ताइवानको सेनाले मंगलबार टापु रक्षाको अभ्यास गरेको छ। चीनले ताइवानमाथि आक्रमणको विशाल सैन्य अभ्यास सुरु गरेको एक सातापछि ताइवानले जवाफी अभ्यास थालेको हो।
अभ्यासका क्रममा तोपगोला प्रहार गरिएको जनाइएको छ। मंगलबार बिहान ताइवानको दक्षिणी हिस्सामा गरिएकोे अभ्यास झण्डै एक घण्टा चलेको ताइवानी सेनाका एक प्रवक्ताले बताएका छन्।
अन्तिम गोला प्रहारपछि ताइवानी सैनिक ‘मिसन सफल भयो’ भन्दै चिच्याएका थिए।
गतसाता चिनियाँ सेनाले ताइवान घेरेर हालसम्मकै ठूलो सैन्य अभ्यास सुरु गरेको थियो। अमेरिकी सभामुख न्यान्सी पेलोसीको ताइवान भ्रमणको प्रतिक्रियास्वरुप चीनले सो कदम चालेको थियो। सोमबार चीनले सो अभ्यास थप लम्ब्याउने घोषणा गरेको थियो।
ताइवानी सेनाको अभ्यास बिहीबार पनि हुने ताइवानी सेनाले जनाएको छ। अभ्यासमा सयौँ सैनिकसहित ४० वटाजति तोप प्रयोग गरिएको छ।
चिनियाँ सेनालाई टापुभित्र प्रवेश गर्न नदिने सो अभ्यास चीनले आफ्नो अभ्यास लम्ब्याएपछि गरिएको हो।
ताइवानलाई सांस्कृतिक सम्पत्तिको चिन्ता
गृहयुद्धको अन्त्यमा कोमिन्ताङ सरकारले मुख्यभूमि चीनबाट झण्डै सात लाख सांस्कृतिक र कलात्मक कृतिहरु ताइवान पुर्याएको थियो। चीनले ताइवानमाथि आक्रमण गरे ती निधिलाई कहाँ लैजाने भन्ने चिन्ता ताइवानमा देखिएको छ।
ती कलाकृति हाल ताइपेइ प्यालेस म्युजियममा प्रदर्शनमा राखिएका छन्। १९६५ मा खुलेको यो म्युजियममा चिनियाँ साम्राज्यको सबैभन्दा धेरै कलाकृति छन्। तीमध्ये धेरैजसो जापानी सेनाको कब्जामा पर्नसक्ने भयले १९३० को दशकमा बेइजिङको फर्बिडेन सिटीबाट हटाइएका थिए।
पछि च्याङ काइ सेकको सरकारले त्यसलाई जहाजमा हालेर ताइवान पुर्याएको थियो। युद्धको अवस्था ती कलाकृति बेइजिङले कब्जा गर्न सक्ने भय ताइवानीहरुमा देखिन्छ।
त्यसैले ताइवानी अधिकारीहरुलाई ६ लाख ९० हजारमध्ये महत्वपूर्ण ९० हजार कलाकृति छानेर जापान वा अमेरिका सार्ने आदेश दिइएको खबर सामाजिक सञ्जालमा छाएको छ। यद्यपि, त्यो झुटो खबर भएको सो म्युजियमले जनाएको छ।
मुख्यभूमि चीनमा भने ती कलाकृतिलाई प्रदर्शनीको बहानामा अमेरिका वा जापान सार्न सकिने अनुमान हुने गरेका छन्। एजेन्सी
Shares
प्रतिक्रिया