एक बलिउड स्टारले क्यामेरामा अश्लील इशारा गरिरहेकी छन्, अर्कीले कम लुगा लगाएर पोज दिइरहेकी छन्।
तर, यी दुवै चिज वास्तविक होइनन्, जुन पछिल्ला हप्ता सामाजिक सञ्जालमा भाइरल भइरहेका छन्। यी डिपफेक भिडिओ हुन्।
रश्मिका मन्डन्ना, प्रियंका चोपडा जोनस र आलिया भट्टलाई हालैका दिनमा डिपफेकको निशाना बनाइएको छ।
बलिउडमा डिपफेक वृद्धिको के छ कारण?
सेलिब्रिटीहरू लामो समयदेखि डिपफेकपीडित छन्। हलिउडले यसको निकै असर भोगेको बताउँछिन् एआई विशेषज्ञ आरती सामानी। नताली पोर्टम्यान र एम्मा वाटसनजस्ता प्रतिष्ठित अभिनेत्रीहरू डिपफेकको सिकार भइसकेका छन्।
आर्टिफिसियल इन्टेलिजेन्स (एआई)ले नक्कली अडिओ, भिडिओ र तस्बिर बनाउन अझ सजिलो बनाइदिएको सामानीको बुझाइ छ।
‘उपकरणहरू विगत ६ महिनादेखि एक वर्षको अवधिमा धेरै परिष्कृत भएका छन्। विभिन्न देशमा यस्ता सामग्री धेरै देखिनुले पनि यो पुष्टि गर्छ,’ सामानी भन्छिन्।
‘अहिले धेरै उपकरण उपलब्ध छन्, जसले तपाईंलाई कम वा कुनै लागतबिना सिन्थेटिक तस्बिर सिर्जना गर्न अनुमति दिन्छ,’ सामानी थप्छिन्, ‘भारतमा पनि केही अनौठा कारक छन्, जसमा ठूलो युवा जनसंख्या सामाजिक सञ्जालको अत्यधिक प्रयोग र बलिउडप्रति आकर्षित छ।’
बलिउड र सेलिब्रिटीप्रति ठूलो समूह आकर्षित भएकै कारण ‘क्लिक-भ्युज’ बटुल्ने लोभमा यस्तो संस्कृतिमा वृद्धि भएको हुन सक्ने जानकारहरूको धारणा छ।
अत्यन्त डरलाग्दो
मानिसमा बढ्दै गएको यस्तो प्रवृत्ति डरलाग्दो बन्दै गएको विज्ञहरू बताउँछन्।
प्रायः अश्लील भिडिओहरूका लागि नक्कली तस्बिरको प्रयोग गरिन्छ। तर, कथित ‘क्लिक-भ्युज’ बटुल्ने आसले ‘अपराध’ बढ्दै गइरहेको छ।
यस्ता अपराधको सिकार भएका अभिनेत्रीमध्ये २७ वर्षीया अभिनेत्री मन्डन्नाको इन्स्टाग्राममा उनको अनुहार मोर्फ गरिएको थियो। उनको अनुहार देखिने भिडिओमा कालो पोशाक लगाएकी महिलाको शरीर देखाइएको छ।
यो भिडिओ सामाजिक सञ्जालमा निकै भाइरल भयो। तर, तथ्य जाँच गर्ने प्लेटफर्म एल्टन्युजका एक पत्रकारले उक्त भिडिओ डिपफेक भएको पत्ता लगाए।
भिडिओ भाइरल भएपछि मन्डन्नाले घटनालाई ‘अत्यन्त डरलाग्दो’ भनेर प्रतिक्रिया दिएकी थिइन्। साथै, उनले यस्तो सामग्री सेयर नगर्न अनुरोधसमेत गरेकी थिइन्।
त्यस्तै, मेगास्टार प्रियंका चोपडाको आवाजमा भाइरल भएको भिडिओमा उनको आवाज कसैको भिडिओ क्लिपमा रेकर्ड गरिएको थियो। भिडिओले कुनै ब्रान्डको प्रवर्धन गर्दै लगानीमा जोड दिएको थियो।
त्यस्तै, आफूजस्तै देखिने एक महिलाले क्यामेरामा विभिन्न अश्लील इशारा गरेको भिडिओले अभिनेत्री भट्ट पनि पीडित बनिन्।
डिपफेकबाट अभिनेत्री कट्रिना कैफदेखि अन्य स्टारहरू पनि निशाना बनेका छन्। कट्रिनाको हकमा उनी अभिनीत चलचित्र ‘टाइगर ३’ को एक तस्बिर, जहाँ उनले तौलिया बेरेकी थिइन्। यस तस्बिरलाई परिवर्तन गर्दै उनको शरीरको अधिकांश भाग देखाउँदै फरक पोशकमा प्रस्तुत गरियो।
भारतमा डिपफेकको सिकार अभिनेत्री मात्र होइन, अन्य पनि भएका छन्। भारतीय उद्योगपति रतन टाटासमेत हालसालै यसको सिकार भएका थिए। त्यस्तै अन्य ‘हाइ प्रोफाइल’ले पनि अफवाहपूर्ण दृश्य र तस्बिरका कारण समाजमा अनुहार देखाउन मुस्किल पर्ने अवस्थाको सामना गरेका छन्।
यद्यपि, यस प्रवृत्तिबाट महिलालाई बढी असर गरेको देखिन्छ।
अनुसन्धाता संस्था सेन्सिटी एआईले गरेको अनुमानमा डिपफेकमध्ये ९० देखि ९५ प्रतिशत अश्लील हुन्छन् र ती बढीजसो महिलालक्षित छन्।
‘मलाई यो निकै डरलाग्दो लाग्छ,’ इन्डियन टेक्नोलोजी सर्भिसेज एन्ड कन्सल्टिङ कम्पनी विप्रोकी प्रमुख इभाना बटोलेटी भन्छिन्, ‘विशेष गरी यो महिलाका लागि समस्याग्रस्त छ। किनभने, यो मिडियाबाट अश्लील एवं हिंसात्मक तस्बिर उत्पादन गर्न सकिन्छ र हामीलाई थाहा छ– यसको बजार छ।’
आईटी विशेषज्ञ सामानी पनि डिपफेक महिलाहरूको लागि बढी खतरापूर्ण रहेकोमा सहमत छिन्।
‘महिलालाई प्रायः सौन्दर्यसँग जोडिन्छ र उनीहरूको शरीरलाई वस्तु ठानिन्छ,’ सामानी भन्छिन्, ‘डिपफेकहरूले यसलाई अझ अगाडि बढाउँछन्। उनीहरूको प्रवृत्ति महिलाको शरीर चित्रणमा मर्यादा र स्वायत्तता अस्वीकार गर्ने खालको हुन्छ।’
उनी थप्छिन्, ‘प्रविधिले अपराधीहरूको हातमा शक्ति दिएको छ।’
कारबाहीको माग
डिपफेक भिडिओहरू भाइरल हुन थालेपछि भारतमा सरकार र प्राविधिक कम्पनीलाई त्यस्ता सामग्री बनाउनेविरुद्ध कारबाही अगाडि बढाउन अनुरोध भए।
चुनाव नजिकिँदै गरेको अवस्थामा आफू पनि सिकार भइने भयले हुन सक्छ, सरकारले पनि त्यस्ता गतिविधिप्रति चासो र नियन्त्रण बढाउँदै लगेको छ।
मन्डन्नाको भिडिओ भाइरल भएपछि आईटी मन्त्री राजीव चन्द्रशेखरले डिपफेकविरुद्ध बोलेका थिए, ‘यी गलत र हानिकारक रूप हुन्। यस्ता गलत सूचनालाई सम्बन्धित प्लेटफर्मले पनि त्यही अनुसारको व्यवहार गर्न आवश्यक छ।’
भारतको आईटी नियमअनुसार सामाजिक सञ्जाल प्लेटफर्मले ‘कुनै पनि प्रयोगकर्ताद्वारा गलत जानकारी पोस्ट गरिएको छैन’ भनेर सुनिश्चित गर्नुपर्ने हुन्छ।
यो नियम पालना नगर्ने प्लेटफर्मलाई भारतीय कानुनबमोजिम अदालतमा लैजान सकिन्छ।
यद्यपि, इभाना बटोलेटी यो समस्या भारतभन्दा धेरै फराकिलो भएको बताउँछिन्। विश्वभरका देश नै यस मुद्दालाई सम्बोधन गर्न केन्द्रित रहेको उनको भनाइ छ।
‘यो समस्या बलिउडमा मात्र होइन, डिपफेकहरूले राजनीतिज्ञ, व्यवसायी र अरूलाई पनि निशाना बनाउँदैछन्,’ बटोलेटीले भनिन्, ‘विश्वका देशहरू डिपफेकले पार्न सक्ने प्रभावका बारेमा चिन्ता गर्न थालिसकेका छन्। लोकतान्त्रिक अभ्यास र चुनावमै प्रभाव पर्न सक्नेमा उनीहरू चिन्तित छन्।’
सामाजिक सञ्जाल प्लेटफर्महरूलाई जवाफदेही बनाउन र डिपफेकहरूको पहिचान गरी नियन्त्रण गर्न ढिला भइसकेको बटोलेटीको धारणा छ। बीबीसीबाट भावानुदित
Shares
प्रतिक्रिया