उत्तर कोरियालाई तर्साउन अमेरिकाले आणविक हतियार प्रहार गर्नसक्ने बमवर्षक विमान र अत्याधुनिक लडाकु जेट कोरियाली प्रायद्वीपमा उडाएको छ।
मंगलबार अमेरिकी सेनाले दक्षिण कोरियाली विमानहरुसँगै आफ्नो बी–५२ बमवर्षक विमान र एफ–२२ स्टिल्थ लडाकु विमान उडाएर सैन्य अभ्यास गरेको हो। अमेरिकासँग उपलब्ध आणविकसहित सबै माध्यमले दक्षिण कोरियाको रक्षा गर्ने सहमतिअनुरुप सो अभ्यास गरिएको दक्षिण कोरियाली रक्षा मन्त्रालयले जनाएको छ।
सो अभ्यासमा दक्षिण कोरियाका तर्फबाट एफ–३५ र एफ–१५ विमान पनि सहाभगी थिए। जेजु टापुको दक्षिणपश्चिम क्षेत्रमा सो अभ्यास गरिएको थियो।
अमेरिकी एफ–२२ यो साताभर दक्षिण कोरियामै रहने बताइएको छ।
पछिल्लो समय अमेरिका र दक्षिण कोरियाले संयुक्त सैन्य अभ्यास बढाउँदै लगेका छन्। उनीहरुलाई चेतावनी दिँदै यो वर्ष उत्तर कोरियाले हालसम्मकै धेरै क्षेप्यास्त्र परीक्षण गरिसकेको छ।
आइतबार मात्रै उत्तर कोरियाले पहिलो सैन्य स्याटलाइट विकासका लागि परीक्षण स्याटलाइट प्रक्षेपण गरेको दाबी गरेको थियो। एजेन्सी
Shares
प्रतिक्रिया