ad ad

कला


प्रभावको आँकलन गरेर कविता लेख्न सकिँदैनः श्रेष्ठ

प्रभावको आँकलन गरेर कविता लेख्न सकिँदैनः श्रेष्ठ

नेपालखबर
असोज १०, २०७६ शुक्रबार ७:४५,

कवि एवं पत्रकार रुपेश श्रेष्ठको पहिलो कविता संग्रह ‘घिन्ताङ घिसी ट्वाक’ शुक्रबार सार्वजनिक हुँदैछ। संग्रहमा समसामयिक, राजनीतिक र व्यङ्ग्यात्मक शैलीका ४२ वटा कविता समेटिएका छन्। यसै सन्दर्भमा उनलाई नेपालखबरका कृष्ण आचार्यले पाँच प्रश्न सोधेका छन्ः

कविता संग्रहको शीर्षक ‘घिन्ताङ घिसी ट्वाक’ सुन्दा अनौठो लाग्छ। यसको खास अर्थ के हो?
‘घिन्ताङ घिसी ट्वाक’ विशेषतः गाईजात्रा पर्वमा भक्तपुरमा परम्परागत बाजा धिमेको तालमा लौरो बजाउँदै निकालिने एउटा मौलिक लय हो, जसमा वर्षभरि निधन भएका परिवारका सदस्य र आफन्तको सम्झनामा नाच र झाँकी प्रस्तुत गरिन्छ।

शीर्षकलाई जीवनको उत्सव सेलिब्रेसनका रुपमा प्रस्तुत गर्नुभएको छ। गाईजात्रा, संगीत र जीवनबीचको सम्बन्ध केलाउन खोज्नुभएको हो?
गाईजात्रा पर्व मृतकहरुको सम्झनामा मनाइने पर्व भएकाले त्यसमा ‘घिन्ताङ घिसी ट्वाक’ गर्दै जुन नृत्य गरिन्छ, त्यो आफैंमा मरेर गएकाहरुले आफ्ना आसपासमा रहेकाको जीवनमा पारेका प्रभावहरुप्रतिको कृतज्ञता ज्ञापन हो भन्ने अर्थमा बुझेको छु। त्यसैले यो बाँचिरहेका जीवनहरुको पनि उत्सव हो।

आधुनिक जीवनशैलीबाट बिलकुल अलग रहेर बाँचिरहेको कुनै भक्तपुरे किसानलाई पात्रका रुपमा उभ्याइएको कवितामार्फत मैले नेपाली जीविकाको त्यही पक्षलाई टिप्ने प्रयत्न गरेको हुँ। उत्सवभित्रको अविभाज्य संगीत भएकाले कविता संग्रहको नामको रुपमा ‘घिन्ताङ घिसी ट्वाक’ उपयुक्त रहला भन्ने ठानेको हुँ।

कविता संग्रह भएका नाताले अरू विषयमा लेखिएका कविता पनि यसमा संग्रहित छन्, जसमा जीवनका अरु पाटा पनि बुनिएका छन्।

संग्रहको सबैभन्दा बलियो पक्ष के हो? के–कस्ता विषय समावेश गर्नुभएको छ?
सारमा भन्नुपर्दा, संग्रहमा मानिसका वा मेरा आफ्नै सानामसिना अनुभूतिदेखि हाम्रै वरिपरिको समाज, सत्ता र शक्तिमाथि प्रश्न, केही हदसम्म व्यंग्य, केही आक्रोश अनि मानिसका जीवनका फरक–फरक आयाम र अवस्थितिमाथि लेखिएका कविता समावेश गरेको छु। कविताभित्रका बलिया वा कमजोर पक्ष चाहिँ पाठकले औँल्याउने कुरा हो जस्तो लाग्छ।

डक र सदनको कुरा नसुनेको राजनीतिलाई कवितामार्फत सत्ता र शक्तिमाथि प्रश्न गर्दा सम्बन्धित पक्षसम्म आवाज पुग्छ वा प्रभावकारी हुन्छ भन्ने लाग्छ?
कवितासँग सत्ता हल्लाउने सामथ्र्य हुन्छ भन्ने स्थापित मान्यता हो। जब सडक र सदनमा चर्केर गरिएका भाषणबाजी र नाराबाजी निष्प्रभावी हुन्छन्, त्यसपछि कविता र गीतहरुको सहारा लिइन्छ। छरिएका आवाजलाई कविता र गीतहरुले एक ठाउँमा ल्याएको इतिहास प्रशस्तै छ। फेरि शक्तिशाली कविताको सामथ्र्य के पनि हो भने– यसले भन्नुपर्ने कुरा भनिरहन्छ, ‘सम्बन्धित पक्ष’ले सुने पनि नसुने पनि।

कुनै–कुनै कविताको गुञ्जन युगौँसम्म पनि कायम रहन्छ। त्यो ‘सम्बन्धित पक्ष’को कानमा ठोक्किएरै छाड्छ। तर, एउटा कविले प्रभावकै लागि कविता लेख्दैन वा भन्दैन। प्रभावको आँकलन गरेर लेख्ने हो भने घोषणापत्र लेख्न सकिएला, नारा लेख्न सकिएला, तमसुक लेख्न सकिएला, कविता लेख्न सकिँदैन। कतिपय कुरा कस्ता हुन्छन् भने, कसै न कसैले लेख्नैपर्ने वा भन्नैपर्ने हुन्छ। यसैका लागि कविले सबैभन्दा सुन्दर तरिकाले त्यो काम गर्छ, ताकि कुनै कालखण्डको अभिलेख रहोस्। यो मेरो बुझाइ हो। तर, मेरा कवितामा त्यस्तो वजन छ भन्ने दावा भने पटक्कै होइन।

तपाईंको कृतिले नेपाली कविता वा सिंगो साहित्यिक क्षेत्रमा कस्तो प्रभाव पार्छ जस्तो लाग्छ?
मैले अत्यन्त विलक्षण कविता लेखेको छैन। मैले मेरो मूल पेसामा रहेर भन्न नसकेका कुरा कविताको लयमा भन्ने प्रयास गरेको छु। यसर्थ, समग्र साहित्य वा बृहत्तर समाजमा यसको प्रभावको मैले कुनै आँकलन गरेको छैन, मसँग त्यस्तो सामथ्र्य पनि छैन। अघि पनि भनें, प्रभावको आँकलन गरेर लेख्ने हो भने भाषण लेख्न सकिएला वा नारा लेख्न सकिएला, कविता लेख्न सकिँदैन।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .