भारतको बिहारस्थित बेगुसाराईमा १३ करोड भारु लगानीमा बनेको नयाँ पुल उद्घाटन नहुँदै भत्किएको छ।
भारतीय समाचार संस्था एएनआईका अनुसार बुर्हि गण्डक नदीमाथि बनेको पुल सोमबार उद्घाटन हुने कार्यक्रम थियो। तर आइतबारै उक्त पुल भत्किएको हो।
सहेबपुरमा बनाइएको २०६ मिटर लामो उक्त पुलको दोस्रो र तेस्रो पिलरबीचको भाग पूर्णरुपमा भत्किएको छ। त्यस्तै बाँकी भागमा पनि चिराहरु देखिएको छ। स्थानीय प्रशासनका अनुसार यो पुल भत्किँदा पुलमा कोही पनि थिएनन्।
यो पुल यसै वर्ष बनेको हो। यद्यपि सडकको पहुँच नपुगेको कारण यसको उद्घाटन भने हुन सकेको थिएन। भारतको मुख्यमन्त्री कृषि तथा ग्रामीण विकास राष्ट्रिय बैंक (नाबार्द) योजनाअनुसार यो पुल बनाइएको हो।
स्थानीय प्रशासनले पुल कसरी भत्कियो भन्ने विषयमा अनुसन्धान भइरहेको बताएको छ।
गत अक्टोबरमा भारतको गुजरातमा शताब्दी लामो झोलुङ्गे पुल मोर्बीस्थित माच्छु खोलामा खस्दा समग्रमा १३४ जनाको मृत्यु भएको थियो।
Shares
प्रतिक्रिया