सन् २०१७ मा दार्जिलिङमा चर्किएको गोर्खाल्यान्ड आन्दोलनपछि भूमिगत अवस्थामा रहेका विमल गुरुङले आज दार्जिलिङको तराई भाग सिलगढ़ीमा ग्रान्ड एन्ट्री गरे।
भारतीय जनता पार्टीसँग १२ वर्षे गठबन्धन तोड़ेर बङ्गालकी मुख्यमन्त्री ममता ब्यानर्जीसँग मिलेपछि गुरुङको दार्जिलिङ फर्काइ सम्भव बनेको हो।गुरुङसँगै भूमिगत अवस्थामा रहेका उनका कार्यकर्ताहरू पनि घर फर्किएका छन्।
आज विमल गुरुङकै स्वागतका लागि सिलगढ़ीको गान्धी मैदानमा एक जनसभा आयोजन गरिएको थियो।
जनसभालाई सम्बोधन गर्दै उनले दार्जिलिङलगायत उत्तर बङ्गालमा भारतीय जनता पार्टीलाई हराउने प्रतिबद्धता दोहोऱ्याए।
उनले भने, ‘प्रधानमन्त्री नरेन्द्र मोदीले गोर्खाको सपना मेरो सपना हो, यो सपनालाई पूरा गर्छु भनेका थिए। तर, त्यो सपना सपनै रह्यो। विपना हुनसकेन। भाजपा र मोदीलाई चुनौती दिएरै विमल गुरुङले थपे, २०२१ मा चुनाउ गोर्खाअघि भोट माग्न आउनुछ भने ११ जातगोष्ठीलाई जनजातिको मान्यता दिएको हुनुपर्छ। नत्र तिम्रो (भाजपाको) हरेक जनसभामा यो विमल गुरुङले फलाम भएर त्यसको जवाफ दिएको हुनेछ।’
भाजपालाई हराउनकै लागि ममता ब्यानर्जीलाई आउँदो विधानसभा चुनाउमा जिताउनुपर्ने उनले आफ्ना कार्यकर्ताहरूलाई आह्वान गरे। गुरुङका अनुसार उनी एक साताभित्र आफ्नो घर (दार्जिलिङ) चढ़्नेछन्।
साथै दार्जिलिङ, कालेबुङ, खरसाङ र मिरिकसहित तराई डुवर्समा लगातार उनले जनसभा गर्नेछन्।
अर्कोतिर विमल गुरुङले भाजपाका दार्जिलिङ सांसद राजु बिष्टको राजीनामाको पनि माग गरे। बिष्ट ज्यादा बोलेकै कारण काम बिग्रेको विमलको ठम्याइ छ। भाजपाले राजु बिष्टलाई पार्टीका राष्ट्रिय प्रवक्ता बनाएकाले अब गोर्खाहरूको पक्षमा बोल्न सक्नेछैनन्।
उल्लेखनीय छ, गोर्खाल्यान्ड आन्दोलनकारी विमल गुरुङ र उनका सयौँ कार्यकर्ता पछिल्ला गोर्खाल्यान्ड आन्दोलनपछि भूमिगत अवस्थामा थिए।
आन्दोलनकालमा हिंसात्मक गतिविधिमा संलग्न भएको भन्दै उनीहरूमाथि ममता सरकारले विभिन्न मुद्दा थोपेको छ। अहिले ममतालाई विमलले आउँदो चुनाउमा सहयोग गर्ने भएपछि यी मुद्दाहरूबाट उनीहरूले राहत पाउने भएका छन्।
उल्लेखनीय छ, बङ्गालमा भाजपाको जनाधार ह्वात्तै बढ़ेपछि सत्ता जोगाउने ममताअघि ठूलो चुनौती छ।
दार्जिलिङमा मात्र होइन तर डुवर्सका गोर्खा बाहुल क्षेत्रमा पनि विमल गुरुङको ठूलो प्रभाव छ।
यसैले विमल गुरुङको पार्टी र तृणमूल कङ्ग्रेस मिलेर उत्तर बङ्गालमा भाजपालाई हराउने रणनीतिअन्तर्गत् यी दुई पार्टीले कार्य गर्न सुरू गरिसकेको छ। किनभने उत्तर बङ्गालमा भाजपाको जनाधार धेरै बढ़ेको छ।
प्रतिक्रिया