ad ad

कारोबार


ओली र मोदीले शिलान्यास गरेको अरुण–३ को २२ प्रतिशत काम सम्पन्न

ओली र मोदीले शिलान्यास गरेको अरुण–३ को २२ प्रतिशत काम सम्पन्न

नेपालखबर
साउन १९, २०७६ आइतबार ८:९,

भारतीय सरकारको लगानीमा निर्माणाधीन अरुण– ३ जलविद्युत् परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको छ। भारत सरकारको स्वामित्वमा रहेको एसजेवीएन कम्पनीका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत अरुण धिमानले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनलाई भेटी उक्त जानकारी दिएका हुन्।

भेटमा मन्त्री पुनले सरकारले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको भन्दै समयसीमाभित्र नै अरुण– ३ परियोजना सम्पन्न हुने विश्वास व्यक्त गरे। उनले नयाँ कार्यकारी अधिकृतलाई सफल कार्यकालको शुभकामना दिँदै आयोजना निर्माणमा समस्या देखिए सरकार सहजीकरण गर्न तयार रहेको बताए।

‘सरकार र ऊर्जा मन्त्रालयले जलविद्युत् क्षेत्रमा लगानीमैत्री वातावरण बनाएको छ, सुरक्षा प्रबन्धको व्यवस्था पनि हामीले मिलाएका छौँ। तपाईंहरुले समयसीमाभित्र परियोजना निर्माण गर्नुहुन्छ भन्ने विश्वास हामिलाई छ’, मन्त्री पुनले भेटमा भने। एसजेवीएनका नवनियुक्त प्रमुख कार्यकारी अधिकृत धिमानले अरुण– ३ जलविद्युत् परियोजना समयसीमाभित्र सम्पन्न गर्ने प्रतिबद्धता जनाए। उनले सरकारको तर्फबाट सहयोग प्राप्त भइरहेको भन्दै स्थानिय जनताले समेत परियोजना निर्माणमा सहयोग गरिरहेको जानकारी दिए।

धिमानले टनेलको १२ प्रतिशत कामसहित परियोजनाको २२ प्रतिशत काम सम्पन्न भएको बताए। भेटमा मन्त्री पुनले टनेल, आयोजनाको अवस्था, सुरक्षा व्यवस्थालगायतको वारेमा चासो राखेको ऊर्जामन्त्रीको सचिवालयले जनाएको छ। जवाफमा कार्यकारी अधिकृत धिमानले जग्गा अधिग्रहण, सुरक्षा अवस्था र परियोजनाको प्रगतिबारे मन्त्री पुनलाई जानकारी दिनुका साथै आवश्यक सहयोग गरिदिन आग्रह गरेका थिए।

उनले नेपालमा पछिल्लो समय लगानीको लागि राम्रो वातावरण बनेको भन्दै आफ्नो कम्पनी अन्य परियोजनामा समेत थप लगानी गर्न इच्छुक रहेको जानकारी मन्त्री पुनलाई दिए। नौ सय मेगावाट क्षमता रहेको अरुण तेस्रो जलविद्युत् आयोजनाबाट उत्पादित कुल विद्युतको झण्डै २२ प्रतिशत बिजुली नेपाललाई निःशुल्क उपलब्ध गराउने गरी सम्झौता भएको आयोजनाको शिलान्यास प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गरेका थिए।

आयोजनाले उत्पादन थालेको २५ वर्षपछि उक्त परियोजना नेपालको स्वामित्वमा आउने गरी सरकारले सम्झौता गरेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .