ad ad

कारोबार


महामारीमा पनि विश्वका अर्बपतिले कमाए १३ खर्ब डलर, यी हुन् यो वर्षका सर्वाधिक १० धनी

महामारीमा पनि विश्वका अर्बपतिले कमाए १३ खर्ब डलर, यी हुन् यो वर्षका सर्वाधिक १० धनी

नेपालखबर
पुस १४, २०७७ मंगलबार ९:४९,

विश्वमा यो वर्ष (सन् २०२०) कोरोना महामारीले उत्पात मच्चाए पनि केही अर्बपतिले भने उल्लेख्य सम्पत्ति जोड्न सफल भएका छन्।

यो महामारीमा विश्वका धनी मानिसहरुले कुल २३ प्रतिशत अर्थात् १३ खर्ब अमेरिकी डलर सम्पत्ति जोडेका छन्।

ब्लुमबर्ग अर्बपति सूचीमा विश्वका सर्वाधिक १० धनीमा सन् २०२० मा अमेजनका जेफ बेजोस, टेस्लाका एलन मस्क, माइक्रोसफ्टका बिल गेट्स, फ्रान्सेली व्यवसायी बर्नार्ड आर्नो, फेसबुकका मार्क जुकरबर्ग, बर्कशायर हाथवेका वारेन बफेट, गुगलका ल्यारी पेज, ओरेकलका ल्यारी एलिसन, माइक्रोसफ्टका पूर्वसीईओ स्टिभ बाल्मर, अल्फाबेटका सर्जे ब्रिन रहेका छन्।

अमेजनका मालिक जेफ बेजोसले कम्पनीमा ११ प्रतिशत सेयर स्वामित्व लिएका छन्। सन् २०१९ मा पत्नी म्याकेन्जी बेजोससँग डिभोर्स हुनुअघि उनले १६ प्रतिशत सेयर स्वामित्व लिएका थिए। तर डिभोर्सपछि चार प्रतिशत सेयर स्वामित्व म्याकेन्जीले लिइन्। यो वर्षमात्रै बेजोसको सम्पत्ति ७२ अर्ब ४० करोड डलर थपिएको थियो। उनीसँग १ खर्ब ८७ अर्ब अमेरिकी डलर सम्पत्ति छ। अमेजन १० खर्ब डलर मूल्यवान् कम्पनीको आँकडा पार गर्ने चारमध्ये एउटा हो। अन्य तीनवटामा माइक्रोसफ्ट, एप्पल र गुगल छन्।

विश्वकै दोस्रो सर्वाधिक धनीमा भने टेस्ला इन्कका सहसंस्थापक एलन मस्क छन्। उनले बिल गेट्सलाई पछि पारेर दोस्रो धनी बनेका हुन्। ४९ वर्षे मस्कको कुल सम्पत्ति १ खर्ब ६७ अर्ब अमेरिकी डलर पुगेको छ। मस्कले यो वर्ष ३५ नम्बरबाट दोस्रो नम्बर ओगट्न १० महिनामै सफल भए। टेस्लाको सेयर मूल्य बढेपछि उनले यो सफलता पाएका हुन्। यही वर्ष टेस्ला ५ खर्ब डलर मूल्यवान् कम्पनी बनेको थियो। मस्कको कुल सम्पत्तिको तीन भाग टेस्लाकै सेयरसँग सम्बन्धित छ। यसबाहेक उनीसँग स्पेस एक्सको पनि सेयर छ।

माइक्रोसफ्ट कर्पका सहसंस्थापक बिल गेट्स भने मस्कपछि अर्थात् विश्वकै तेस्रो धनी हुन्। उनले दोस्रो स्थान गुमाएको यो दोस्रोपटक हो। यसअघि विगतमा उनी पहिलो स्थानमै रहँदै आएका थिए तर सन् २०१७ मा जेफ बेजोसले पहिलो स्थान लिएका थिए। अहिले गेट्सको सम्पत्ति १ खर्ब ३१ अर्ब डलर रहेको छ।

फ्रान्सेली विलासी सामानका व्यापारी बर्नार्ड आर्नो चौथो स्थानमा छन्। यो वर्ष महामारीको सुरुतिर उनको सम्पत्ति घटे पनि व्यापार लयमा फर्किसकेको छ। बितेका महिनाहरुमा उनको आम्दानी पुनः फर्किएको छ। उनीसँग १ खर्ब १० अर्ब डलर सम्पत्ति छ।

फेसबुकका सहसंस्थापक जुकरबर्गलाई सय अर्ब पार गर्ने कान्छा धनी मानिन्छ। उनीसँग १ खर्ब ५ अर्ब सम्पत्ति छ। उनी विश्वको सर्वाधिक धनीमा पाँचौँ नम्बरमा परेका छन्।

यसबाहेक छैठौँ धनी वारेन बफेट छन्। पछिल्लो समय उनले ४ अर्ब डलर गुमाए पनि ८५ अर्ब २० करोड डलर सम्पत्तिका मालिक छन्। महामारीका कारण उनले धेरै कम्पनीकाे सेयर बेच्नुपरेको थियो। उनले अमेरिकी एयरलाइनहरुमा लगानी गरेका छन्।

सातौँ धनी सूचीमा रहेका गुगलका सहसंस्थापक ल्यारी पेजसँग ८१ अर्ब ४० करोड अमेरिकी डलर छ। उनी अल्फाबेटका पनि सहसंस्थापक हुन्। अल्फाबेटको सीईओबाट सन् २०१९ मा राजीनामा दिए पनि बोर्ड मेम्बरमा भने पेज यथावत् छन्।

सफ्टवेयर कम्पनी ओरेकलका ल्यारी एलिसन ब्लुमबर्गको अर्बपति सूचीमा आठौँ नम्बरमा छन्। उनीसँग ७९ अर्ब ७० करोड अमेरिकी डलर रहेको छ। त्यस्तै नवौँ नम्बरमा रहेका माइक्रोसफ्टकै पूर्वसीईओ स्टिभ बाल्मरसँग ७९ अर्ब १० करोड अमेरिकी डलर सम्पत्ति रहेको छ। त्यस्तै दशौँ स्थानमा रहेका सर्जे ब्रिनको सम्पत्ति भने ७८ अर्ब ८० करोड डलर रहेको छ।

प्रतिक्रिया

नेपाल खबर प्रा.लि
सूचना विभाग दर्ता नंः ५४९/०७४-७५

Nepal Khabar Pvt. Ltd.

Blue Star Complex
Thapathali-11, Kathmandu, Nepal
+977 01 5340505 / 5341389
Admin:[email protected]
News:[email protected]

विज्ञापनका लागि सम्पर्क


+977 9851081116
[email protected]
Copyright © 2021 Nepalkhabar. All Rights Reserved. Designed byCurves n' Colors. Powered by .