चीनले आफ्नो मानवरहित अन्तरिक्ष यान पृथ्वीबाट नदेखिने चन्द्रमाको एउटा भागमा अवतरण गरेको जनाएको छ।
बीबीसीका अनुसार यो चन्द्रमाको क्षेत्र हो, जहाँ यसअघि कोही गएका छैनन् र कसैले त्यहाँ जाने प्रयास पनि गरेका छैनन्।
चाइना नेसनल स्पेस एडमिनिस्ट्रेसन (सीएनएसए) ले विज्ञप्ति जारी गरी भनेको छ- बेइजिङको समयानुसार बिहान ६:२३ मा चाङ–इ–६ विमान चन्द्रमाको दक्षिणी ध्रुवनजिकै आइटकेन बेसिनमा अवतरण गर्न सफल भएको छ ।
चीनले मे ३ मा यो अभियान सुरु गरेको थियो। यस अभियानको उद्देश्य चन्द्रमाको यस भागबाट चट्टान र माटो संकलन गरी पृथ्वीमा ल्याउनु हो।
यो मिसनले चन्द्रमाको सबैभन्दा पुरानो चट्टान संकलन गर्न सक्छ। चन्द्रमाको दक्षिणी ध्रुवमा एउटा ठूलो क्रेटर छ, जहाँ यो गाडी अवतरण भएको छ।
यो अभियानअघि धेरै कठिनाइ थिए। चन्द्रमाभन्दा पर पुगेपछि अन्तरिक्ष यानसँग सम्पर्क गर्न गाह्रो हुन्छ।
चीन चन्द्रमाको दक्षिणी ध्रुवमा अन्तरिक्ष यान अवतरण गराउन सफल विश्वको पहिलो देश बनेको छ।
चीनले सन् २०१९ मा चाङ–ई–४ अन्तरिक्ष यान यहाँ अवतरण गरेको थियो।
Shares
प्रतिक्रिया