ad ad

ग्लोबल


इरान र पाकिस्तानले एकअर्काको भूमिमा किन गर्दैछन् आक्रमण?

गाजा युद्धसँग इरान–पाकिस्तान तनावको सम्बन्ध
इरान र पाकिस्तानले एकअर्काको भूमिमा किन गर्दैछन् आक्रमण?

नेपालखबर
माघ ४, २०८० बिहिबार १६:३,

पाकिस्तान र इरानले हालै एकअर्काको भूमिमा आक्रमण गरेका छन्। पश्चिम एसियामा जारी युद्धको बाछिटा त्यसबाहिरसम्म परिरहेका बेला यी दुई छिमेकीबीचको तनाव अभूतपूर्व रुपमा बढेको हो।

यी दुई मुलुकबीच करिब ९०० किमि लामो अशान्त सीमा छ। सीमाको एकातिर पाकिस्तानको बलोचिस्तान प्रान्त पर्छ भने अर्कोतिर इरानको सिस्तान र बलुचिस्तान प्रान्त।

सीमावर्ती बलोच क्षेत्रमा दुवै मुलुक लामो समयदेखि लडाकु समूहहरूसँग जुध्दै आएका छन्। दुवै मुलुकले एउटै पृथकतावादी समूहको सामना गरिरहेका छन्। तर, दुवै पक्षले एकअर्काको भूमिमा लडाकुविरुद्ध आक्रमण गर्नु भने असाधारण घटना हो।

पछिल्लो आक्रमण भने गाजा युद्धको माझमा इरानको सहयोगमा सञ्चालित समूहहरूले इजरायली सेना र उसका सहयोगीमाथि आक्रमण गरिरहेकै बेला भएको छ।

यसबारे जान्न जरुरी कुरा यसप्रकार छन्।

के भयो?
यसको सुरुवात मंगलबार भयो। त्यो दिन इरानले पाकिस्तानको बलोचिस्तान प्रान्तमा आक्रमण गर्‍यो। जसमा दुई बालबालिका मारिएको र अरु कयौँ घाइते भएको पाकिस्तानी अधिकारीहरूको भनाइ छ।

आफूले ‘पाकिस्तानी भूमिमा इरानी आतंकवादीहरूलाई मात्र लक्षित गरेको’ इरानको दाबी छ।

तर, सो आक्रमणले पाकिस्तानमा ठूलो आक्रोश पैदा गर्‍यो। यसलाई उसले ‘अन्तर्राष्ट्रिय कानुन र पाकिस्तान र इरानबीचको सम्बन्धको भावको घोर उल्लंघन’ भन्यो।

इरानको सरकारनजिकको तस्निम न्युज एजेन्सीका अनुसार इरानले सुन्नी लडाकु समूह जैस अल अदलको शिविरमा हमला गरेको थियो।

यो पृथकतावादी समूह इरान–पाकिस्तान सीमाको दुवैतिर सञ्चालित छ। यसअघि इरानमाथि भएका केही आक्रमणको जिम्मा पनि सो समूहले लिएको छ। यसको अन्तिम लक्ष्य भनेको इरानको सिस्तान र बलुचिस्तान प्रान्तको स्वतन्त्रता हो।

आणविक शक्तिसम्पन्न पाकिस्तान सुन्नी बहुसंख्यक मुलुक हो भने इरान सिया बहुसंख्यक।

यसको बदला पाकिस्तानले दुई दिनपछि लियो। सिस्तान र बलुचिस्तानमा पृथकतावादीहरू लुक्ने स्थानमा ताकेर सटीक सैन्य आक्रमण गरिएको पाकिस्तानको भनाइ छ।

बिहीबार आक्रमणको घोषणा गर्दै पाकिस्तानी विदेश मन्त्रालयले कयौँ लडाकुहरू मारिएको दाबी गर्‍यो। इरानी अधिकारीहरूले शृंखलाबद्ध विस्फोटमा शृंखलामा तीन महिला र चार बालबालिकासहित सात जनाको ज्यान गएको बतायो।

आफूहरूले वर्षौंदेखि गुनासो गर्दै आए पनि इरानले लडाकुहरूलाई प्रश्रय दिइराखेको र अन्ततः आफैँले कारबाही गर्नुपरेको पाकिस्तानको भनाइ छ।

अहिले नै किन?
पाकिस्तान र इरान दुवै पृथकतावादी समूहबाट हैरान रहेको कुरा नयाँ होइन।

ती समूहसँग सीमा क्षेत्रमा घातक भिडन्त हुने गरेको थियो। गत महिना मात्र सिस्तान र बलुचिस्तानमा जैस अल अदल समूहले प्रहरी चौकीमा आक्रमण गरेको बताएको थियो। जसमा ११ प्रहरी अधिकारी मारिएका थिए।

तर, आसमान्य कुरा के हो भने यतिबेला आएर दुवै पक्ष एकअर्काको भूमिमा आक्रमण गर्न उद्धत् देखिएका छन्। त्यो पनि एकअर्कालाई सूचना नदिई। 

र, यो सबै त्यसबेला भइरहेको छ, जतिबेला इजरायलले गाजामाथि भीषण आक्रमण गरिरहेको छ। जुन युद्धले सो क्षेत्रलाई नै प्रभावित तुल्याएको छ।

क्षेत्रीय द्वन्द्वले इरानलाई आफ्नो सीमाभन्दा पर पनि निसाना लगाउन उक्साएको हुनसक्ने विज्ञहरू बताउँछन्। खासगरी अमेरिका शत्रुता कम गर्ने र आफ्नो शक्ति प्रदर्शन गर्नेबीचको दोधारमा रहँदा।

पाकिस्तानमा आक्रमण गर्नुअघि इरानले इराक र सिरियामा हवाई आक्रमण गरेको थियो। जहाँ इजरायलको जासुसी अखडा रहेको उसको दाबी छ।

यतिबेलै इजरायल र इरान समर्थित हेजबुल्लाह समूहबीच लेबनानको सीमा वारपार भीषण लडाइँ चलिहरेको छ। अर्कोतिर अमेरिकाले इरानकै समर्थन पाएको हुथी विद्रोहीमाथि यमनमा आक्रमण गरिरहेको छ। हुथीले लाल सागरमा जहाजमाथि आक्रमण गरेको बदलामा अमेरिकाले यमनमाथि बमबारी गरेको हो।

‘इरान र उसका प्रोक्सीलाई दोषी ठहर नगर्ने हो भने ती गतिविधि गरिराख्दा उनीहरूलाई कुनै घाटा छैन,’ कार्नेगी एन्डाउमेन्ट फर इन्टरनेसनल पिसका अध्येता करिम सदजादपोर भन्छन्। 

द्वन्द्वले खोक्रो भएका मुलुकहरूको क्षेत्रमा तनाव बढ्दा इरानलाई फाइदा हुने उनले बताए। इरानका गतिविधिले प्यालेस्टिनीहरूलाई बलियो बनाउने र पश्चिम एसियामा अमेरिकी प्रभाव घटाउने इरानको लक्ष्यलाई फाइदा हुने पनि उनले बताए।

नेटो सेनाका पूर्वकमान्डर तथा अवकाशप्राप्त अमेरिकी सेनाका जर्नेल वेज्ली क्लार्क यी अनेक दुश्मनीले यो क्षेत्रको नेता बन्ने इरानको महत्वाकांक्षालाई प्रदर्शित गर्ने बताउँछन्।

‘इरान क्षेत्रीय प्रभुत्व कायम गर्न खोजिरहेको छ,’ उनले भने, ‘र, जब अमेरिका र इजरायल त्यहाँ छन् र इजरायलले हमासविरुद्ध आक्रमण गरिरहेको छ, तब इरानले आफूलाई दृढतापूर्वक उभ्याउन पनि प्रत्याक्रमण गर्न आवश्यक ठान्छ।’

के हो सीमाक्षेत्रको द्वन्द्व?
बलोच वा बलुच जातिका मानिसहरू पाकिस्तान, अफगानिस्तान र इरानको सीमा जोडिएको क्षेत्रमा बस्छन्। लामो समयदेखि तिनले स्वतन्त्रताको इच्छा प्रकट गर्दै आएका छन्। तिनले इस्लामाबाद र तेहरान दुवैको शासनको चर्को विरोध गरिरहेका छन्। सोही कारण सीमा क्षेत्रमा दशकौँदेखि विद्रोहका घटना हुँदै आएका छन्।

उनीहरू बस्दै आएको क्षेत्र प्राकृतिक रुपले सम्पन्न मानिन्छ। जहाँ पछिल्ला वर्षहरूमा घातक आक्रमण हुने गरेको छ। राज्यले खनिज स्रोत शोषण गरेको र त्यसमा एकाधिकार लादेको भन्दै तिनले अलग राज्यको माग गर्दै आएका छन्।

इरानले कुर्द, अरब र बलोच अल्पसंख्यकको विद्रोह सामना गर्दै आएको छ। इरानभित्र सञ्चालित अनेक पृथकतावादी समूहमध्ये जैस अल अदल एउटा समूह हो। सुरुमा यो समूह यसअघिको ठूलो सुन्नी समूह जुन्दल्लाहको एउटा हिस्सा थियो। तर, त्यसका नेतालाई इरानले २०१० मा मारिदिएपछि यो समूह अलग भएको थियो।

यसलाई अमेरिकाले आतंकवादी समूह घोषणा गरेको छ। यो समूहले इरानी सुरक्षाकर्मी, सरकारी अधिकारी र सिया सर्वसाधारणलाई निसाना बनाउने गर्छ।

बुधबार इरानले पाकिस्तानमाथि आक्रमण गरेको भोलिपल्ट सो समूहले इरानको सिस्तान र बलुचिस्तानमा भएका हमलाहरूको जिम्मेवारी लिएको थियो।

अब के होला?
मंगलबारको इरानी आक्रमणपछि पाकिस्तानसँग कूटनीतिक किचलो पनि सुरु भएको छ। पाकिस्तानले इरानबाट आफ्नो राजदूत बोलाएको छ भने इरानबाट हुने सबै उच्चस्तरीय भ्रमण निलम्बन गरेको छ।

पाकिस्तानको आक्रमणपछि इरानले ‘तुरुन्त जवाफ’ माग गरेको छ।

यी घटनाप्रति वरिपरिका मुलुकले पनि प्रतिक्रिया जनाएका छन। भारतले आफूहरूको ‘आतंकवादप्रति शून्य सहनशीलताको नीति’ रहेको भन्दै यो किचलो इरान र पाकिस्तानको आपसी मामिला भएको जनाएको छ। 

चीनले दुवै पक्षलाई संयम अपनाउन र थप तनाव नचर्काउन आग्रह गरेको छ।

बुधबार अमेरिकी विदेश मन्त्रालयका प्रवक्ता म्याट मिलरले मध्यपूर्वमा ठूलो स्तरको द्वन्द्व फैलिन नदिने प्रयास अमेरिकाले गरिरहेको बताए।

पाकिस्तानले तत्काल इरानी भूमिमा आक्रमण गरेपछि उसले कूटनीतिक मात्र होइन, सैन्य तरिकाले पनि जवाफ दिने फैसला गरेको देखिन्छ।

तर, दुवैले दुश्मन मानेको पृथकतावादी समूहका कारण इरान वा पाकिस्तान शत्रुता साँध्न इच्छुक  छन् या छैनन्, स्पष्ट छैन।

दुवै पक्षले आक्रमणपछि विज्ञप्ति जारी गर्दै तनाव थप चर्काउन नचाहेको बताएका छन्।

पाकिस्तानको विदेश मन्त्रालयले इराजनलाई ‘भ्रातृ मुलुक’ भन्दै संयुक्त समाधान खोज्न आवश्यक रहेको बताएको छ।

इरानले पनि सोही भाव व्यक्त गरेको छ। इरानी विदेश मन्त्रालयले यसअघि पाकिस्तानलाई ‘हितैषी मुलुक’ भन्दै आफ्नो निसानामा लडाकुहरूविरुद्ध मात्र लक्षित रहेको जनाएको थियो। सीएनएन

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .