नागरिकता अभावमा वर्षौंदेखि लाखौं नागरिकले झेल्नुपरेको पीडा देखाउने नाटक ‘ढकियामे नागरिकता’ पहिलोपटक प्रदर्शन भएको छ।
कलाकार सरिता साहद्वारा लिखित तथा निर्देशित नाटक पहिलोपटक काठमाडौंको रातोपुलस्थित शैली थिएटरमा शनिबार मञ्चन गरिएको हो।
नाटक मैथिली र नेपाली भाषामा लेखिएको छ।
कानुनी जटिलता तथा मधेशका सीमा रक्षक रैथाने मधेशी भूमिपुत्रहरुलाई हेर्ने दृष्टिकोणको र गरिने व्यवहारले नागरिकता नपाउँदा खेप्नुपर्ने समस्या एवं पीडा सरल ढंगले यो नाटकमा देखाइएको छ। त्यस्तै आमाको नामबाट नागरिकता र विदेशी छोरी बिहे गरेर आउँदा समयमै नागरिकता नदिने जटिलताले निम्त्याएको समस्याको पनि चित्रण गरिएको छ।
पहिलोपटक मञ्चन भएको नाटक हेर्न लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता राजेन्द्र महतो, अनिल झा, मधेसी आयोगका अध्यक्ष विजय दत्त, चर्चित राजनीतिक विश्लेषक सीके लाल, वरिष्ठ कलाकार तथा साहित्यकार रघुजी पन्तलगायत पुगेका थिए।
नाटक हेरेपछि नेता राजेन्द्र महतोले यो नाटकले तराई मधेशमा पुस्तौंदेखि बसोबास गरे नागरिकताबाट वञ्चित लाखौं नागरिकको समस्यालाई छरपस्ट पारेको बताए। नागरिकता वितरणमा खस शासकको विभेद र मधेशीलाई हेर्न दृष्टिकोण पनि छर्लङ्ग पारेको भन्दै उनले नाटकको प्रशंसा गरे।
राजनीतिक विश्लेषक सीके लालले यो नाटकले सक्कली नागरिकलाई नागरिकता लिन गाह्रो र नक्कली एवं अपराधीलाई सहजै पाउने भन्ने यथार्थ चित्रण गरेको बताए।
पुस्तौंदेखि वास्तविक रैथाने नेपाली नागरिकले नागरिकताविहीन हुँदा भोगिरहेको पीडालाई नाटकले उजागर गरेको उनको भनाइ छ।
उक्त नाटक अब तराई मधेशका विभिन्न जिल्लामा मञ्चन गरिने लेखिका तथा निर्देशक सरिता साहले जानकारी दिइन्।
Shares
प्रतिक्रिया