गैरआवासीय नेपाली संघ (एनआरएनए)को अध्यक्ष पदमा कुल आचार्यले उम्मेदवारी घोषणा गरेका छन्।
मंगलबार साँझ लन्डनमा सभा गर्दै उनले एनआरएनएको अध्यक्षका लागि उम्मेदवारी घोषणा गरेका हुन्।
बेलायतमा लामो समयदेखि व्यवसाय गर्दै आएका आचार्य (एनआरएनए)का निवर्तमान उपाध्यक्ष हुन्।
घोषणा सभामा बोल्दै आचार्यले गैरआवासीय नेपाली नागरिकका लागि छुट्टै राहदानी उपलब्ध गराउन पहल गर्ने कुरामा जोड दिए। उनले भने ‘गैरआवासीय नेपाली नागरिकता प्राप्ति प्रक्रियालाई सरल र छिटोछरितो बनाउन म लाग्नेछु।’
गैरआवासीय नेपालीहरूको सम्पत्ति नेपालमा सुरक्षित हुनुपर्ने उनको माग छ। उनले भने, ‘हाम्रो सम्पत्ति गैरआवासीय नेपाली नागरिकता पाएपछि पनि सुरक्षित हुनेछ भन्ने कुरा प्रस्ट पार्न चाहान्छु।’
उनले भूतपूर्व गोर्खा सैनिकहरूको मागमा आफ्नो पूर्ण समर्थन रहेको बताए। बेलायतमा रहेका भूतपूर्व गोर्खा सैनिकहरूको नेपाली नागरिकता कायमै रहने निर्णय गर्न नेपाल सरकार तथा प्रमुख दलहरूसँग पहल गर्ने प्रतिबद्धता पनि उनले व्यक्त गरे ।
गैरआवासीय नेपालीहरूसँग रहेका स्रोत, सीप र क्षमताको सही उपयोग गरे नेपालको सामाजिक तथा आर्थिक उन्नतिका लागि लाभदायक हुने उनको भनाइ छ। बौद्धिक तथा आर्थिक लगानी देशमा भित्र्याउन ठोस कार्ययोजनासहित अघि बढ्ने उनले बताए।
आचार्यले सरकारले घोषणा गरेको पर्यटन वर्ष २०२० लाई सफल बनाउन नेपाल सरकार र पर्यटन बोर्डसँग समन्वय गरी धेरैभन्दा धेरै पर्यटक भित्र्याउन आफूले पहल गर्ने बताए।
Shares
प्रतिक्रिया