बाजाहरूको राजा अरबाजो, सारंगी, मादल, खिन, ढोलकी, ढोल, दमाहा, धिमे, मुर्चुङ्गा अनि बाँसुरी! यी नेपाली रैथाने बाजा एकैचोटि बजाएको देख्नुभएको छ? यी बाजाबाट निस्कने तालमा मालश्री र देउसी-भैलो भट्याएको सुन्नुभएको छ? म पनि यतिबेला पोखरामा छैन, तर तपाईं पोखरामै हुनुहुन्छ भने उत्तर त्यतै छ। किनकि, यी बाजा बोकेका युवाहरूको ‘लक्ष्य ब्यान्ड’ पोखरामै छ। त्यतै देउसी–भैलो भट्याउँदै छ।
लक्ष्य ब्यान्डबारे जानकारी राख्नुअघि एकपटक सारंगी रेट्दै कर्खा र सवाइ गाउने झलकमान गन्धर्वको गाउँ बाटुलेचौर पसौँ न त!
पोखरा १६७, बाटुलेचौर गन्धर्वहरूको गाउँ हो। कुनै बेला यहाँका गन्धर्वहरूको मुख्य हतियार सारंगी र मुख्य पेसा गायन थियो। मिलन-बिछोड, सामाजिक विकृति, माया–पिरती अनि पहिलो र दोस्रो विश्वयुद्धले दिएका चोटका कथा कहने उनीहरू नै थिए। समय बदलियो। गीत गाएरै पेट पाल्न मुस्किल भयो। जसोतसो पुर्ख्याैली पेसा धानेकाहरूलाई पनि सशस्त्र द्वन्द्वले हिँडडुलमै अवरोध सिर्जना गर्यो। बाध्य भएर उनीहरूले पेसा फेर्न थाले।
यता, तत्कालीन पोखरा उपमहानगरपालिकाले उनीहरूमध्ये केहीलाई सरसफाइ शाखामा जागिर दियो। जागिरमा लागेकाहरूले सिर्जनामा ध्यान दिएनन्। पुर्खाबाट सीप, ताल र राग हस्तान्तरणको प्रक्रिया रोकियो। कहलिएको गन्धर्व बस्तीमा रीत पुर्याएर गीत गाउने, सारंगी रेट्नेहरूको कमी भयो। परम्परागत सीप हराउँदै गएकामा चिन्ता गर्नेहरूले सक्दो गरे, तर त्यतिले मात्र पुगेन। सारंगी हराउँदै गएको भन्दै संगीत प्रशिक्षण केन्द्रले सञ्चालनमा ल्याएको संगीत कक्षा, पोखराको सरसफाइ शाखाको कामसँगै सारंगीलाई नभुलेका धनबहादुर गायकहरूले परम्परा जोगाउन भरमग्दुर प्रयास गरे। केही अध्येता र सहयोगी मनहरू पनि यो अभियानमा जोडिए।
२०६७ सालतिरको कुरा हो। बाटुलेचौर गन्धर्व बस्तीका केही किशोरलाई पढाइसँगै संगीत सिक्ने अवसर जुर्यो। आवासीय सुविधासहित नि:शुल्क पढाइ र संगीत सिक्ने अवसर काठमाडौँको ग्यालेक्सी पब्लिक स्कुलले प्रदान गरेको थियो। पूर्ण नेपालीले यो अवसर जुटाएका थिए। सो अवसरको सदुपयोग गर्दै रञ्जन, समीर, विवेक, सुदीप, अभिनाश, विमल, खेवाल र अशोक गायक काठमाडौँ पुगे। त्यहाँ उनीहरूले नेपाली संगीत क्षेत्रका हस्तीहरू पुरन नेपाली, उमेश पण्डित, योगेश गोपाली, ध्रुवेश रेग्मी, श्याम नेपाली, भविन ढुंगानाबाट संगीतको ‘कखरा’ सिक्ने अवसर पाए। रगतमै संगीत दौडिएका किशोरहरूलाई माझिने अवसर थियो-त्यो।
पछि, पोखरा एकेडेमीले पोखरामै बसेर पढ्ने र संगीत सिक्ने अवसर जुराएपछि उनीहरूलाई पोखरा फर्कायो। पोखरा ब्यान्ड नै ब्यान्डको सहर पनि हो। ड्रम र गितारबाहेक रैथाने बाजामा लत बसेका उनीहरूको ध्यान त्यस्तै बाजा बजाउने समूहतिर गयो। उनीहरूले ‘कुटुम्ब’ ब्यान्ड भेट्टाए। हातमा सीप, दिमागमा संगीतको लत र मनमा केही गरौँ भन्ने भावना बोकेका उनीहरूले संगीतमै होमिने अठोटसहित ब्यान्ड बनाए।
एउटै टोलमा बस्ने ती किशोरहरूले ब्यान्डको नाम राखे- लक्ष्य। यो सन् २०१२ तिरको कुरा थियो।
जन्मैदेखि बजाउन र गाउन जानेका युवाहरू प्रशिक्षणले माझिएका थिए। मुख्य कुरा त आफ्ना पिता-पुर्खाले बोकेको सारंगी र उनीहरूले गाउने कर्खा र सवाइको महत्त्व बुझेका थिए। त्यसैले रैथाने धुन र बाजा संरक्षणलाई उनीहरूले गन्तव्य बनाए। ब्यान्डको लोगोमा नै सारंगीलाई केन्द्रमा राखे।
पोखरामा आयोजना हुने कार्यक्रमहरूमा कहिले एकल त कहिले सामूहिक प्रस्तुति दिने यो समूहसँग फरक पृष्ठभूमि तर चाहना एउटै भएका धीरज गुरुङ जोडिन आइपुगे।
लमजुङमा जन्मेका, पोखरामा बढेका धीरजको संगीततर्फको झुकावको पनि छुट्टै कथा छ।
उनी पोखराको फिस्टेल एकेडेमी पढ्थे। फिस्टेल भलिबलसहित खेलहरूमा कहलिएको स्कुल। भलिबलकी अन्तर्राष्ट्रिय खेलाडी सिपोराको स्कुल भनौँ न! अझ यसो गरौँ- धिरजको व्यक्तित्व बिर्सेर उनलाई पनि सिपोराको साक्खै दाइ भन्दिऊँ न!
हो, उनै धीरजलाई मिल्ने साथीले संगीत सिक्न जाऊँ भनेर घच्घच्याए।
धिरज पोखराको विन्ध्यवासिनी मन्दिर परिसरमा रहेको संगीत प्रशिक्षण केन्द्रमा साथीको साथी बनेर गए। तर, भइदियो कस्तो भने साथीले संगीत सिक्न छाड्यो। उनी भने निरन्तर गइरहे। बाटो बदलियो। संगीत मोहले डोर्याएको बाटो हिँड्दै गर्दा उनी लक्ष्य ब्यान्डसँग जोडिए। संगीत सिर्जना र ब्यान्डको व्यवस्थापनको जिम्मा लिए।
ब्यान्ड स्थापना भएको जानकारी दिनु थियो। उनीहरूले बाटुलेचौरको पल्लोपट्टि रहेको गण्डकी बोर्डिङ स्कुल रोजे। यो सन् २०१२ तिरकै कुरा हो। गीत गाउनुभन्दा अगाडि बाजाको चित्र देखाउने, बाजाको महत्त्व बुझाउने र त्यसबाट निस्कने ताल र सुरबारे जानकारी दिँदै लक्ष्यले पस्केको प्रस्तुतिले वाहवाही पायो।
त्यसपछि लक्ष्यले आफ्नो लक्ष्य पच्छ्याउन थाल्यो। मौलिक बाजा र धुन संग्रह गर्नपर्छ। अरू त अरू! गन्धर्वहरूले परम्परागत रूपले गाउने गरेका र लोकप्रिय धुन संगाल्नुपर्छ भन्ने अभियान सुरु भयो। लक्ष्यका सदस्यहरूले बूढापाकाको संगत गर्न थाले। उनीहरूले सारंगी रेट्दै गुन्गुनाउने गीतहरू बुझ्दै गए।
‘कस्तो भएछ भने, गीत–संगीतको समृद्ध परम्परा भएको गन्धर्व समुदायमै सारंगी बजाउने र मौलिक गीत गाउने व्यक्ति हराउँदै गएछन्। अग्रजहरूले बहुमूल्य सिर्जनाहरू कि आफैँसँग लिएर गएछन् कि केही टाठाबाठाले हत्याएछन्’, लक्ष्यका व्यवस्थापक धीरजले सत्य तर सुन्दा तीतो लाग्ने तथ्य सुनाउने क्रममा भने, ‘आर्थिक अवस्था नाजुक हुँदाको बाध्यतामा कतिपय गीत-संगीत कौडीको मूल्यमा अर्काले आफ्नो बनाए पत्तो छैन तर सत्य के हो भने गन्धर्वसँग जे थियो, त्यो गतिलो मान्छेको हातमा नपुगेर लोपोन्मुख भयो। पूर्ण नेपालीजस्ता केही व्यक्तिको प्रयासले भलै केही उपलब्धि हासिल भएको किन नहोस्!’
लक्ष्य के गर्दैछ त? संगीतमै होमिएर बाँच्न कठिन छ। लक्ष्यका सदस्यचाहिँ पूर्णकालीन रूपले संगीतमै होमिएका छन्। बाँच्नका लागि उनीहरू रात्रिकालीन संगीत व्यवसाय वा अन्य सांगीतिक समूहको प्रस्तुतिमा जोडिने गरेका छन्। तर, लक्ष्यकै लागि उनीहरूले रैथाने बाजा बजाएर मौलिक र लोपोन्मुख गीत-संगीत संकलन र गाउने गरिरहेका छन्। यही उपक्रममा उनीहरूले दसैँ-तिहार र हर्षमा गाइने मालश्री धुन सिर्जना गरे। मौलिक असारे गीत पनि रेकर्ड गराए।
‘मालश्री हाम्रो संस्कृति हो भनेर यसको सिर्जना गरियो, असारे गीत लोप हुनै लागेको थाहा पायौँ, जोगाउनुपर्छ भनेर रेकर्ड गरेर राख्यौँ’, धिरज भन्छन्,‘ यो असारे गीत पनि कस्तो भयो भने यसमा चण्डी र सेलोको मिश्रण छ। पूर्वमा गाइने चण्डी र तामाङ समुदायको सेलो मिसाएको यस्तो मौलिक सिर्जना राष्ट्रको सम्पत्ति बन्छ भन्ने हाम्रो सोच हो।’
उनीहरू विभिन्न अग्रज सर्जकका गीतहरूको कभर गीत पनि बनाउँछन्। आफ्ना सिर्जना बजारले माग्दैन भन्ने उनीहरूलाई राम्रोसँग थाहा छ। काम गर्दा कठिनाइ पनि उस्तै छ। कतिसम्म भने उनीहरूले मालश्री धुन रेकर्ड गराए। तर, म्युजिक नेपालले चोरीको आरोप लगायो।
‘ए बाबा! नेपालीहरूले हर्षका बेला गाउने गीत पनि कहीँ कसैको हुन्छ! यो त लोकसंगीत पो भयो त! सबैले मुखमुखै गाउने र बजाए पो यसको संरक्षण हुन्छ’, धीरजको तर्क छ।
लक्ष्यलाई चाहिँ अवरोधको पर्वाह छैन। उनीहरूले अहिले पुराना सर्जकहरूको मौलिक सिर्जना संग्रहको अभियान पनि चलाएका छन्। अस्ति भर्खरै उनीहरूले ९२ वर्षीय खिमबहादुर गन्धर्वका केही गीत रेकर्ड गरे। ९२ वर्षीय खिमबहादुरजस्तै अन्य सर्जकको सिर्जना मर्न नदिने र पुस्ता हस्तान्तरण गराउनुपर्ने लक्ष्यको धारणा छ।
‘हाम्रा अग्रजका सिर्जनाहरूलाई राष्ट्रको सम्पत्तिको रूपमा बुझ्नपर्यो। पुस्ता हस्तान्तरण हुनपर्यो। गन्धर्व समुदायकै कुरा गर्दा यहाँ एउटा पुस्ताले गीत गाउनै छाडेको अवस्था छ, हामी सानो पुस्तालाई सिकाउँदै छौँ’, धीरजले भने।
अहिले ४५/४६ जना बालबालिका सिकाइ कक्षfमा रहेको उनले सुनाए। उनी यत्तिमै रोकिएनन्। नेपाली गीत-संगीतको संरक्षणको जिम्मेवारी लिएका संस्थाहरू पनि सुस्ताएको टिप्पणी गरे। धीरजकै भनाइ मान्ने हो भने संरक्षणको जिम्मेवारी लिएकाहरूलाई के गर्नुपर्छ भन्नेचाहिँ थाहा छ रे, तर नगर्ने रोगले उनीहरू थलिएका छन् रे!
यद्यपि केही व्यक्ति र संस्थाको अभियानलाई उनले खुलेर प्रशंसा पनि गरे। अरबाजो संरक्षणमा जुटेकी लोचन रिजाल हुन् कि सारंगी संरक्षणका पूर्ण नेपाली। उनीहरूलाई राज्यले कम सम्झेको धीरजको बुझाइ छ।
अरबाजोलाई भालेबाजा भनिन्छ। पहिले पानी नपर्दा यो बाजा बजाइन्थ्यो रे! पानी परोस् भनेर आकासतिर फर्काएर अरबाजो बजाउँदा पानी पर्थ्यो भन्ने जनविश्वास छ, लक्ष्य ब्यान्डले अहिले यो बाजाको प्रयोग बढी गरिहेको छ। संरक्षणकै निम्ति लक्ष्यले यो कदम चालेको धीरजले बताए।
लक्ष्यले आफ्नै एल्बम निकालेको छैन। रैथाने बाजा र संगीत संरक्षणको अभियान चलाइरहेको छ। दूरदराजका गाउँलेहरूले मनोरञ्जनका लागि गीत-संगीतसम्मको पहुँच बढाउन सक्दैनन् भन्ने उनीहरूको ठम्याइ छ। त्यसैले लक्ष्य समूह सांगीतिक कार्यक्रम लिएर गाउँतिर पुग्छ। गाउँले र त्यहाँका स्कुले भाइबहिनासामु रैथाने बाजाको महत्त्व बुझाउँदै गीत सुनाउँछ।
लक्ष्यले अहिलेसम्म गण्डकी र धौलागिरि क्षेत्रमा २२ वटा ठाउँमा यस्ता सांगीतिक प्रस्तुति दिइसकेको छ। यो अभियानमा केही निजी संस्थाले सघाउँछन्। बाँकी खर्च लक्ष्य आफैँ जुटाउँछ।
कसरी?
सामाजिक कार्यक्रमको लागि प्रस्तुति दिँदा शुल्क नलिने लक्ष्यले व्यावसायिक कार्यक्रममा बजाएको भने शुल्क लिन्छ। त्यसबाट बचेको रकम सीमान्तकृत समुदायका लागि खर्चन्छ।
लक्ष्यले यही उपक्रममा स्याङ्जाको एउटा स्कुलमा अध्ययनरत भूकम्पपीडित विद्यार्थीका लागि सहयोग जुटाएको छ।दृष्टिविहीनलाई सघाएको छ।
निजी विद्यालयहरूका संगीत र बाजा सिकाउने कामलाई पनि लक्ष्यले निरन्तरता दिएको छ।
जिप्सी कल्चर अर्थात् गाउँदे हिँड्ने संस्कृति नेपालकै हो भन्ने धीरजको दाबी छ। विदेशीहरूले नेपालबाट सिके अनि उनीहरूले त्यसलाई संरक्षण गरे, लेखे जसले गर्दा उनीहरू अगाडि देखिएको धिरजको तर्क छ।
लक्ष्य ब्यान्डसँग गर्नुपर्ने कामको फेहरिस्त लामो छ। तर, बाध्यता पनि उस्तै छन्। पुराना गीत संग्रह नगरौँ, हराउला भन्ने पीर! गरौँ, कसैले आफ्नो भन्देला भन्ने डर!
‘यहाँ धेरै भ्रम चिर्न बाँकी छ, हाम्रा रैथाने संगीतको संरक्षणमा जुट्नु छ’, धीरज भन्छन्, ‘लक्ष्य ब्यान्ड यो अभियानमा निरन्तर लागिरहन्छ। गीत संरक्षण गर्ने नै हो। सानालाई सिकाउने नै हो। यो अभियानका क्रममा संगीतलाई कसैले आफ्नो घरको सम्पत्ति भन्नु भएन। कसैले गर्यो, सिक्यो भने पनि त्यो म्युजिक सिकेको हो भन्ने बुझ्नपर्यो।’
अहिले यो समूहले विदेशीहरूसँग पनि सहकार्यको हात बढाएको छ। लेकसाइडमा भेटिएका पोल्यान्डका नागरिक इगोर स्प्लोस्कीसँगको भेटपछि ह्याप्पी अर्केस्ट्राको अवधारणा जन्म्यो। सबै देशका लोकगीत संग्रह गर्ने र सँगै गाउने यो ह्याप्पी अर्केस्ट्रा भएको धिरजले बताए।
यो समूहले हालै डियर एन्ड नियर एल्बम निकालेको छ। लामो समय लेकसाइडमा बसेर म्युजिक सिकाइरहेका पोल्याडका नागरिकसँगको भेटले जुराएको यो समूहमा चाहिँ यी ५ वटै देशका कलाकार सम्मिलित हुन्छन्। दूरदराजका गाउँमा गीत सुनाउँछन्।
‘म्युजिकमा धेरै क्याटगोरिज हुन्छन्। विदेशमा कन्ट्रीसङ भनिन्छ। हामीले अरेबिक टुयुन्स, पोल्यान्डका लोकगीत संग्रह गरेर एउटै एल्मबमा राखिएको छ’, उनले भने।
हेर्नुहोस् लक्ष्यको भिडिओ–
Shares
प्रतिक्रिया