ad ad

कला


केकी र रिमाको बौद्धिकतामाथि ‘झापड’

केकी र रिमाको बौद्धिकतामाथि ‘झापड’

नेपालखबर
साउन १५, २०७६ बुधबार १२:३८,

असार १३ गते शनिबार। अभिनेत्री केकी अधिकारीले सामाजिक सञ्जाल फेसबुकमा एउटा लामो स्टाटस राखिन्। स्टाटसले यसरी चर्चा पायो कि एकाएक भाइरल बन्न पुग्यो। थुप्रै मिडियाले उनको स्टाटसलाई आलेख बनाएर छापे। २–३ दिनसम्म केकीको वाहवाही नै भयोे।

स्टाटस महिला हिंसाको विरोधमा थियो। ‘उनी रोइन्’, शीर्षकको उक्त स्टाटसमा महिलाको पीडादेखि बलात्कारसम्मका कुरा उल्लेख थियो।

केकीलाई धेरैले पढेलेखेकी र एक बौद्धिक छवि भएकी अभिनेत्रीका रुपमा चिन्छन्। उनले पटक–पटक मी टू अभियानका पक्षमा लेखेका स्टाटस र महिला शोषण, घरेलु हिंसा र बलात्कारविरुद्ध उठाएको सशक्त आवाजकै कारण पनि उनको चेतनाको धेरैले कदर गर्छन्।

उता अभिनेत्री रिमा विश्वकर्मा केकीकी निकै मिल्ने साथी हुन्। उनी पनि महिला हिंसाका विषयमा बेलाबेला बोल्ने गर्छिन्।

तर, उनीहरु दुवैले ख्याल नपुर्याउँदा विवादमा तानिएका छन्। रिमाले अभिनय गरेको ‘घाँटीभन्दा तल त राम्री नै छे’ बोलको गीतका कारण उनीहरुको बौद्धिकतामाथि प्रश्न उठेको हो।

जसलाई केकी अधिकारीले ‘उनी रोइन्’ लेखेको १ महिनापछि ९ लाख ८० हजार फलोअर्स भएको आफ्नो फेसबुक पेजबाट सेयर गरेकी थिइन्।

महिलालाई होच्याइएको गीतको लिंक सेयर गरेपछि उनको चौतर्फी आलोचना हुन थाल्यो। कमेन्टमा गालीको बर्सा आउन थाल्यो। केकीले अहिले हटाइसकेको उक्त गीतको लिंकमा आएका कमेन्ट नेपालखबरसँग सुरक्षित छन्।

ghati bhanda tala statas

जसमा मिलन कार्कीले लेखेका छन्, ‘यो गीतले भन्न खोजेको के हो? के नारीहरुलाई घाँटीभन्दा तल राम्री भन्नाले स्तन, बक्षस्थल, नितम्ब तिनै कुरा मात्र राम्रो भन्ने अर्थ लाग्दैन?’

त्यस्तै, विष्णु धितालको नामको अकाउन्टबाट कमेन्ट गरिएको छ, ‘मैले नेपाली कलाकारमध्ये तपाईंलाई एकदम बौद्धिक मान्ने गर्थेँ। तपाईंको कलाकारिताको त म ठूलो प्रशंसक नै छु । तर, यो भिडियो तपाईंले सेयर गरेको देखेपछि अचम्म लाग्यो। यो विवादित गीतको शब्दप्रति तपाईंको आपत्ति रहन्छ होला भन्ने लागेको थियो तर, अपसोच ठिक उल्टो भएर भएर म र मजस्ता तपाईंलाई बौद्धिक सम्झने फ्यानहरुलाई गतिलो झापडमात्र हान्नुभएन तपाईं महिला हिंसाविरुद्ध हुनुहुन्न रहेछ भन्नेसमेत प्रमाणित गरिदिएको छ।’

statas 5

गीत अपलोड गरिएको युट्युब च्यानलमा त झन् रिमामाथि सुन्नै नसक्ने गाली गरिएको छ। पैसाका लागि यस्तो गीतमा अभिनय गरेकोमा उनको निकै आलोचना भएको छ।

एकातर्फ यस्तो गीतमा अभिनय गरेर रिमाले महिलाको अपमान गरेको र त्यसलाई समर्थन गरेर केकीले भद्दा मजाक बनाएको आरोप लागिरहेको छ भने अर्कोतर्फ गीतको समेत चौतर्फी विरोध भइरहेको छ।

statas 3

अर्कोतर्फ सांगीतिक क्षेत्रकै व्यक्तिहरुबाट पनि गीतको विरोध भइरहेको छ। गायिका आस्था राउत लेख्छिन्, ‘केटीलाई यौनको साधन बनाउनेले नै यस्तो गीत निकाल्छ। यो गीत देखेर मलाई नेपाली संगीत कता जाँदैछ भनेर सारै चिन्ता लाग्यो...छिछिछि।’

गीतको विरोध गर्दै संगीतकार चेतन सापकोटा लेख्छन्, ‘गीत संगीतमा भित्रिदै गरेको अश्लिलताले हाम्रा साना नानीबाबुहरुलाई पनि संक्रमित गर्दैछ।’

यसअघि पनि नेपाली कला क्षेत्रमा महिलाको सुन्दरता र शरीरको ब्यापक दुरुपयोग गरिँदै आएको छ। जसको माध्यम महिलाहरु नै बनेका छन्। यसमाथि आवाज उठाउनेमा केकी र रिमा पनि पर्छन्। तर, उनीहरुबाट नै महिलामाथि अपाच्य हुने गतिविधिको समर्थन हुनु विडम्बना बनेको छ।

statas 4

गीतबारे कलाकार निर्मल शर्मा लेख्छन्, ‘भगवानसँग कामना गर्छु यो गीत मेरो छोराछोरीले सुनेर नगाइदेउन् र श्रीमती, ममी, दिदी, बहिनीको अगाडि मैले लाजले मुख छोप्न नपरोस्।’ उनले यो गीत महिला हिंसाविरुद्ध आवाज उठाउनेहरुको कानमा पुगोस् भन्ने कामनासमेत गरेका छन्।

अब यो प्रश्न उनै केकीमाथि आएर तेर्सिन्छ। उक्त स्टाटस हटाए पनि उनले अहिलेसम्म त्यसबारे कुनै प्रतिक्रिया दिएकी छैनन्।

यस्तो छ रिमाले अभिनय गरेर केकीले सेयर गरेको गीतको भिडियो

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .