पछिल्ला केही दिनयता कोरोना संक्रमण प्रतिदिन बढ़्दै गएपछि सिक्किम सरकारले राज्यमा आउँदो सोमबार (१७ मइ) देखि २४ सम्म एक साता लकडाउन गर्ने निर्णय गरेको छ।
आज मुख्यमन्त्री पीएस गोलेको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकमा यस्तो निर्णय लिइएको हो।
लकडाउनअवधिमा केवल दूध र औषधि पसल मात्र खुल्ला रहनेछन्, जबकि अन्य पसलहरूलगायत राशन र सब्जी दोकानसमेत पूर्ण बन्द रहने बताइएको छ।
अर्कोतिर, लकडाउनअवधि टीकाकरण (खोप)को कार्य भने जारी रहनेछ।
कोरोना संक्रमणको दोस्रो लहरले सिक्किममा जटिल परिस्थिति सिर्जना गरेपछि राज्य सरकार लकडाउन गर्ने निर्णयमा पुगेको हो।
त्यसै त सिक्किममा पछिल्ला एक सातादेखि अन्तर्राज्य र अन्तर्जिल्ला आवागमन ठप्प राखिएको छ। यद्यपि अत्यावश्यक सेवाहरूलाई खुल्ला राखिएको छ।
उल्लेखनीय छ, केही दिनयता सिक्किममा कोरोना संक्रमण प्रतिदिनजस्तै बढ्दै गइरहेको छ। आजै मात्र राज्यमा कोरोना संक्रमणका २१२ नयाँ मामिला पुष्टि भएको छ, जबकि ६ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन्।
आज पुष्टि भएका संक्रमणका नयाँ मामिलामध्ये पूर्वसिक्किमबाट १५५, पश्चिम सिक्किमबाट १०, दक्षिण सिक्किमबाट ४० र उत्तर सिक्किमबाट ७ रहेका छन्।
प्रतिक्रिया