सत्तारुढ नेकपाले प्रदेश सभा अन्तर्गत बाग्लुङ २ (ख) मा राष्ट्रिय जनमोर्चासँग तालमेल गरेको छ र राजमोको तर्फबाट खिमविक्रम शाही साझा उम्मेदवार बनेका छन्।
तर नेकपाका स्थानीय नेता शेरमान घर्ती मगरले विद्रोह गर्दै उम्मेदवारी दर्ता गरेका छन्। घर्ती मगरको प्रस्तावकमा २०७४ मा नेकपा एमालेको तर्फबाट प्रदेशसभामा उम्मेदवारमा प्रस्तावित दधिराम आर्याल रहेका छन्। साबिक बोबाङ गाविसका अध्यक्ष घर्ती मगर गत स्थानीय निर्वाचनमा तात्कालिन माओवादी केन्द्रबाट ढोरपाटन नगरपालिकामा मेयरका लागि उम्मेदवार थिए। उनले १ हजार ४ सय मत प्राप्त गरेका थिए।
विद्रोही उम्मेदवार बनेका घर्ती भन्छन्, ‘मेरो चुनाव अभियान सुरु भैसक्यो, ९ देखि १० हजार मत ल्याएर चुनाव जित्छु।’
पार्टीले वाम गठबन्धन गरेर यो क्षेत्र राष्ट्रिय जनमोर्चाका लागि छाडेको निर्णय गर्दागर्दै तपाईंले किन बागी उम्मेदवारी दिनुभएको?
यस क्षेत्रमा नेकपा एक्लैले लड्दा पनि चुनाव जित्ने अवस्था छ। हामीले गठबन्धन गर्नु हुँदैन, अलग उम्मेवारी दिनुपर्छ भन्दै आएका छौं। तर हाम्रो माग सुनवाइ भएन। त्यसैले मैले उम्मेवारी दिएको हो।
राजमोसँग तालमेल गर्न किन समस्या?
एक्लै जित्ने अवस्था हुँदाहुँदै चुनावी तालमेलका नाममा पार्टीले हरेक पटक राजमोलाई छाड्दै आएको छ। कहिले परि थापाका लागि छाड्यौँ, कहिले चित्रबहादुर केसीलाई छाड्यौँ। यस्तो अवस्थामा नेकपाको पार्टी र मत जोगाउन पनि उम्मेवारी दिनु पर्ने भयो। त्यसैले मैले उम्मेदवारी दिएका हुँ। यसअघि राजमोलाई छोडेको भन्दैमा अहिले पनि यही क्षेत्र छाड्नु पर्ने? हामी चाहिँ मतदाता मात्रै बनिरहने?
पार्टीले साथ नदिए चुनावी अभियानलाई कसरी अघि बढाउनु हुन्छ?
चुनावी अभियान सुरु भैसक्यो। घरदैलो गर्नेछु। त्यो पनि सुरु भइसक्यो। जिल्ला तहमा यस विषयमा निकै उत्साहित हुनुहुन्छ। चुनाव अभियान लिएर गाँउगाउँ जाने छु। मैले व्यक्तिगत रुपमा होइन, कार्यकर्ताहरुको चाहनालाई प्रतिनिधित्व गर्दै उम्मेदवार दिएको हुँ।
पार्टीका जिल्ला तथा केन्द्रका नेताहरु नै तपाईंले उम्मेदवारी फिर्ता लिनुहुन्छ भन्दैछन् नि?
म केन्द्रले चाहेर उम्मेवार भएको होइन। स्थानीय आवश्यकताले उम्मेदवारी दिएको हुँ। जिल्ला कमिटीका नेताहरुको साथ मलाई छ। उहाँहरु मेरो उम्मेदवारीबाट खुसी पनि हुनुहुन्छ। कार्यकर्ता र जनताको चाहनाको उपेक्षा गर्नु खतरनाक हुन्छ। हामी रातदिन पार्टी विस्तार गर्न भनेर लाग्छौं। तर, भोट अर्को पार्टीलाई दिन्छौँ। हामी खाली मतदाता मात्रै भएर बस्ने कि नेता पनि हुने भन्ने कुरा हो।
जित्नु हुन्छ त चुनाव?
९ देखि १० हजार मत ल्याएर चुनाव जित्छु।
तपाईंको प्रतिस्पर्धा कोसँग हो?
मेरो प्रतिस्पर्धा नेपाली कांग्रेसका उम्मेदवारसँग हो।
प्रतिक्रिया