निर्देशक प्रशान्त नीलले बाहुबली स्टार प्रभास र तियान तारा पृथ्वीराज सुकुमारनलाई लिएर अर्को एउटा काल्पनिक संसार बसाएका छन्- खानसार! त्यही खानसारको असली नायकको कथा हो- 'सलार'।
शुक्रबारदेखि क्यूएफएक्सलगायत देशभरका हलमा लागिसकेको प्रभास अभिनीत सलारले बलिउड स्टार शाहरुख खानको डंकीलाई टक्कर दिइरहेको छ। आखिर, सलारमा त्यस्तो के छ त? आउनुस्- हामी प्रशान्त नीलको यही नयाँ संसारको गल्ली गल्ली डुलौँ।
१. कथा
निर्देशक नीलले भनेजस्तै सलारको कथा दुई साथीबीचको परम दोस्तीको कथा हो। त्यो दोस्ती आखिर चरम दुश्मनीमा कसरी बदलिन्छ, त्यो बदलावको कथा हो यो फिल्म। तर, सँगसँगै यो सत्ता र शक्तिको पनि कथा हो।
त्यसो त गहिराइभित्र चिहाउने हो भने यो एउटा आमा र छोराको सम्बन्धको कथा पनि हो। भनिन्छ, नीलकै अघिल्ला फिल्म केजीएफ र उग्रमकै कथा छ सलारमा।
एक हिसाबले हो पनि। तर, अलिकति कालो र अलिकति सेतो मिसाउँदा त्यो अर्को एउटा छुट्टै रंग बनिसकेको हुन्छ। होइन र?
२. कथाको पनि रंग हुन्छ?
साच्चै, रंगको कुरो निस्किहाल्यो। केजीएफ हेरिसकेका दर्शकलाई सलारको रंग र केजीएफको रंग पक्कै उस्तै लाग्नेछ। उही, कालो-सेतो मिसिएको खरानी रंग! आखिर दुवैको रंग एकै हुनु निर्देशक एउटै भएकै कारण हो त?
हो पनि र होइन पनि। यो फेरि कसरी? निर्देशक उही भएका कारण उनले कल्पना गर्ने संसार, उनले भेट्ने पात्र एकै किसिमका हुनसक्ने नै भए।
एकै किसिमको संसार, एकै किसिमका पात्र देखाउन एकै किसिमको रंगको प्रयोग त हुने भइहाल्यो। तर, भोलि फरक संसार र पृथक् पात्रको कथा भन्नुपर्यो भने उही निर्देशकले अर्कै रंगको पनि प्रयोग गर्लान्। खै र, अहिलेलाई सलारको रंगतिरै जाऔँ।
खरानी रंगभित्र पनि विविधता होलान्। तर, सलारले चित्रण गरेको खरानी रंग फलामको रंग हो। घुर्मैलो, मैलो, फुस्रो, ज्याद्रो। तर, मुख्य प्रश्न यो हो फलाम नै किन?
किनभने, यो एउटा डिस्टोपियन सिनेमा हो। जहाँ बर्बरता हुन्छ, हिंसा हुन्छ, घृणा हुन्छ, दुश्मनी हुन्छ। विशेषगरी, जंगलीपना हुन्छ।
तपाईं सुनको हँसियाले घाँस काटेको कल्पना गर्नुस् त? सुनको बञ्चराले दाउरा चिरेको, कसाइले सुनको खुकुरीले मार हानेको ... अनौठो लाग्छ नि होइन?
किनभने, सुनको पहेंलो र चम्किलो रंग र कमलोपनले ऐस-आराम, शान-मान, स्नेह-श्रद्धा आदिको आभास दिन्छ। काटमार गर्दा फलामको फुस्रो रंग नै सुहाउँछ र ज्याद्रोपन नै आवश्यक हुन्छ।
निर्देशकले (वरिपरिका समाज सँगसँगै आधुनिकतालाई अंगाल्न नचाहेको) त्यही बर्बर समाजको चित्रण गर्दै खानसार नामक काल्पनिक संसार गुजरात र पाकिस्तानको बीचमा बसाएका छन्। जहाँ हजारौँ वर्षदेखि मन्नार वंशका कबिलाको राज छ।
उनीहरू बाँकी संसारजस्तो सभ्य छैनन्। उनीहरूलाई सुनप्रति कुनै दिलचस्पी छैन। उनीहरू आज पनि फलामका गहना लगाउँछन्। त्यो पनि साजसज्जाका लागि भन्दा बढी जाति र शक्ति पहिचानका लागि।
मुख्य पात्र देवा पनि त फलामकै काम गर्छ।
३. कथावाचन
यो बर्बर संसारको जटिल कथा नीलले सरर भनेका छैनन्। अघिपछि गर्दै भनेका छन्। अर्थात् कथा भन्ने यो मिसनमा कलमले नेतृत्व रहुञ्जेल उनले नन-लिनियर वा ब्याक एण्ड फोर्थ स्टोरी-टेलिङको प्रयोग गरेका छन्।
यस्तै, कथा भन्ने मिसन प्रविधिको हातमा दिँदा इन्टरकट स्टोरिटेलिङको प्रयोग भएको छ। अर्थात् फरक-फरक ठाउँमा एकै समय के-के हुँदै छन्, दर्शकलाई एकैसाथ सुनाइएको छ।
अर्को कुरा भने कथा सुन्दै गर्दा हामी निर्देशकको उपस्थितिलाई पनि टड्कारै महसुस गर्नसक्छौँ। ३ घण्टाको फिल्म एउटा कथाको अधूरो टुक्रा मात्रै हो।
भनेपछि कथाको जटिलता कति होला? र आफ्नो कथा जटिल छ र दर्शकको दिमाग यो कथा सुनेर घुम्नसक्छ भन्ने प्रशान्त नीललाई राम्रै थाहा छ। आफूलाई आफ्नो कहानी द्विविधाग्रस्त छ भन्ने थाहा भएको उनी दर्शकलाई थाहा समेत दिन्छन्।
यसका बाबजुद कहानी त जसै सुनाएरै छाड्छु भन्ने जिद नीलले छोड्दैनन्। र, दर्शकले पनि दिमागलाई दु:ख दिएरै पनि हेर्न छोड्नेछैनन्।
किन?
४. चरित्र चित्रण
किनभने, पात्रहरूको चरित्र चित्रण नै यसरी गरिएको छ कि दर्शकहरू फलानो पात्रको रहस्य नजानी त उठ्दै उठ्दिनँ भन्ने मानसिकतामा पुगिदिन्छन्।
हरेक पात्रलाई डार्क मेकअप दिएर आफ्ना पात्रहरूलाई रहस्यमयी देखाउन यत्तिकै सफल छन् निर्देशक। त्योबाहेक पात्रले बोक्ने चरित्र- उसको हाउभाउ, संवाद, भावभंगी आदिले पनि उसको ब्याकस्टोरी के हो जान्न दर्शक उत्सुक हुने गरी बुनिएको छ।
विशेषगरी मुख्य पात्र देवा उर्फ सलारको चरित्रलाई अतिरहस्यमयी देखाइएको छ। उसलाई देखेर तमाम पात्रहरू तर्सिनु, डराउनु वा ऊप्रति चरम गर्व गर्नुले दर्शकको मनमा एउटा 'हाउगुजी' जन्माइदिन्छ।
यसले पक्कै केही भयानक गर्नेवाला छ! यो पक्कै भयानक कोही हो! यही जान्ने हुटहुटीमा दर्शकहरू व्यग्रताका साथ कथा सुन्न बसिदिन्छन्।
साच्चै, को हो त देवा? के हो सलार आखिर?
५. देवा उर्फ सलार
सिधा सिधा बुझ्दा पनि देवा भनेको ईश्वर वा भगवान् हो। प्रतीकात्मक रूपमा पनि प्रभासको पात्र देवालाई एउटा दिव्य पात्रको रूपमै चित्रण गरिएको छ।
एक ठाउँमा एउटी सानी बच्चीले देवातिर संकेत गर्दै भन्छे- 'माँ काली' आफैँ नआए पनि आफ्नो छोरा पठाइदिइन्! र त्यो बेलाको एक्सनको कोरियोग्राफीले देवाको पात्रलाई एउटा दिव्य चरित्रको रूपमा स्पष्ट र कलात्मक चित्रण गरेको छ।
त्यो विशेष दृश्यलाई अझै गहिरिएर हेर्ने हो भने देवा विष्णु नामक खलपात्रसँग लडिरहेको छ। विभिन्न हिन्दू धर्मग्रन्थका अनुसार भगवान् विष्णु भगवती महाकालीसँग डराउँथे तर, भगवान शिव भने महाकालीको स्वभाव राम्रोसँग बुझ्ने भएकाले डराउँदैनथे। महाकालीलाई कसरी खुसी वा शान्त पार्न सकिन्छ यो जान्ने भगवान् शिव मात्रै थिए।
र अर्को एउटा मिथ कस्तो पनि भेटिन्छ भने विष्णुको अवतार नरसिंहलाई शिवको अवतार शराबाले हराएको थियो। आधा पक्षी र आधा सिंहको आकृतिमा दुवैतर्फ शिर भएको, हजार हात भएको भनी शिवको अवतार शराबालाई व्याख्या गरिएको पाइन्छ। प्रशान्त नीलले यही मिथलाई टिपेर शराबा र नरसिंहलाई अर्थात् देवा र विष्णुलाई माँ कालीको मूर्तिअघि भिडाएका पो हुन् कि?
अब सलारको कुरा गरौँ। सलारको अर्थ हुन्छ नायक वा आर्मीको कमान्डर जुन देवाकै उपनाम हो। मन्नार कबिलाहरू आफ्नो विशेष संविधानलाई साक्षी राखेर एकआपसमै खानसारको राजा वा भनूँ आफ्नो कबिलाको नायक बन्ने होडबाजीमा लडिरहेका छन्। सलार त्यो लडाइँमा आफ्नो बचपनदेखिको परम मित्र वर्धालाई जिताउन जान्छ र जिताउँछ पनि।
नामले त सलार आफैँ नायकको हकदार हुनुपर्ने बताउँछ। होइन र? हुनसक्छ। तर, नायकको कुर्सीमा वर्धा किन छ? यो जान्न भने फिल्म नै हेर्नुपर्ने हुन्छ। तर, पार्ट-१ मात्रै हेरे पुग्ने हो या अर्को पार्ट पनि हेर्नैपर्ने हुन्छ? यो फेरि अर्को प्रश्न। यसको चर्चा कुनै अर्कै समयमा गरौँला।
६. पात्र विकास
फिल्मका अधिकांश पात्रलाई बर्बर र रहस्यमयी देखाइएको छ। गाढा शृंगार र चर्को व्यक्तित्व भएका यी पात्रहरूको विकास कसरी भएको छ त?
मुख्य पात्र देवा जो हिजो बलियो थियो तर आज कमजोर भएको छ। र फिल्मको अन्त्यसम्म पुन: आफ्नो ठाउँमा फर्किँदै उसले आफ्नो पोजिटिभ क्यारेक्टर आर्क पूरा गरेको छ।
अम्मा अर्थात् देवाकी आमा जो सुरुमा निरीह देखिएकी थिई र फिल्मको अन्त्यसम्म उसले पनि शक्तिशाली चरित्र निर्वाह गरेर आफ्नो पोजिटिभ क्यारेक्टर आर्क पूरा गरेकी छ।
वर्धाको हकमा पनि पात्र विकास उसैगरी भएको देखिन्छ। भर्गाको हकमा भने सुरुमा सज्जन देखाइएको पात्र अन्तिममा भिलेन निस्किएको छ जसले नेगेटिभ क्यारेक्टर आर्क पूरा गरेको छ।
रुद्रा, रमा, राज मन्नारलगायतका पात्रहरू भने सुरुदेखि अन्त्यसम्म एउटै रूपमा कायम छन्।
७. साइकिक संसार
हुन त प्रशान्त नीलले सलारमा देखाएको एउटा डिस्टोपियन संसार नै हो। तर, अझै गहिरिएर हेर्ने हो भने त्यो डिस्टोपियन संसारभित्र एउटा साइकिक संसार पनि छ।
देवाकी अम्मी जसलाई माँ कालीको प्रतीकात्मक रूपमा समेत चित्रण गरिएको छ ऊ तब तब देवाको सामु टुप्लुक्क आइपुग्छे जब कुनै खतरा वा अनर्थ हुनैलागेको हुन्छ।
ऊ जानेरै त्यही अनर्थ रोक्छु भनेर त त्यहाँ पुग्दिन। खै र, उसको रहस्यमयी हुलिया र बोलीवचनले उसलाई एउटी अन्तर्ज्ञानीको रूपमा चित्रण गरेको छ।
त्यसो त देवाको पात्र स्वयं पनि पछाडिबाट प्रहार गरिएको हतियार अगाडि फर्किएरै देख्न र रोक्नसक्छ। मेनुका पौडेलले गाएको फिल्मको गीतमा उसको चरित्र चित्रण गर्दै भनिएको छ कि उसमा बाजको जस्तो सबैतिर देख्नसक्ने आँखा छ।
अर्थात् ऊसँग सामान्य मान्छेको जस्तो सामान्य दुई आँखा मात्रै छैनन्। सायद, कुनै तेस्रो नेत्र पनि छ जसले सबै कुरा देख्न सकोस्!
त्यसो त त्यो ट्याटु आर्टिस्ट सम्झिनुहुन्छ? जसले त्यो लडाइँमा कसले कसलाई कसरी मार्नेवाला छ, अगाडि नै देख्न सक्छे नि!
अनि, साइकिक दुनियाँमा अर्को एउटा अजिबको अभ्यास हुन्छ। जहाँ सबै नकारात्मक ऊर्जाहरूलाई जम्मा गरेर आवश्यक समय आएपछि त्यसको भव्य प्रयोग गर्छन्।
फिल्ममा देवाको रिस र क्रोधलाई पनि उसकी आमाले बाहिर निस्किन दिन्न तबसम्म जबसम्म निकाल्नैपर्ने अवस्था आइपर्दैन। त्यसो त वर्धाले पनि देवालाई त्यसैगरी प्रयोग गरेको छ।
८. रातो संसार
त्यसो त सलारमा खरानी रंग मात्रै छैन। रातो रंग पनि छ। तर, त्यो रातो विजयको रातो होइन। न त प्रेमको रातो नै हो। त्यो रातो रगतको रातो हो।
जहाँ एउटा सिङ्गो समुदायमा महिला मात्रै छन्। जसले 'माँ काली'लाई खुसी पार्ने कला बिर्सिएका छन्। प्रतीकात्मक रूपमा भन्नुपर्दा उनीहरू रगतका भोका छन्। राक्षसको रगत माँ कालीलाई चढाउने भोक छ उनीहरूलाई।
खै र, खरानी र रातोबाहेक फिल्ममा अर्को एउटा रंग पनि छ। त्यो पत्ता लगाउने जिम्मा भने तपाईंकै भयो।
१०. नम्बर कहाँ काटियो?
फिल्मले भन्नुपर्ने कुरा धेरै भएपछि फिल्मको कमजोरी बारे कम कुरा हुने रहेछ। यद्यपि, फिल्मका केही कमजोरीबारे कुरा गरौँ।
पहिलो हाफको एक्सनका दृश्यले तपाईंलाई मज्जा दिन सक्दैन। बीच-बीचमा भेटिने डार्क कट इडिटिङले एक्सनको मज्जा बिगारिदिनसक्छ।
त्यसो त सस्पेन्स अन्त्यसम्म कायम गरिराख्नका लागि पहिलो हाफमा कथा विस्तारै भनिएको छ। तर, कथा के हो थाहा नहुँदै दर्जनौँ पात्रहरूलाई चिनिराख्नुपर्ने झन्झटले भने तपाईंलाई दिमागमा एक किसिमको दबाब महसुस गराउन सक्छ।
झर्को नलाग्ला भन्न पनि सकिन्न।
र, सबैभन्दा दु:खद कुरा फिल्म बल्ल सुरु भयो जस्तो लाग्दै गर्दा, कथा बल्ल बुझ्न थालियो भन्दै गर्दा समय सकिएको घण्टी बजिदिन्छ। म:म: वा पानीपुरी खाँदाखाँदै बीचमै झोल सकियो भने? पैसा नतिरी टाप कस्न मन लाग्छ नि होइन?
सलारको नम्बर यस्तै यस्तै ठाउँमा काटिन सक्छ।
खै र, दोस्रो भागमा के होला भन्ने अनुमान र कल्पना गर्न भने फिल्मले मनग्य मैदान दिएको छ। फिल्म हेरिसकेपछि दर्शकको एउटै प्रश्न हुनेछ- पार्ट-२ कहिले आउँछ? अथवा भनूँ, दर्शक दोस्रो भागको कल्पना नगरी बस्नै सक्दैन।
साच्चै, भन्नुस् त! दोस्रो भागमा के होला? भन्नै गाह्रो है! बरु त्यो बिलाललाई खोजौँ न, त्यसलाई पक्का थाहा छ!
प्रतिक्रिया