत होला? त्यस्ता प्रस्ताव काम लाग्छ जस्तो मलाई लाग्या छैन। दुई वटा अध्यक्षले हाम्रो पार्टीमा काम गर्दैन। एक जना हुँदा पनि समस्या भएको छ, दुई वटा भए कसरी गर्नु?

कृष्ण सिटौलाले सभापतिको तयारी थाल्नुभएको छ। यसबारे के भन्नुहुन्छ?
उहाँले म उम्मेदवार छु भन्नुभएको होइन। उहाँ पहिलाको पनि उम्मेदवार हो। उम्मेदवार भइसक्नुभएको नेता फेरि बन्नु अनौठो कुरा होइन।

दुईजना महामन्त्री निर्वाचित हुने व्यवस्था भएको छ। देउवा क्याम्पबाट कस्तो तयारी छ?
त्यसबारेमा म अपडेट छैन। अहिले नै त्यसमा तयारी भइसकेको छैन। समय बाँकी छ, चर्चा त हुन्छ नै।

नवलपरासीमा देखिएको विवाद के हो?
यी सबै विषय छलफल गर्नुपर्ने छ। कुनै कुरामा केही नेताको चित्त बुझेको छैन, कुनै कुरामा कसैको चित्ता बुझेको छैन। त्यसकारण यी विवाद देखिएका छन्। यी सबै विषयको हल महाधिवेशनमै खोज्नुपर्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .