भारतीय राज्य छत्तीसगढको बस्तरमा भारतीय माओवादीहरूले भाजपा नेताको हत्या गरेका छन्। छत्तीसगढ यही अप्रिल १९ मा लोकसभा चुनावका लागि मतदान हुँदै छ।
प्रहरीका अनुसार नारायणपुरको फरासगाउँ निवासी पञ्चमदास माणिकपुरीको गएराति माओवादीले हत्या गरेका हुन्। ढोका तोडेर भित्र पसेका उनीहरूले बञ्चरो प्रहार गरी माणिकपुरीको घटनास्थलमै हत्या गरेको प्रहरीले जनाएको छ।
मंगलबार नै सुरक्षा बलले छत्तीसगढकै काङ्केरमा भएको भिडन्तमा २९ माओवादी मारिएको दाबी गरेको थियो।
पञ्चम दास माणिकपुरी प्रहरीको गोप्य सिपाहीका रूपमा कार्यरत रहेकाले जनमुक्ति छापामार सेनाले मारेको आरोप लगाउँदै संदिग्ध माओवादीहरूले घटनास्थलमा पर्चा फालेका छन्।
बस्तरमा गत वर्ष माओवादीले भारतीय जनता पार्टीका आठ नेताको हत्या गरेको बीबीसी हिन्दीले जनाएको छ।
चुनावका बेला माओवादीको आक्रमण बढ्छ। गत लोकसभा चुनावका क्रममा बस्तरमा प्रचार गर्न गएका भाजपा विधायक भीमा माण्डवी र उनका सहकर्मीको माओवादीहरूले हत्या गरेका थिए।
Shares
प्रतिक्रिया