अफगानिस्तानको काबुलस्थित रुसी राजदूतावासअघि सोमबार आत्मघाती बम विष्फोट भएको छ। यो विष्फोटमा परी दूतावासका दुई कर्मचारीसहित अन्य केही मानिसको पनि मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले उल्लेख गरेका छन्।
इस्लामिक स्टेट (आईएस)ले यो आक्रमणको जिम्मेवारी लिएको छ। सामाजिक सञ्जाल टेलिग्राममार्फत आईएसले आफ्ना एक युवाले दूतावासको गेटमा आत्मघाती बम विष्फोट गराएका हुन्।
विष्फोटको समयमा त्यहाँ धेरै रुसी कर्मचारी थिए भने धेरै मानिसहरु भिसा लिन लाइनमा उभिएका थिए।
आईएसले जारी गरेको सन्देशअनुसार यो विष्फोटमा समग्रमा २५ जना मानिसहरु घाइते भएका वा मारिएका छन्। मृत्यु हुनेमा कम्तीमा दुईजना रुसी कर्मचारी छन्। हताहतीमा पर्नेमा तालिबानका सदस्य पनि थिए, जो दूतावासको सुरक्षामा खटिएका थिए।
आईएसले आक्रमणकारीको नाम ‘वकास अल महाजिर’ भएको बताएको छ। यसअघिको आक्रमणजस्तै आईएसले पुनः हाइ प्रोफाइल क्षेत्रमा आक्रमण गरेको हो।
केही समयअघि मात्र तालिबानले रुससहित अन्य मुलुकहरुसँग आईएसको खतरासँग लड्न अफगानिस्तानसँग काम गर्न आग्रह गरेको थियो।
सन् २०२१ को अगष्टमा अफगानिस्तानमा तालिबानले कब्जा जमाएपछि पहिलोपटक अफगानिस्तानको कुनै पनि विदेशी दूतावासमा पहिलोपटक आक्रमण भएको हो।
तालिबानले आक्रमणको कडा शब्दमा निन्दा गरेको छ। साथै रुसी कर्मचारीको मृत्युमा श्रद्धाञ्जली व्यक्त गरेको छ।
अफगानिस्तान प्रहरीका अनुसार विष्फोटको समयमा भिसा लिन पुगेका चार अफगान नागरिकको पनि मृत्यु भएको छ।
Shares
प्रतिक्रिया