छुट्टै राज्य गोर्खाल्यान्ड माग्दै गोर्खाल्यान्ड एक्टिभिस्ट समूहले आजदेखि भारतको राजधानी नयाँ दिल्लीको जन्तरमन्तरमा धर्ना शुरू गरेको छ।
संसद चलिरहेको बेला केन्द्र सरकारलाई चाप सृष्टि गर्न यस समूहले आजदेखि धर्ना कार्यक्रम गरेको हो।
धर्नामा गोर्खाल्यान्ड एक्टिभिस्ट समूहका सदस्य र दिल्लीमा रहेका गोर्खाहरूले भाग लिएका छन्।
यो धर्ना दुई दिन हुनेछ।
समूहका संयोजक किशोर प्रधानका अनुसार यसपटक धर्ना फरक प्रकारले गरिएको छ।
‘सानो टिम भए तापनि हामी हाम्रो कार्यमा अवश्यै सफल हुनेछौँ, उनले भने, ‘हामी दिल्लीको जन्तरमन्तर गोर्खाल्यान्ड माग्न आएका होइनौँ, तर भारत सरकारले गोर्खाल्यान्ड दिन किन ढिलो गर्दैछ?, त्यो सोध्न आएका हौँ।’
प्रधानका अनुसार दिल्ली धर्ना दुई दिन चल्नेछ।
छुट्टै राज्य गोर्खाल्यान्डको गठन नभएसम्म गोर्खाल्यान्डको माग र संघर्ष निरन्तर चलिरहने उनको भनाइ छ।
आजको धर्नालाई किशोर प्रधान, विक्रम छेत्री, टीका भाइ, विन्द्या डुक्पा आदिले पनि सम्बोधन गरेका थिए।
अहिलेघरी दार्जिलिङका राजनीतिक दलहरू आफ्नो मूल मागलाई छाडेर राज्य र केन्द्रको पक्षमा विभाजित भएका छन्।
यस्तो अवस्थामा गोर्खाल्यान्डको संघर्षलाई निरन्तर अघि बढ़ाएर लैजान गोर्खाल्यान्ड एक्टिभिस्ट समूह जन्मेको हो।
‘गोर्खाल्यान्ड प्राप्तिको संघर्षमा हामी झिल्कोको रूपमा निरन्तर अघि बढ़्नेछौँ’, किशोर प्रधानले भने, ‘गोर्खाल्यान्ड चाहने जनताको सहयोग हामीसँग छ। हामी गोर्खाल्यान्डका लागि इमानदार छौँ। एक दिन अवश्यै हामी सफल हुनेछौँ।’
Shares
प्रतिक्रिया