नेपाल टेलिकमले भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा उपलब्ध गराएको छ।
विगत लामो समयदेखि आफ्ना पोस्टपेड ग्राहकहरुलाई लक्षित गरी ८७ मुलुकका १ सय ९२ भन्दा बढी दूरसञ्चार सेवा प्रदायक कम्पनीहरुसँगको सहकार्यमा अन्तर्राष्ट्रिय रोमिङ सेवा उपलब्ध गराइरहेको छ।
हाल रोमिङमा हुँदा भ्वाइस र एसएमएस आदान–प्रदान गर्ने सुविधा मात्र रहेकोमा शुक्रबारदेखि छिमेकी मुलुक भारतमा अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा पनि उपलब्ध हुनेछ। गत बैशाख १६ बाट जीएसएम प्रिपेड मोबाइल सेवाका ग्राहकहरुका लागि पनि दुई छिमेकी मुलुकहरु भारत र चीनमा रोमिङ सेवा उपलब्ध गराउँदै आएको छ।
अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवामा सामयिक परिमार्जन गर्ने उद्देश्यले विगतका दिनहरुमा सञ्चालनमा रहेको अन्तर्राष्ट्रिय डाटा रोमिङ सेवा केही समय बन्द गरिएकोमा हाल पुनः सञ्चालनमा ल्याइएको हो। अब उप्रान्त नेपाल टेलिकमका ग्राहकहरुले अन्तर्राष्ट्रिय रोमिङ सुविधा प्राप्त गरी भारतमा जाँदा भ्वाइस र एसएसएमका साथै इन्टरनेट सेवा पनि उपयोग गर्न सक्नेछन्।
यही भाद्र १९ सम्म अन्तर्राष्ट्रिय रोमिङ सेवा क्रियाशील अवस्थामा रहेका सम्पूर्ण पोस्टपेड तथा प्रिपेड ग्राहकहरुलाई यो डाटा रोमिङ सेवा स्वतः उपलब्ध हुनेछ। उक्त मिति पश्चात् अन्तर्राष्ट्रिय रोमिङ सेवा लिने ग्राहकहरुलाई भने सेवा दर्ता गरेकै समयमा भ्वाइस, एसएमएस तथा इन्टरनेट सेवा उपलब्ध हुनेछ।
जीएसएम पोस्टपेड तथा प्रिपेड ग्राहकहरुले हाललाई डाटा रोमिङ सेवा छिमेकी मित्रराष्ट्र भारतमा प्रयोग गर्न सक्नेछन्। निकट भविष्यमै यो सेवा अन्य देशहरुमा पनि विस्तार गर्दै लगिने टेलिकमले जनाएको छ।
Shares
प्रतिक्रिया