भारतको सिक्किम र पश्चिम बङ्गाल राज्यको सीमा माम खोलामा हिजो राति झरेको पहिरोमा परेर नेपाली नागरिक धनसिंह भण्डारीको मृत्यु भएको छ। ज्यान गुमाएका भण्डारी सेवक-रम्फू रेल परियोजनामा मजदुरका रूपमा कार्यरत थिए। उनको नेपालको ठेगाना खुलेको छैन।
पहिरोमा पुरिएका उनीलाई आज बिहान उद्धार गरी सिक्किमको सिङ्ताम जिल्ला अस्पतालमा उपचारका लागि लाँदै गर्दा बाटैमा मृत्यु भएको छ। माम खोलाको रेलवे परियोजना क्षेत्रमा गएको पहिरोका कारण ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ।
आजै बिहान रोहित तिर्की नाम गरेका झारखण्ड निवासी मजदुरको पनि शव भेटिएको छ। अन्य थप तीनजना बेपत्ता छन्। बेपत्ता हुनेमा तारखोला निवासी अरुण राई र माम खोलानिवासी विकास तामाङ छन्। थप एकजनाको परिचय खुलेको छैन।
उनीहरूको खोजी भइरहेको छ। हिजो राति सिक्किम-दार्जीलिङ क्षेत्रमा मुसलधारे पानीका कारण ठाउँ ठाउँमा साना-ठूला पहिरो गएका छन्। पहिरोले सिक्किमको जीवनरेखा राष्ट्रिय राजमार्ग-१० लाई क्षति पुऱ्याउँदा सिलगढी-गान्तोक यातायात ठप्प छ।
यसैबीच आज बिहानै गोर्खा जनमुक्ति मोर्चा अध्यक्ष विमल गुरुङले पहिरो प्रभावित क्षेत्रको भ्रमण गरी क्षतिको अवलोकन गरे। उनले सेवक-रम्फू रेल परियोजनाको निर्माण कम्पनी इर्कनले क्षेत्रका जनता र मजदुरको सुरक्षा निश्चित गर्नुपर्ने माग गरेका छन्।
Shares
प्रतिक्रिया