राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले मुलुकमा ब्याप्त भ्रष्टाचार, विकृति र बिसंगतिविरुद्ध अभिमत प्रकट गर्न उपनिर्वाचनमा राप्रपालाई सघाउन जनता समक्ष आग्रह गरेका छन्।
बिहीबार कास्की–२ को मनोनयन दर्ता गर्नुअघि आयोजित सभालाई सम्बोधन गर्दै अध्यक्ष थापाले मुलुकको राष्ट्रियता संकटमा रहेको, प्रजातन्त्रमाथि कालो बादल लागेको भन्दै मुलुकको स्वाधीनताको रक्षाको लागि राष्ट्रवादी शक्तिलाई जनताले छनौट गर्नुपर्ने बताए।
एक सिटको कारण अहिले मुलुकको राजनीतिक समीकरणमा ठूलो फरक नपरे तापनि पोखरेली जनताले दिने सन्देश महत्वपूर्ण हुने बिचार ब्यक्त गरे। भ्रस्टाचारले मुलुक थिलथिलो भएको, युवा जति मलेसिया र खाडी मुलुक भासिएको, शान्ति सुरक्षा कमजोर रहेको, आर्थिक विकास गफमा सीमित भएको भन्दै थापाले अकर्मण्यतालाई चेतावनी दिने जनताले पार्टी राजनीतिभन्दा माथि उठेर निर्णय गर्नुपर्ने आवश्यकता औल्याए।
सत्ता र शक्तिको निमित्त आत्मसमर्पणवादी मानसिकता हाबी भएकोमा थापाले चिन्ता प्रकट गरे।
कार्यक्रममा कास्की–२ का उम्मेदवार रोमबहादुर भण्डारीले कास्कीका जनताको माया र विश्वास पाए इमान्दारीपूर्वक काम गर्ने प्रतिबद्धता ब्यक्त गरे।
उम्मेदवारी दर्ता गर्न जानुअघि अध्यक्ष थापाले भण्डारीलाई बधाई शुभकामना दिँदै दुबोको माला लगाईदिएका थिए। र्यालीमा पार्टीका नेताहरु राजीव पराजुली, तोरण गुरुङ, हेमजंग गुरुङ, चन्द्रबहादुर गुरुङ, मदन कार्की, राजाराम बर्तौला लगायतका नेताहरु सहभागी थिए।
प्रतिक्रिया