नेपाली फिल्म ‘छक्का पञ्जा ४’ आगामी शुक्रबारदेखि प्रदर्शन हुँदै छ। फिल्मका कलाकार तथा निर्माताले फिल्म प्रचारका लागि सामाजिक सञ्जाल, टेलिभिजन कार्यक्रम र टेलिसिरियलको सहारा लिएका छन्।
फिल्मका ट्रेलर, गीत र प्रमोसनल गीतको राम्रै चर्चा हुँदा पनि कलाकार भने उदासीन देखिएका छन्। अघिल्ला सिरिजमा जस्तो यसपटक दीपक-दीपाले पनि फिल्मलाई खासै प्राथमिकता दिएको देखिँदैन। सायद अघिल्ला फिल्मको सफलताको स्वादले दर्शक तानिने विश्वास उनीहरुमा हुनुपर्छ।
यो फिल्ममा लगानीसमेत गरेका कलाकार केदार घिमिरे (माग्ने बूढा) ले भने सामाजिक सञ्जालमा हरेक किसिमले फिल्मको प्रचार गरिरहेका छन्। उनी सामाजिक सञ्जालमा फिल्मको प्रचारमा भिडिरहेका हुन्छन्।
यसैबीच बलिउड अभिनेता सलमान खानको पोस्टमा पुगेर माग्ने बूढाले आफ्नो फिल्म ‘छक्का पञ्जा ४’को प्रचार गरेका छन्। सलमानले आफ्नो फेसबुक पेजमा आफ्नो नयाँ फिल्म ‘किसीका भाइ किसीका जान’को नयाँ गीत टिजर रिलिजबारे पोस्ट गरेका छन्। उक्त पोस्टमा कमेन्ट लेख्दै माग्ने बूढाले भने आफ्नो फिल्मको कुरा जोडेका हुन्।
उनले सलमानलाई कमेन्टमा हिन्दीमा लेखेका छन्, ‘वेटिङ....हमारे नेपालमे भी मार्च ३ से सिनेमा ‘छक्का पञ्जा ४ आ रहा है भाइजान।’ (अर्थात् ....हाम्रो नेपालमा पनि मार्च ३ देखि चलचित्र ‘छक्का पञ्जा ४ आउँदै छ भाइजान।)’
उनको यो भनाइमा सामाजिक सञ्जालका प्रयोगकर्ताले रमाइला कमेन्ट गरिरहेका छन्। धेरैले फिल्मको प्रिमियरमा सलमानलाई बोलाउन आग्रह गरेका छन्।
सलमानले आफ्नो फिल्मको नयाँ गीत ‘बिल्ली बिल्ली आँख गोरिए’को टिजर आउनुअघि उक्त पोस्ट लेखेका थिए। अहिले गीतको टिजर पनि रिलिज भइसकेको छ।
Shares
प्रतिक्रिया