ad ad

ग्लोबल


आफ्ना पूर्व वकिलविरुद्ध ट्रम्पले हाले मुद्दा, ५० करोड डलर क्षतिपूर्तिको माग

आफ्ना पूर्व वकिलविरुद्ध ट्रम्पले हाले मुद्दा, ५० करोड डलर क्षतिपूर्तिको माग

नेपालखबर
चैत ३०, २०७९ बिहिबार ८:३५, काठमाडौँ

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्ना पूर्व वकिलविरुद्ध मुद्दा दायर गरेका छन्। पूर्व वकिल माइकल कोहेनले आफूसँगको सम्झौता उल्लंघन गरेको भन्दै उनले ५० करोड डलर क्षतिपूर्तको माग गर्दै मुद्दा दायर गरेका हुन्।

बुधबार फ्लोरिडाको संघीय अदालतमा दायर गरिएको मुद्दामा कोहेनले सार्वजनिक बयान, अन्तर्वार्ता, पुस्तक र मिडियामार्फत आफ्नो बारेमा अफवाह फैलाकएको आरोप लगाइएको छ। एक कानून व्यवसायीका रूपमा आफूसँग जोडिन आउने ग्रहकको हितमा काम गर्नुपर्नेमा कोहेनले आफ्नो कर्तव्य उल्लंघन गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको आरोप उनले लगाएका छन्।

वकिल कोहेनमार्फत अमेरिकी पोर्नस्टार स्टोर्मी ड्यानियल्सलाई आफ्नो सम्बन्धबारे चुप बस्न सन् २०१६ को चुनावअघि १ लाख ३० हजार अमेरिकी डलर दिएकोसहित ३४ मुद्दामा ट्रम्पविरुद्ध मुद्दा अदालतमा विचाराधीन छ।

कोहेनले 'डिसलोयल: अ मेमोयर' नामक आफ्नो पुस्तकमा ट्रम्प नश्लवादी नेता भएको आरोप लगाएका थिए। उक्त पुस्तकमार्फत उनले ट्रम्पका कतिपय गोप्य विवरण पनि सार्वजनिक गरेका थिए।

मुद्दा परेपछि कोहेनका प्रवक्ता तथा वकिल ल्यानी डेभिसले आफूहरू विचलित नभएको बताएका छन्। बीबीसीसँगको संवादमा उनले भनेका छन्, 'कोहेन विचलित हुनेछैनन्, तथ्य र कानूनमाथि हामीलाई विश्वास छ, मुद्दा असफल हुनेछ,' उनले भनेका छन्।

कोहेनले दशकभन्दा लामो समय ट्रम्पको कानूनी सल्लाहकार भएर काम गरेका थिए। उनी ट्रम्प अर्गनाइजेसनका उपाध्यक्ष पनि थिए भने उनलाई ट्रम्पका सहयोगीका रूपमा पनि चिनिन्थ्यो। 

तर सन् २०१६ को निर्वाचनपछि उनीहरूको सम्बन्धमा दरार आएको थियो।

सन् २०१८ मा कोहेनलाई पदको दुरुपयोग गरी व्यक्तिगत विवरण सार्वजनिक गरेको र आर्थिक अपचलन गरेको आरोपमा जरिवानासहित ३ वर्षको जेल सजाय पनि सुनाइएको थियो।

सन् २०२१ मा जेलबाट छुटेपछि कोहेन ट्रम्पका कट्टर आलोचक बनेका थिए। उनले ट्रम्पविरुद्ध आफ्नो पुस्तकमा पनि लेखेका छन्। ट्रम्पको आलोचकका रूपमा धेरै अन्तर्वार्तामा पनि उनलाई अतिथि बनाएर बोलाइएको छ।

कोहेनले पुस्तक र मिडियामार्फत आफूविरुद्ध झूटा कुराहरू प्रचार गरेको आरोप लगाएका छन्।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .