ad ad

कला


सम्पूर्ण आकाश : नारी शक्तिको वकालत गर्ने कथा सङ्ग्रह

सम्पूर्ण आकाश : नारी शक्तिको वकालत गर्ने कथा सङ्ग्रह

नेपालखबर
कात्तिक १९, २०७७ बुधबार ९:५८,

साहित्यका विभिन्न विधा हुन्छन्। त्यसमा पनि विविध क्षेत्र रोजिएका हुन्छन्। शोभा ज्ञवालीको भर्खरै सार्वजनिक कथा सङ्ग्रह ‘सम्पूर्ण आकाश’ ले भने ‘नारी शक्ति’ लाई आफ्ना कथाहरूको मूल विषय बनाएको छ। यसमा नारी उत्पीडनलाई परास्त गर्न सक्ने क्षमता नारी आफैँमा रहेको मान्यतालाई पुष्टि गर्ने प्रयाससमेत गरेको छ।

नारीहरू जब हेपिन्छन्, जब उनीहरू हिंसामा पारिन्छन्, जब नारीलाई अवला ठानेर होच्याइन्छ, विचराको पदवी दिलाइन्छ, अनि दया र मायाको बर्कोले क्षणिक न्यानो पार्ने प्रयास गरिन्छ, त्यस्तो बेला यी सबलाई परास्त गर्दै विजय हासिल गर्ने क्षमता स्वयं नारीमा रहेको यो कथा सङ्ग्रहका कथाहरूले देखाएका छन्।

कथाका पात्रहरू दया र भिखमा रमाउने हैन, न्याय र अधिकारप्रति दृढ देखिन्छन्। हिंसाको प्रतिउत्तर हिंसामा खोज्ने हैन, पत्थरको जवाफ फूलले दिने प्रयत्नमा लागेका हुन्छन्। अनि पुर्पुरोमा हात राखेर कुनामा रुँदै बस्ने हैन, जिन्दगीमा केही गरेर देखाउने अठोट साँच्छन्। उनीहरु हदैसम्मको इमान्दार हुन्छन् र त्यसलाई परिपूर्ति गरेरै देखाउँछन्।

२५ वटा कथाको संग्रह हो सम्पूर्ण आकाश। यसमा सङ्ग्रहित कथाका पात्रहरूले आधा आकाशको दाबीलाई कायमै राख्दै सम्पूर्ण आकाशमा विचरण गर्ने उद्देश्य बुनेका छन्। त्यो पनि निष्फिक्री। विनाअवरोध। विनाबाधा÷अड्चन। यसैका लागि सङ्घर्षरत देखिन्छन् सबै पात्र अनि कथाका मूल विषयवस्तु। लेखिकाले उद्देश्य प्राप्तिका लागि पात्रहरूलाई भरपुर प्रयोग गर्ने प्रयास गरेकी छिन्।

सम्पूर्ण आकाशले प्रेमका कुरालाई साथ लिए पनि त्यसको उद्देश्य नारीलाई आफ्नो शक्ति चिन्ने र त्यसलाई भरपुर उपयोग गर्दै अघि बढ्ने दिशामा उत्प्रेरित गरेको छ। तर अधिकार लिने कुरा आफूमा पनि भर पर्ने सुझाएको देखिन्छ।

कथाकारले भूमिकामा भनेजस्तो यी कथा कुनै सिद्धान्त र मन्त्रको डोरीमा उनिएका छैनन्। त्यसैगरी कथामा हुनुपर्ने आधारभूत कुरा छ कि छैन भन्ने भन्दा पनि कथाले ‘नारी शक्तिहीन छैनन्, मात्र प्रयोग गर्न नसक्दा-नजान्दा बेलाबेखत दुःख-कष्ट सहनुपरेको हो’ भन्ने सन्देश दिन खोजेको छ।

प्रेममा धोका पाउँदा होस् वा घर÷परिवारमा हेला हुँदा होस्, कार्यस्थलमा हुने यौन दुव्र्यवहार होस् वा प्रत्येक ठाउँमा दोस्रो दर्जाको नागरिकमा गणना गरिँदा होस्, चूप बस्ने संस्कृतिले नै उनीहरूलाई दबित बनाएको हो। असहाय बनाएको हो। त्यसैले जब उनीहरू आफूभित्रै निहीत शक्तिको उपयोग गर्छन्, यस्ता सबै हर्कत डाँडा काट्छन्। कथामा यस्तै कुराहरुको वकालत गरिएको देखिन्छ।

यो कथा सङ्ग्रहले बोकेको विषयवस्तु, पात्रहरूको चयन, शान्ति अनि अहिंसात्मक शैलीको वकालत प्रभावशाली छन्। बैगुनीलाई गुनले नै हैरान पार्न सकिने कथाकारको मान्यता शान्त समाज निर्माणका लागि सहायक सिद्ध हुन सक्छ।

२३२ पेजको यो कथा सङ्ग्रहमा कथापिच्छे राखिएका रङ्गीन चित्रले आँखालाई मनोरञ्जन दिलाएको छ भने विषयवस्तु बुझ्न सघाएको छ। त्यसैगरी सरल लेखन र सजिला शब्दहरूको प्रयोगले पढ्न सहज छ। मञ्जरी पब्लिकेसनले प्रकाशन गरेको यो कृति अनलाइन अर्डर गरेमा घरमै आउने र अनलाइन संस्करण पनि किनेर पढ्न सकिने व्यवस्था छ।
नारी शक्तिलाई चिनाउने पुस्तक नारी शक्तिकै विजय उत्सवका रूपमा मनाइने दसैँको अवसर पारेर ल्याउनुलाई सान्दर्भिक मान्न सकिन्छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .