भारतमा पछिल्लो एक वर्षमा कुपोषणको शिकार बनेका बालबालिकाको संख्या दोब्बर पुगेको छ। भारतीय समाचार संस्था एएनआईका अनुसार भारतमा अहिले ३३ लाखभन्दा धेरै बालबालिका कुपोषणको शिकार बनेका छन्।
भारतको महिला तथा बाल विकास मन्त्रालयका अनुसार ३४ प्रान्तको तथ्यांकअनुसार १७ लाख ६० हजार बालबालिका तीव्र कुपोषणमा छन् भने १५ लाख ५० हजार बालबालिका मध्यम तीव्र कुपोषणमा छन्।
तीव्र कुपोषणको शिकार हुने बालबालिकाको संख्या सन् २०२० को नोभेम्बरको तुलनामा ९१ प्रतिशत बढेको छ। सन् २०२० मा तीव्र कुपोषणको शिकार हुने बालबालिकाको संख्या ९ लाख २७ हजार थियो।
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)का अनुसार निकै कम तौल भएको र हातको पाखुराको परिधि ११५ मिलिमिटरभन्दा कम भएका बालबालिकालाई तीव्र कुपोषित भनिन्छ भने परिधि ११५ देखि १२५ को बीचमा भएका बालबालिकालाई मध्यम तीव्र कुपोषित भनिन्छ।
यस किसिमको कुपोषणले स्वास्थ्यमा नकारात्मक असर पार्छ। भारतको महाराष्ट्रमा सबैभन्दा धेरै कुपोषित बालबालिका छन्। दोस्रो स्थानमा बिहार छ भने तेस्रोमा गुजरात देखिएको छ। कोरोना महामारीको कारण सामाजिक र आर्थिक हिसाबमा देखिएको नकारात्मक असर बालबालिकामा परेको जानकारहरुले बताएका छन्।
Shares
प्रतिक्रिया