ad ad

ग्लोबल


चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वपंक्तिमा सोचिएभन्दा ठूलो परिवर्तन हुँदै

स्थायी समितिका चार सदस्य फेरिँदै, वाङ याङ प्रधानमन्त्री बन्ने सम्भावना
चिनियाँ कम्युनिस्ट पार्टीको नेतृत्वपंक्तिमा सोचिएभन्दा ठूलो परिवर्तन हुँदै

नेपालखबर
कात्तिक १, २०७९ मंगलबार १६:३१, काठमाडौँ

चिनियाँ कम्युनिस्ट पार्टीको जारी २० औँ महाधिवेशनले नेतृत्वपंक्तिमा अपेक्षा गरिएभन्दा ठूलो परिवर्तन गर्ने देखिएको छ। नेतृत्व हेरफेर गर्ने यो प्रक्रियामाथि अभूतपूर्व रुपमा तेस्रो कार्यकाल सुरु गर्न लागेका राष्ट्रपति सी चिनफिङको पूर्ण नियन्त्रण देखिएको छ। 

पार्टीको सात सदस्यीय स्थायी समितिमा चार जनाजति सदस्य फेरिन सक्छन्। त्यस्तै केन्द्रीय समितिमा आधाजति परिवर्तन हुनसक्छन्।

महाधिवेशन सकिएको भोलिपल्ट आउँदो आइतबार यसको नतिजा सार्वजनिक हुनेछ। अक्टोबर २२ का दिन ९ करोड ७० लाख सदस्य भएको यो विशाल पार्टीको नयाँ केन्द्रीय समिति चयन हुनेछ। त्यसको भोलिपल्ट केन्द्रीय समितिको पूर्ण बैठकले २५ सदस्यीय पोलिट्ब्युरो र स्थायी समिति अनुमोदन गर्नेछ। 

चिनियाँ राजनीतिमा महत्वपूर्ण निर्णयहरु औपचारिक बैठकअघि नै लिइने गरिन्छ र बैठकमार्फत तिनलाई अनुमोदन गरिन्छ। 

अपेक्षाअनुरुप नै सी तेस्रो पटकका लागि पार्टी महासचिवमा चयन हुने छन्। स्थायी समितिका सातमध्ये चार सदस्यले अवकाश पाउँदैछन्। ती रिक्त स्थानमा सीले नयाँ नेताहरुलाई बढुवा गर्नेछन्।

राष्ट्रिय जनकंग्रेस (संसद) का अध्यक्ष ली चान्सु, ७२ र उपप्रधानमन्त्री हान चेङ विदा हुने तर्खरमा छन्। किनभने उनीहरुले अवकाशको अनौपचारिक उमेर ६८ वर्ष पार गरिसकेका छन्।

प्रधानमन्त्री ली खछ्याङ ६७ वर्ष पुगे। उनले अवकाश पाउन अझै एक वर्ष बाँकी छ। तर, संविधानअनुसार दुई कार्यकाल मात्र प्रधानमन्त्री बन्न पाउने हुनाले उनले सो पद छाड्नै पर्छ।

पार्टीको वरीयतामा दोस्रो स्थानमा रहेका लीसँग स्थायी समितिमा रहेरै अर्को संसदको अध्यक्षजस्तो अर्को कुनै पद सम्हाल्ने विकल्प पनि छ। तर, स्रोतहरुका अनुसार उनले पूर्ण अवकाश रोज्ने सम्भावना अधिक छ।

अवकाश लिने तेस्रो व्यक्ति को हुन्, अहिले स्पष्ट छैन। चाइनिज पिपुल्स पोलिटिकल कन्सुलेटिभ कन्फ्रेन्सका अध्यक्ष वाङ याङ र विचारधारा प्रमुख वाङ हुनिङको उमेर पनि प्रधानमन्त्री लीको जत्तिकै अर्थात् ६७ वर्ष पुगेको छ।

स्थायी समिति सदस्यमध्ये भ्रष्टाचारविरोधी आयोगका प्रमुख चाओ लेची सबैभन्दा कान्छा हुन्। उनी ६५ वर्ष पुगे।

पहिले नेतृत्व हेरफेरमा उमेरको हद निर्णायक हुन्थ्यो। सीको नेतृत्वमा यो त्यति निर्णायक छैन। बरु, उम्मेदवारको पृष्ठभूमि, क्षमताजस्ता कुरा ज्यादा निर्णायक छन्।

लीजस्तै वाङ याङले पनि अवकाश रोज्ने हो भने चीनको नयाँ प्रधानमन्त्रीका लागि नयाँ प्रतिस्पर्धाको बाटो खुल्नेछ। अन्याथा, प्रधानमन्त्री पदका लागि वाङ सबैभन्दा उपयुक्त हुने विदेशी पर्यवेक्षकहरुको विश्लेषण छ। किनभने उनको लामो प्रशासनिक अनुभव र राम्रो पृष्ठभूमि छ।

नयाँ प्रधानमन्त्रीको औपचारिक घोषणा आउँदो मार्चको संसद् अधिवेशनका बेला मात्र गरिनेछ। तर, आइतबार घोषणा गरिने पार्टीको वरीयताले को प्रधानमन्त्री बन्छ भन्ने स्पष्ट पार्नेछ।

प्रधानमन्त्रीको पद पार्टी वरीयताको दोस्रो वा तेस्रो स्थानमा रहेका व्यक्तिका लागि छुट्याउने परम्परा छ। चीनमा प्रधानमन्त्री अर्थतन्त्र र सामाजिक विकासजस्ता विषयको जिम्मेवार हुन्छ। जसका लागि सामान्यतः दुई ठूला प्रान्तको प्रशासन सम्हालेको अनुभव र आर्थिक विकासमा बलियो प्रदर्शन जरुरी छ। 

त्यस्तै, नयाँ उम्मेदवारको सीसँग राम्रो सम्बन्ध पनि उत्तिकै जरुरी छ। यो हेरफेरमा मुख्यगरी स्थायी समितिका चार पदका लागि प्रतिस्पर्धा हुनेछ। सीका विश्वासिला राजनीतिक सहयोगी तिङ स्युस्याङ स्थायी समिति सदस्यको सबैभन्दा बलियो उम्मेदवार हुन्। सांघाइका पार्टी सचिव ली चियाङ पनि प्रतिस्पर्धामा छन्।

क्वाङतोङ पार्टी सचिव ली सी अर्का बलियो उम्मेदवार हुन्। त्यस्तै चङकिङका पार्टी सचिव चेन मिनर पनि सीका प्रिय छन्। उपप्रधानमन्त्री हु चुनहुवाको बढुवा हुने सम्भावना कम रहेको बताइन्छ। तियानचिनका पार्टी सचिव ली हङचोङ र बेइजिङका पार्टी सचिव काइ चीको बढुवा हुने सम्भावना छैन।

(साउथ चाइना मर्निङ पोस्टबाट)
 

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .